१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
काठमाडौँको सडकमा थुप्रिएको फोहोर । तस्बिर : नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o९:o३:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बन्चरेडाँडा : काठमाडौंको फोहोर  ४० वर्षसम्मको व्यवस्थापन हुने

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o९:o३:oo

बुधबार र बिहीबार काठमाडौंको फोहोर सिसडोलमै फालिने, शुक्रबारदेखि बन्चरेडाँडामा फाल्न दिने सहरी विकास मन्त्रालयको निर्णय

बन्चरेडाँडा ल्यान्डफिल्डसाइट तयारीको काम अन्तिम चरणमा पुगेसँगै अबको केही दिनमै बन्चरेडाँडामा काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिने भएको छ । निर्माणाधीन अवस्थामा रहेको बन्चरेडाँडा ४० वर्षसम्मको फोहोर व्यवस्थापनको समाधान भएको सहरी विकास मन्त्रालयको निष्कर्ष छ । त्यस क्षेत्रमा दुईवटा फोहोर फाल्ने पोखरी (सेल वान र टु) तयार भइसकेका छन् । एउटा पोखरीमा कम्तीमा पनि २० वर्षसम्म फोहोर फाल्न मिल्नेछ । सहरी विकास मन्त्रालयले निर्माण गरिरहेको ल्यान्डफिल्डसाइट अबको ६ महिनाभित्र तयार हुनेछ । 

बन्चरेडाँडाको पनि विकल्प खोज्नुपर्छ : विद्यासुन्दर शाक्य, मेयर काठमाडौं महानगरपालिका

सिसडोल फोहोर व्यवस्थापन केन्द्र भरिएर काठमाडौं उपत्यकाको फोहोर नउठेको हो । त्यसपछि सबैले महानगरलाई नै सराप्न थाले । हामीबीच जुहारी नै चल्यो । मिलेर काम गरेको भए यस्तो समस्या आउने थिएन । मैले एक वर्षअघि नै बन्चरेडाँडा तयार हुन्छ भनेर बोलेको थिएँ । तर, खोइ किन हो अहिलेसम्म तयार भएन । त्यसैले हामीले सहरी विकास मन्त्रालयलाई दबाब दिएका थियौँ । हाम्रो निरन्तरको दबाबपछि अब १८ भदौदेखि फोहोर फाल्न दिन्छौँ भन्नुभएको छ । 

बुधबार र बिहीबार भने काठमाडौंको फोहोर सिसडोल ल्यान्डफिल साइटमा फाल्ने सहमति भएको छ । उपत्यकाको फोहोर फालिँदै आएको सिसडोल भरिएपछि १८ भदौदेखि नै बन्चरेडाँडामा फोहोर फाल्ने तयारी गरिएको हो । फोहोर फालिरहेकै अवस्थामा पनि साइटको काम भने चलिरहने बताइएको छ । सहरी विकास मन्त्रालयका सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक कुमार घिमिरेले १८ भदौदेखि ल्यान्डफिल्डसाइट महानगरलाई हस्तान्तरण गरिने बताए ।

त्यसपछि महानगरले फोहोर त्यहीँ लैजाने छ । घिमिरेले फोहोर फ्याँक्ने पोखरी तयार भइसकेकाले १८ भदौदेखि नै फोहोर फाल्न दिइने बताए । ‘सिसडोलको विकल्प महानगरले खोज्न सकेन, अन्य संरचनाको काम नसकिँदै हामीले बन्चरेडाँडामा फोहोर फाल्न दिँदै छौँ,’ उनले भने ।

उनले यो ल्यान्डफिल्डसाइट तयार भएपछि उपत्यकाभित्र फोहोरसम्बन्धी समस्या नहुने दाबी गरे । महानगरपालिकाले व्यवस्थित तरिकाले ल्यान्डफिल्डसाइटलाई प्रयोग गर्न सके ४० वर्षभन्दा बढी समयको फोहोर यही फाल्न मिल्ने उनको भनाइ छ । घिमिरेका अनुसार हाल बन्दै गरेको ल्यान्डफिल्डसाइट व्यवस्थित छ । यसको चारैतिर ड्याम बाँधिएको छ । जसले फोहोरबाट निस्कने लिच्चड बग्न दिनेछैन । त्यस्तै, कुहिने र नकुहिने फोहोर छुट्याएर राखिनेछ । खन्याएको फोहोर व्यवस्थित गर्न ६ वटा डोजर र एक्साभेटर राखिनेछ । 

सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले बन्चरेडाँडा ल्यान्डफिल्डसाइट उपत्यकाको फोहोर समाधानको उपाय रहेको बताए । ‘उपत्यकाभित्र फोहोर नउठ्ने समस्या अब समाधान हुन्छ, यहाँ फोहोर फाल्न सुरु गरेपछि उपत्यकामा नियमित फोहोर उठ्छ,’ उनले भने । यसअघि लिच्चड खोलामा मिसिएपछि स्थानीयले विरोध गरेका थिए । उनीहरूले खोलाको पानी गाईबस्तुलाई खुवाउनुपर्ने भएकाले खोलामा लिच्चड मिसाउने कार्यको विरोध गरेका थिए । बन्चरेडाँडाको फोहोरबाट निस्कने लिच्चड खोलामा नबग्ने गरी ड्याम बाँधिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बन्चरेडाँडा तयार भएपछि फोहोरको समस्या नहुने बताए । ‘बन्चरेडाँडामा फोहोर फाल्न सुरु गरेपछि अहिलेजस्तो समस्या हुँदैन, अब त हामी योबाहेक अरू विकल्प पनि खोज्छौँ । अब फोहोरबाट मोहर निकाल्नेतर्फ पनि चासो दिन्छौँ,’ उनले भने ।

