मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मुना कुँवर काठमाडौं
२०७८ भदौ १० बिहीबार ०९:०४:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

असोजभित्र कामदार इजरायल उड्ने

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडौं
२०७८ भदौ १० बिहीबार ०९:०४:००

भदौको तेस्रो साता परीक्षा हुने, एक हजारका लागि करिब १० हजारले दिए आवेदन

इजरायल रोजगारीमा जाने कामदारहरूको परीक्षा भदौको तेस्रो साता हुने भएको छ । कोरोना संक्रमणका कारण असर नपरेमा भदौ तेस्रो साता परीक्षा हुने वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताए । विभागले परीक्षाका लागि कोभिड नियन्त्रण व्यवस्था सेन्टरसँग पत्राचार गरेको छ । केन्द्रले अनुमति दिए तेस्रो परीक्षा सञ्चालन गरिने उनले बताए । प्रक्रियामा कुनै अवरोध सिर्जना नभए कामदार असोज मसान्तसम्म इजरायल उड्ने निर्देशक सुनुवारले बताए । तर, इजरायल सरकारले छनोट प्रक्रिया लम्ब्याएमा कामदार जाने समय पनि लम्बिन सक्ने उनको अनुमान छ । 

१० हजारले दिए आवेदन
वैदेशिक रोजगार विभागले इजरायल रोजगारीका लागि १ हजार कामदारको माग गरेकोमा झन्डै १० हजारले आवेदन दिएका छन् । विभागका अनुसार साउन अन्तिमसम्म अनलाइनमार्फत ९ हजार ६ सय ९९ कामदारले आवेदन दिएका छन् । आवेदन दिनेमध्येमा ५ हजार ४ सय ९९ पुरुष र ४ हजार २ सय महिला छन् । इजरायलले ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष कामदारको माग गरे पनि आवेदन दिनेमा पुरुषको संख्या अधिक भएको विभागले जनाएको छ । विभागबाट आवेदनहरूको अध्ययन गरी तयार हुने अन्तिम सूचीमा रहेका आवेदकहरू लिखित परीक्षामा सहभागी हुनेछन् । लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरूको अन्तर्वार्तासमेत लिइनेछ । लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोकसेवा आयोगले अवलम्बन गरेको विधिको प्रयोग गरिने विभागले जनाएको छ ।

इजरायल जान आवश्यक योग्यता
इजरायल जान चाहने नेपाली कामदारले कम्तीमा १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिकाअनुसार कामदारले नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्याबाट केयर गिभरसम्बन्धी कम्तीमा तीन महिनाको तालिमप्राप्त गरेको हुनुपर्नेछ । 

त्यस्तै, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको हुनुपर्ने निर्देशिकामा उल्लेख छ । कामदार २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । कम्तीमा १ दशमलव ५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको हुनुपर्नेछ । तर, एकपटक इजरायल गई काम गरेको कामदार भने फेरि जानका लागि योग्य हुनेछैन । साथै, बाबु, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोवास गरेको वा कार्यरत रहेको कामदारले पनि इजरायलका लागि आवेदन दिन पाउनेछैन ।  

अनुमानित लागत १ लाख ६५ हजार
इजरायल रोजगारीका लागि विभागले अनुमति लागत १ लाख ६५ हजार तय गरेको विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताए । उनका अनुसार उक्त रकम अनुमानित हो । टिकट खरिद गर्दा कम पनि हुन सक्नेछ । उनका अनुसार इजरायलका लागि जहाज टिकट १ लाख ४० हजार लाग्ने विभागले अनुमान गरेको छ । तर, यो रकम सबैभन्दा उच्च रकम हो । त्यसैले कामदारले योभन्दा पनि कम रकममा जहाजको टिकट पाउन सक्नेछन् । त्यस्तै, पासपोर्ट बनाउने खर्च ५ हजार, अभिमुखी तालिम र मेडिकलका लागि अनुमानित १० हजार रुपैयाँ गणना गरिएको छ । साथै, कल्याणकारी कोषका लागि दुई वर्षको भिसा हो भने १ हजार ५ सय र तीन वर्षका लागि हो भने २ हजार ५ सय लाग्ने अनुमान गरिएको विभागका महानिर्देशक दवाडीले बताए । 

