१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार o७:२४:oo
Read Time : > 3 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

पहिला भिडियो, पछि गीत र संगीत (भिडियोसहित)

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o७:२४:oo

तीनजनाको टिमले गीत तयार गर्दा गीत मात्रै तयार गरेका हुँदैनन् । गीत लेखिनुअगावै भिडियोको कथा लेखिसकेका हुन्छन् । सँगै भिडियो खिच्छन्, सँगै गीत लेख्छन्, सँगै संगीत भर्छन् । तीनै पाटो सँगसँगै तयार गर्छन् र गीत बनाउँछन् ।

पारि भारत र वारि नेपाल छ, बीचमा पिल्लर छ । पारिको युवती र वारिको युवकबीच बाल्यकालदेखि प्रेम छ । अन्त्यमा ट्विस्ट आउँछ, युवती गर्भवती हुन्छे । दुवैमा राष्ट्रवाद जाग्छ । र, पारिकी युवती पारितिरै, वारिको युवक वारितिरै लाग्छन् ।  यो कथा हो, भर्खरै सार्वजनिक भएको गीत ‘बाफ’को । हर्क साउदले लेखे, नवीन चौहानले निर्देशन गरे र सुजन चापागाईंले संगीत भरेर गाए । तर, तीनजनाको यो पहिलो सहकार्य भने होइन । गत वर्ष नै ‘तीनपाते’ बोलको गीतमा यी तीन सर्जकले सहकार्य गरिसकेका थिए । 

‘तीनपाते’ गीतको पहिलो स्थायीको ‘आफैँ मुस्काऊ मुुसक्क, जूनतारा टिपी कोही दिँदैन...’ भन्ने लाइन खुब चल्यो । सामाजिक सञ्जालमा पोस्ट भएका प्रायः तस्बिरमा यही क्याप्सन हुन्थे । यस लाइनबारे हाँस्दै सुनाउँछन् गीतकार साउद, ‘पहिला तिम्रा लागि जूनतारा टिपेर ल्याइदिन्छु भन्थे । तर, वास्तविकतामा त्यो सम्भव छैन । जून टिपेर कसैले हातमा थमाइदिँदैन, त्यसका लागि आफैँ मिहिनेत गर्नुपर्छ ।’ यो टिमले गीत तयार गर्दा गीत मात्रै तयार गरेका हुँदैनन् । गीत लेखिनुअगावै भिडियोको कथा लेखिसकेका हुन्छन् । सँगै भिडियो खिच्छन्, सँगै गीत लेख्छन्, सँगै संगीत भर्छन् । तीनै पाटो सँगसँगै तयार गर्छन् र गीत बनाउँछन् । ‘बाफ’को विषयमा पनि निर्देशक चौहानले साथीभाइकै घटनालाई सन्दर्भ बनाएका थिए । नेपाल र भारत अनि प्रेमको कथा, जसलाई आर्टमान्डु टिमले गीत बनाउने योजना बनायो । 

साउदले गीत लेखे, तर दुई अन्तरा मात्रै । स्थायी लेख्न सकिरहेका थिएनन् । चौहानको टिम भने लोकेसन हेर्न हिँडिसकेको थियो । इलामको पशुपतिनगरबाट मानेभन्ज्याङ हुँदै तुम्लिङ पुगिसकेको थियो । त्यहाँ झमझम परिरहेको पानीमा खिचिएको भिडियोको फुटेज पनि पाए, साउदले । तर, शब्द फुराउन सकेनन् । उता, टिम सन्दकपुर पुगिसक्यो । बिहानै साउदलाई म्यासेन्जरमा मिस्डकल पनि हानिसके चौहानले । यसैवेला साउदले लेखे, ‘के भो खै, खै के भो । छैन म, म जे हो ।’ गीतको स्थायी चौहानलाई पठाइदिए । यता बागबजारको आफ्नो रेस्टुरेन्टको काममा लागे साउद । साँझतिर साउदको म्यासेन्जरमा भ्वाइस रेकर्ड आयो, सुने । साउद सुनाउँछन्, ‘त्यो रेकर्ड अहिले फाइनल भएको गीतभन्दा सुन्दर लागेको थियो । सोचेँ, उता सुजन भाइले गितार बजाइरहेको छ, नवीनचाहिँ एंगल मिलाइरहेको छ ।’ 

यसरी म्युजिकल फिल्म बनाउने कुनै ठोस निर्णय थिएन, चौहानको । काम गर्दै जाँदा यस्तो आइडिया फुरेको बताउँछन् । समय डिजिटलाइजेसनमा पुगेपछि गीत सुन्ने मात्रै रहेन, हेर्ने पनि भइदियो । तर, गीत जति मिहिनेतले बनाइन्छ, भिडियोमा भने त्यस्तो मिहिनेत नभइदिएकोप्रति नवीनको गुनासो रह्यो । गीत अर्कै, भिडियो अर्कै हुनुप्रतिको आफ्नो गुनासोलाई चिर्न आफैँ लाागिपरे । गीतको फैलावटलाई नबुझीकन भिडियो बनाएर गीतलाई नै साँघुरो बनाउने कर्मकाण्डी कामप्रति चौहानले चित्त बुझाउन सकेनन् । ‘फिल्मका गीतमा भावनाका कुरा कति मजाले व्यक्त गरिएको हुन्छ । त्यही काम म्युजिक भिडियोमा पनि गर्न सकिएला कि भन्ने लागेर यस्तो खालको प्रयास गरिएको हो,’ चौहान सुनाउँछन् । 