महानगरले अत्याएपछि तयार नहुँदै फोहोर फाल्न दिनुपर्‍यो : रमेशप्रसाद सिंह, सचिव, सहरी विकास मन्त्रालय

बन्चरेडाँडा ल्यान्डफिल साइटको सबै संरचना तयार हुन अझै ६ महिना लाग्छ । काठमाडौं महानगरले अत्याएकाले छिटो फोहोर फाल्न दिन थालेका हौँ । तर, हालकै अवस्थामा पनि फोहोर फाल्न मिल्छ । यो ठाउँ तयार भएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या आउँदैन । तर, सहरवासीले अनावश्यक फोहोर गर्न भएन । कुहिने फोहोर सकेसम्म घरमै व्यवस्थापन गरे उचित हुन्छ । यसो गरेमा धेरै फोहोर उत्पादन हुँदैन ।

झन्डै एक महिनादेखि उपत्यकाको फोहोर नउठ्दा चोक र सडक दुर्गन्धित भएका छन् । उपत्यकामा दैनिक एक हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ । एक महिनासम्म करिब ३१ हजार मेट्रिक टन फोहोर जम्मा भएको देखिन्छ । हालसम्म उत्पादन भएका फोहोर व्यवस्थापन गर्न एक सातभन्दा बढी समय लाग्ने छ ।

४० करोड खर्च, ठेकेदार कम्पनीको ढिलाइ 
दुईवटा ठेकेदार कम्पनीलाई एक वर्षभित्र काम सक्ने गरी २२ वैशाख ०७६ मा सहरी विकास मन्त्रालयले एक अर्बको लागत स्टिमेटसहित बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माणको ठेक्का दिइएको थियो । लुम्बिनी (कोषी न्यौपाने) जेभी र कालिका कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएका थिए । तर, ठेकेदार कम्पनीले सम्झौता भएको साढे दुई वर्षसम्म पनि काम पूरा गरेका छैनन् । हालसम्म ७० प्रतिशत काम भएको छ । अहिलेसम्म ४० करोड हाराहारीमा खर्च भइसकेको छ । बाँकी काममध्ये वरिपरिको सडक पिच गर्ने, आधाजसो ड्याम बाँध्ने, फोहोर प्रशोधन सेन्टर बनाउनेलगायत काम बाँकी छ । बाँकी काम ६ महिनाभित्र सकिने विभागका उपमहानिर्देशक घिमिरेले बताए ।

अवलोकन गर्न इन्जिनियर पठाइँदै
सहरी विकास मन्त्रालयले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको कार्यप्रगतिबारे बुझ्न बुधबार कर्मचारी र इन्जिनियर खटाउने भएको छ । कर्मचारी र इन्जिनियरले अवलोकन गरेपछि मात्रै १८ भदौदेखि फोहोर फाल्न दिइनेछ । त्यस्तै, त्यस क्षेत्रमा पुग्ने सडक निर्माणका लागि सडक विभागलाई मन्त्रालयले अनुरोध गरेको छ । विभागले सडक बनाएपछि बन्चरेडाँडामा फोहोर फाल्न समस्या हुनेछैन । 

उपत्यकामा झन्डै ३१ हजार मेट्रिक टन फोहोर उत्पादन, व्यवस्थापन गर्न एक साताभन्दा बढी लाग्ने
उपत्यकामा दैनिक एक हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ । एक महिनासम्म करिब ३१ हजार मेट्रिक टन फोहोर जम्मा भएको देखिन्छ । हालसम्म उत्पादन भएका फोहोर व्यवस्थापन गर्न एक साताभन्दा बढी समय लाग्ने छ ।

स्थानीय तहबीच समन्वय नहुँदा समस्या
फोहोर उठाउने मुख्य जिम्मेवारी यहाँका स्थानीय तहकै भागमा पर्छ । तर, उपत्यकामा फोहोर उठ्न छाडेको एक महिना पुग्न लागे पनि फोहोर व्यवस्थापनबारे यहाँका स्थानीय तहबीच समन्वय छैन । बन्चरेडाँडा र सिसडोलमा काठमाडौं महानगरपालिकाभित्रको मात्रै फोहोर जाँदैन, उपत्यकाका १८ वटा नगरको फोहोर त्यहीँ जम्मा हुन्छ । तर, नगरपालिकाहरूले आपसमा सल्लाह र समन्वय भने गरेका छैनन् । 

कानुनतः फोहोर व्यवस्थापन गर्ने एकल अधिकार स्थानीय तहकै हो । तर, उपत्यकामा फोहोर थुप्रिरहेको वेलामा यहाँका नगरपालिकाहरू गैरजिम्मेवार बन्दा अहिलेसम्म सिसडोलको अन्य विकल्प नगरपालिकाले खोज्न सकेका छैनन् । नगरपालिका महासंघका अध्यक्ष अशोक ब्यञ्जुले स्थानीय तहको पहिलो काम नै फोहोर व्यवस्थापन भएको बताए । ‘जेजस्ता कारण देखापरे पनि फोहोर उठाउने जिम्मेवारी स्थानीय तहकै हो,’ उनले भने, ‘तर, अहिले कतिपय स्थानीय तहले फोहोरसमेत व्यवस्थापन गर्न सकेका छैनन् ।’

ad
ad