दुई सय २४ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन

बिहिबार, ३ भदौ, २०७८
डिजिटल संस्करण

चार उपमहानगरपालिका, एक सय तीन नगरपालिका र एक सय १७ गाउँपालिका निमित्तकै भरमा

स्थानीय तहका जनप्रतिनिधिले कार्यकालको चार वर्ष गुजारिसकेका छन् । तर, अन्तिम वर्षसम्म पनि कर्मचारीको अभाव कायमै छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हाल दुई सय २४ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ । ती स्थानीय तह निमित्तकै भरमा चलेका छन् ।

चार उपमहानगरपालिका, एक सय तीन नगरपालिका र एक सय १७ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्तले चलाइरहेका छन् । हाल इटहरी, जनकपुर, जितपुर–सिमरा र घोराही उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत निमित्तकै भरमा चलेको छ ।

मन्त्रालयका प्रवक्ता वसन्त अधिकारी भन्छन्

प्रमुख प्रशासकीय अधिकृत निजामती सेवाको पद हो । निजामती सेवाको पदपूर्ति लोकसेवा आयोगबाट हुन्छ । आयोगले कोरोनाका कारण डेढ वर्ष परीक्षा नै लिन सकेन । बल्ल परीक्षा सुरु भएको छ । सहसचिवको परीक्षा सकियो । अब उपसचिव, शाखा अधिकृतको परीक्षा हुन्छ । रिजल्टपछि समस्या केही हदसम्म समाधान हुन्छ । 

सरकारले प्रशासकीय अधिकृतको दरबन्दी सिर्जना गर्न नसकेको र हाल रहेका शाखा अधिकृत र उपसचिवहरू पनि स्थानीय तहमा जान नचाहेका कारण प्रमुख प्रशासकीय अधिकृत रिक्त भएको बताएको छ । ‘प्रमुख प्रशासकीय अधिकृत निजामती सेवाको पद हो । निजामती सेवाको पदपूर्ति लोकसेवा आयोगबाट हुन्छ ।

आयोगले कोरोनाका कारण डेढ वर्ष परीक्षा नै लिन सकेन,’ मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने, ‘बल्ल परीक्षा सुरु भएको छ । सहसचिवको परीक्षा सकियो । अब उपसचिव, शाखा अधिकृतको परीक्षा हुन्छ । परीक्षाको रिजल्ट आएपछि कर्मचारी आउने हुँदा निमित्तको केही समस्या समाधान हुन्छ ।’ उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत रिक्त हुँदा कतिपय निमित्तमा शिक्षा, स्वास्थ्य, कृषि सेवाका कर्मचारीले काम गरिरहेका छन् । 

आर्थिक अधिकारसहितको जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत भए पनि दर्जाभन्दा तलका कर्मचारीले समेत स्थानीय तह चलाइरहेका छन् । ‘निमित्त हुँदैमा काम नै रोकिएको भने होइन । उनीहरूले पनि आर्थिक अधिकारसहित काम गर्ने हो । दर्जा पुगेको मानिस मात्र नभएको हो,’ प्रवक्ता अधिकारीले भने, ‘प्रमुख प्रशासकीय अधिकृत शाखा अधिकृत हुने ठाउँमा अधिकृत नै आएर चलाइरहेका छन् । कहीँकहीँ मात्र सुब्बा, खरदारले निमित्त चलाइरहेको हो । तर, निमित्त भए पनि उसले जिम्मेवारीचाहिँ प्रमुख प्रशासकीय अधिकृतको भूमिकामै काम गर्छ । निमित्त भएर यो काम गर्न पाउने त्यो नपाउने भन्ने छैन ।’ 

यी स्थानीय तह जहाँ निमित्तले चलाइरहेका छन्
हाल प्रदेश १ को माई, रंगेली, उर्लाबारी, इनरुवा, धनकुटा, पाख्रिबास, मादी, पाँचपखन, भोजपुर, कटारी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पद रिक्त छ । त्यस्तै, फक्ताङलुङ, टेम्केमैयुङ, साल्पासिलिछो, माप्य दूधकोसी, चम्पादेवी, मोलुङ, जन्तेढुंगा र साकेला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्तले चलाइरहेका छन् । 

प्रदेश २ को राजविराज, कञ्चनरूप, शम्भुनाथ, हनुमाननगर–कंकालिनी, सप्तकोसी, बोदेबर्साइन, लहान, मिर्चैया, कल्याणपुर, सिराहा, कर्जन्हा, हरिपुर, बरहथवा, बागमती, कविलासी, मलंगवा, बलरा, गोडैता, बर्दिबास, लोहरपट्टी, रामगोपालपुर, मनरसिसवा, मटिहानी, बलवा, औरही, गौशाला, सहिदनगर, सबैला, कमला, हंसपुर, गणेशमान चारनाथ, क्षिरेश्वरनाथ, विदेह, सिम्रौनगढ, पचरौता, पर्सागढी, बहुदरमाई, माधवनारायण, मौलापुर, फतुवा–विजयपुर, ईशनाथ, परोहा, राजपुर, कटहरिया, देवाही–गोनाही, गरुडा, राजदेवी, गौर, बौधीमाई, गुजरामा प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् । यस्तै, महादेवा, नरहा, जनकनन्दिनी, पिपरा, धनकौल, रामनगर, बसबरिया, ब्रह्मापुरी, फेटा, जगरनाथपुर, पटेर्वा सुगौली, धोबिनी, पकाहा, विन्ध्यवासिनी, दुर्गा–भगवती र यमुनामाई गाउँपालिकामा प्रमुख प्रशासकीय रिक्त छन् । 