आर्टमान्डुको टिमसँगै सुदूरपश्चिमका साउद इलाम पुगे, ‘तीनपाते’ लेखे । इलामभन्दा पनि पूर्व गए, ‘बाफ’ लेखे । फरक संस्कृति, भूगोलमा हुर्किएका साउदले अर्कै भूगोल, संस्कृतिमा पुगेर गीत लेख्नुको सरल कारण छ । ‘कुनै ठाउँमा घुम्न जाँदा त्यहाँ घुम्ने, रमाउने काम मात्रै हुन्न । त्यहाँ पुग्दा त्यहाँको मानिसले के बोल्छन्, कस्ता गीत गाउँछन्, मेरो चासोको विषय रहन्छ । भूगोलको बनोट, वातावरण हेर्छु, अनि गीत लेख्छु,’ साउद सुनाउँछन् । तर, आफू नगएको ठाउँबारे पनि गीत लेखेका छन्, साउदले । चलचित्र ‘प्रेमगीत ३’को गीत ‘हात्ती ढुंगामा’ बोलको गीत मनाङ, मुस्ताङ नपुगीकनै लेखिदिए । दिवंगत निर्देशक छेतेन गुरुङले साउदलाई भेटेर गीतको अवस्थाबारे बताए । यसपछि रत्न पुस्तक भण्डार गएर मनाङ, मुस्ताङमाथि लेखिएको एक पुस्तक किने । पुस्तकमा त्यहाँको भूगोल, मान्छे, धर्म, संस्कृतिबारे लेखिएको रहेछ । पुस्तक पढे, अनि गीत लेखे । साउद सुनाउँछन्, ‘हिरोले प्रेमिकाको नाम ढुंगामा खोप्दै गर्दा हिरोइन पास हुन्छ भनेर भन्नुभएको थियो । विशाल ढुंगोलाई के नाम दिने ! अनि ‘हात्ती ढुंगा’ लेखिदिएँ ।’

साउद र चौहानसँग दुई गीतमा सहकार्य गरिसके, गायक चापागाईंले । बिबिए पढिरहेका चापागाईं आर्टमान्डुमा जोडिएपछि ‘तीनपाते’ ल्याए । गीतले चर्चा पायो, दर्शकको माया पायो । ‘हामी सबै मिलेर एउटा एउटा काम डिटेलमा गरेपछि यी गीतहरू बनेका हुन् । बाफ पनि यसरी नै आयो,’ अलि गम्भीर गीतहरू मात्रै गाएको कारण खोल्छन् चापागाईं, ‘साथीभाइ कस्ता छन्, दिनचर्या कस्तो मान्छेको संगतमा हुन्छ, कस्तो विचार भएको मान्छेसँग बसिन्छ, त्यसले ठूलो प्रभाव पार्दोरहेछ । मलाई लाग्छ, मेरो संगत र शास्त्रीय संगीतप्रतिको झुकावले अलि गम्भीर काममा चासो बढी भएको हो ।’ साउद, चौहानहरूसँगको सहकार्यमा जहिल्यै चुनौती महसुस हुने चापागाईंको अनुभव छ । मीठो शब्दसहितको गीत आएपछि कस्तो संगीत भर्ने भनेर जहिल्यै सिर्जनात्मक दबाबमा पर्ने गरेको उनी बताउँछन् ।

तालिबानले केही दिनअघि अफगानिस्तान कब्जा गर्‍यो । अफगानिस्तानका कतिपय दृश्य हृदयविदारक थिए । उक्त दृश्यहरू माानवताको हिसाबले भयानक थिए । चौहान भन्छन्, ‘तर, उक्त दृश्यहरू हेरेर हामी दुःखी त हुन्छौँ, तर अवचेतनमा आफैँलाई थमथमाउँछौँ, हामीलाई त भएको छैन नि ! यसरी हामी आफू सुरक्षित भएको महसुस गर्छौं ।’ 

अफगानिस्तानलाई हेरेर हामीमा यस्तो सोच आउनुका पछाडि सिमानाका नाममा जुन रेखा छ, त्यसलाई कारक देख्छन्, चौहान । यो जात होइन अथवा त्यो समुदायको होइन भन्ने भावनाको विकास नै रेखाहरूका कारण भएको दाबी गर्छन् । यही विषयलाई आफूले बाफमा समेटेको बताउँछन्, चौहान । त्यही सिमानाको कुरा दुई पात्रमार्फत भने । फरक स्वादमा भन्नका लागि बीचमा प्रेमलाई घुसाइदिए । ‘यदि त्यहाँ पिल्लर हुँदैनथ्यो भने त्यसरी प्रेममा राष्ट्रवाद जाग्दैनथ्यो । तर, दुवैमा राष्ट्रवाद जागेपछि आवेगमा आउँछन्, दुवै । आवेगमा मान्छेले सोचेर निर्णय गर्न सक्दैन । के कुराले स्ट्राइक गर्‍यो, त्यो आउँछ, फिल्टर गरेर सोच्ने अवस्थै आउँदैन,’ चौहान भन्छन्, ‘तर, कुलडाउन भएर आउँदा मानवताले जित्छ, मायाले जित्छ । भिडियोलाई अलिकति तन्काएको भए जितिसक्थ्यो, तर प्रश्न जीवित होस् भनेर त्यहीँ छाडिदिएँ भिडियोलाई ।’ 

ad
ad