१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार २१:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

खोटाङमा नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय स्थापना 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार २१:२५:oo

नेकपा (एकीकृत समाजवादी) खोटाङको दिक्तेल बजारमा पार्टी कार्यालय स्थापना गरिएको छ । केन्द्रमा केपी ओली नेतृत्वको एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीको शनिबार दिक्तेलमा पार्टी कार्यालय स्थापना गरिएको हो ।

दिक्तेलस्थित पुरानो बेसक्याम्पमा स्थापना गरिएको पार्टी कार्यालय नेकपा (एकीकृत समाजवादी) का १ नम्बर प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राईले उद्घाटन गरेका छन् । पार्टी कार्यालय उद्घाटन गर्दै राईले एमाले अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्ने अवस्थामा पु¥याएकाले नेपाली कम्युनिस्ट आन्दोलनलाई सार्थक र रक्षा गर्न आफूहरूले नयाँ पार्टी गठन गर्नुपरेको दाबी गरे । 

पार्टी कार्यालय उद्घाटन कार्यक्रममा सत्तागठबन्धनमा आबद्ध जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले नवगठित पार्टीका पदाधिकारीलाई शुभकामना दिएका छन् । नेकपा मालेका पोलिटब्युरो सदस्य एवं पूर्वसांसद कुलप्रसाद पुmँयाल, नेपाली कांग्रेसका नेतृ डिल्लीकुमारी आचार्य, नेकपा (माओवादी केन्द्र)का युवा नेता बिसन राई, जनता समाजवादी पार्टी नेपालका १ नम्बर प्रदेश सदस्य सूर्यबहादुर राईलगायतका नेताहरूले शुभकामना दिएका थिए । 

पार्टी कार्यालय उद्घाटन कार्यक्रममा एमालेबाहेक जिल्लामा क्रियाशील सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको उपस्थित थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा पार्टी कार्यालय उद्घाटनसँगै नेकपा (एकीकृत समाजवादी) खोटाङको पहिलो बैठकसमेत सुरु भएको छ । 

बैठकमा पार्टीको भावी रणनीति तथा कार्ययोजनाका बारेमा छलफल भइरहेको सचिवालय सदस्य एवं युवा तथा खेलकुद विभाग प्रमुख माइतीराज राईले जानकारी दिए । पार्टी कार्यालयमा जारी बैठकले ६१ नयाँ सदस्यीय जिल्ला कार्य समिति चयन गर्ने र ४० प्रतिशत युवाको सहभागिता रहनेसमेत गठन गर्ने बताइएको छ । 

एमालेको विसं. २०७२ वैशाख १०–१४ गतेसम्म भएको छैटौँ जिल्ला अधिवेशनबाट निर्वाचित ५९ जना जिल्ला समितिमध्येबाट जिल्ला अध्यक्ष बबी चाम्लिङसहित २३ जना जिल्ला कार्यसमितिका पदाधिकारी आबद्ध भएका छन् । दश स्थानीय तह रहेको जिल्लामा सातजना जननिर्वाचित वडाध्यक्षहरूसमेत आफ्नो पार्टीमा आबद्ध भएको नेकपा (एकीकृत समाजवादी) खोटाङका जिल्ला सचिव जलशेर राईले जानकारी दिए । 

नगर तथा गाउँपालिका प्रमुख र उपप्रमुख भने एमालेमै रहेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले पाँचवटा पालिका प्रमुख र सातवटामा उपप्रमुख जितेको थियो । 

प्रतिनिधिसभा सदस्य विशाल भट्टराई एमालेमै रहेका छन् भने प्रदेश सभा सदस्य राजन राई नेकपा (एकीकृत समाजवादी)मा आबद्ध भएका छन् । एमाले विभाजन भएपछि जिल्लामा दुवै पक्षले आफ्नो पक्षमा पकड जमाउन कार्यकर्ता तानातान गरिरहेका छन् ।
 

ad
ad