इजरायल रोजगारीमा जाने कामदारले करिब २ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् । विभागका अनुसार नेपाली कामदारले १६ सय डलर (आजको मितिमा १ लाख ९० हजार) पाउनेछन् । तर, कामदारले बिमाको रकम, पानी र बिजुलीको खर्च व्यहोर्नुपर्नेछ । रोजगारीमा जाने कामदार संगठित संस्थामा काम गर्नेछन् । विभागका महानिर्देशक दवाडीका अनुसार यसअघि जाने कामदारले घरमा काम गर्थे भने अब जाने कामदार भने हस्पिटल, नर्सिङ होम, केयर होमलगायतका संस्थामा काम गर्नेछन् । नेपाल सरकार र इजरायलबीच ०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो । सम्झौताअनुसार पहिलो चरणमा केयर गिभरमा कामदारहरू पठाइनेछ । 

इजरायल रोजगारीको छनोट प्रक्रिया
इजरायल रोजगारीका लागि छनोट गर्दा विभागले आवेदन दिएका कामदारको कागजपत्र प्रमाणीकरणबाट छानिएका आवेदकको अंग्रेजी भाषा र सीप परीक्षा लिइनेछ । लिखित परीक्षामा टिक लगाउने प्रश्न आउनेछन् । परीक्षामा ६० प्रतिशत भाषा र ४० प्रतिशत सीपसम्बन्धी प्रश्न आउनेछन् । सो परीक्षाबाट १६ सय ४० लाई विभागले छनोट गर्नेछ । लिखित परीक्षाबाट छानिएकालाई अनलाइनमार्फत सूचना दिएर अन्तर्वार्ताका लागि बोलाइनेछ ।

लिखित परीक्षा ८० नम्बरको हुनेछ भने अन्तर्वार्ता २० नम्बरको हुने विभागले जनाएको छ । लिखित परीक्षा भएको भोलिपल्ट नै नतिजा सार्वजनिक गरिने विभागले प्रयास गरेको विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताए । अन्तर्वार्ताबाट १ हजार ४ सय कामदारको छनोट गरिनेछ । छनोट गरिएको नामसूची इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटीमा पठाइने विभागका महानिर्देशक दवाडीले बताए । 

अन्तिम १ हजार ४ सयमा छनोट भएका कामदारलाई रोस्टरमा राखिनेछ । रोस्टरमा राखिएको नामसूचीबाट इजरायलका रोजगारदाताले माग गरेअनुसार चिट्ठा प्रणालीमार्फत कामदारको छनोट गरिनेछ । यो वर्ष इजरायलले १ हजार कामदारको माग गरेको विभागका महानिर्देशक दवाडीले बताए । जसमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष कामदार पठाइनेछ ।

चिट्ठा प्रणालीमार्फत छनोट भएका कामदारको नाम विभागमा पठाइनेछ । विभागले कामदारसँग पाँच दिनभित्रमा सम्झौता गरी भिसा प्रक्रिया सुरु गर्नेछ । भिसा नेपालस्थित इजरायल दूतावासले तय गर्नेछ । भिसा तय भएपछि कामदार आफैँले जहाजको टिकट खरिद गरी इजरायल जान सक्नेछन् ।

इजरायल रोजगारीमा रोजगारदाता र श्रमिकबीच पहिलोपटक एक वर्षका लागि सम्झौता हुनेछ । तर, रोजगारदाताले चाहेमा ५ वर्षसम्मका लागि गर्न सक्नेछ । तर, पाँच वर्षपछि भने कामदार अनिवार्य रूपमा नेपाल फर्कनुपर्नेछ ।