बागमती प्रदेशको मन्डन–देउपुर नगरपालिकामा मात्र प्रमुख प्रशासकीय अधिकृत रिक्त छ । उमाकुण्ड, लिखु–तामाकोसी, शैलुङ, चौँरी–देउराली, महाभारत, पञ्चकन्या, लिखु, म्यागङ, शिवपुरी र त्रिपुरासुन्दरी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहँुदा निमित्तले चलाइरहेका छन् । 

गण्डकी प्रदेशका बेंसीसहर र चापाकोट नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् । क्व्होलासोथर, नार्पा भूमि, जलजला र महाशिला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् । 

लुम्बिनी प्रदेशका भूमिकास्थान, प्युठान, बाँसगढी, राजापुर नगरपालिका र इश्मा, छत्रकोट, मालिका, कोटहीमाई, मालारानी, नौवहिनी, माडी, गंगादेव, सुनीलस्मृति, राप्ती–सोनारी, पुथा–उत्तरगंगा र सिस्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत छैनन् । 

कर्णाली प्रदेशका खाँडाचक्र, रास्कोट, तिलागुफा, भेरी, नलगाड, छेडागाड, ठूलीभेरी, त्रिपुरासुन्दरी, चामुण्डा–विन्द्रासैनी, आठबिस, नारायण, छायानाथ–रारा, आठबिसकोट, बागचौर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् । यस्तै, बाँफिकोट, त्रिवेणी, सानी भेरी, कपुरकोट, छत्रेश्वरी, दार्मा, चौकुने, सिम्ता, नौमुले, ठाँटीकाँध, बारेकोट, कुसे, जुनीचाँदे, जगदुल्ला, मुड्केचुला, काइके, हिमा, गुठीचौर, शुभमालिका, पलाता, सान्नी–त्रिवेणी, नरहरिनाथ, महावै, सोरु, खत्याड, सिमकोट, खार्पुनाथ, सर्केगाड, चंखेली, ताँजाकोट, अदानचुली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् । 

सुदूरपश्चिम प्रदेशका जयपृथ्वी, बुंगल, बडिमालिका, बुढीनन्दा, त्रिवेणी, मंगलसेन, कमलबजार, साँफेबगर, पञ्चदेवल, दिपायल–सिलगढी, शिखर, घोडाघोडी, लम्कीचुहा, शैल्यशिखर, मेलौली, पाटन, पुर्चाैडी, अमरगढी, परशुराम, भीमदत्त र महाकाली नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् । यस्तै, गौमुल, स्वामिकार्तिक, खप्तड छेडेदह, हिमाली, जगन्नाथ, चौरपाटी, मेल्लेख, रामारोशन, बान्नीगढी–जयगढ, ढकारी, तुर्माखाँद, बडीकेदार, सायल, बोगटान, पूर्वीचौकी, चुरे, मोहन्याल, केदारस्युँ, खप्तड–छान्ना, थलरा, मस्टा, बित्थडचिर, साइपाल, तलकोट, दुर्गाथली, सुर्मा, मालिकार्जुन, अपी–हिमाल, नौगाड, मार्मा, व्यास, सुर्नया, शिवनाथ, पञ्चेश्वर, डिलासैनी, दोगडाकेदार गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्तले चलाइरहेका छन् । 

यस्तो छ प्रमुख प्रशासकीय अधिकृतको काम कर्तव्य
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा २ मा प्रमुख प्रशासकीय अधिकृतको काम कर्तव्य उल्लेख गरिएको छ । 
क) प्रमुख प्रशासकीय अधिकृतले सभा र कार्यपालिकाको सचिवका रूपमा काम गर्ने
ख) सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने–गराउने
ग) अध्यक्ष वा प्रमुखको निर्देशनमा वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्यांकन गर्ने–गराउने
घ) कोष तथा आर्थिक कारोबारको हिसाब तथा अभिलेख दुरुस्त राख्ने, राख्न लगाउने, लेखापरीक्षण गराउने तथा बेरुजु फस्र्योट गर्ने–गराउने
ङ) आयोजनाहरूको फरफारकका लागि प्रतिवदेन तयार गरी कार्यपालिकाको बैठकमा पेस गर्ने
च) गाउँपालिका वा नगरपालिको चलअचल सम्पत्तिको संरक्षण गर्ने, लगत राख्ने तथा अद्यावधिक गर्ने गराउने
छ) अध्यक्ष वा प्रमुखको निर्देशनमा कार्यपालिका तथा सभाको बैठक बोलाउने र बैठकसम्बन्धी आवश्यक कार्य गर्ने–गराउने
ज) कार्यपालिको निर्णय प्रमाणित गर्ने र सभा र कार्यपालिकाको निर्णयको अभिलेख सुरक्षित गर्ने
ञ) गाउँपालिका वा नगरपालिकाको प्रशासकीय तथा आर्थिक नियन्त्रण गर्ने
ट) सार्वजनिक खरिद योजना तयार गरी खरिदसम्बन्धी कार्य गर्ने–गराउने 
ठ) सभा र कार्यपालिकाले तोकेको अन्य कार्य गर्ने–गराउने 

सुझावित समाचार