१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १९:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

काबुलबाट नेपालीको उद्धारमा समन्वय गर्न कार्यदल गठन, कूटनीतिक नियोगहरूलाई पनि पत्राचार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १९:२o:oo

सरकारले रोजगारीका सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीको अवस्था यकिन गरी समन्वय र उद्धारका लागि परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेको नेतृत्वमा कार्यदल गठन गरेको छ । काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा कार्यरत नेपालीलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्र संघको कार्यालयहरूलाई औपचारिक पत्राचारसमेत गरेको छ । 

‘उनीहरूले आफ्ना नागरिकको उद्धारका क्रममा उनीहरूकहाँ काम गर्ने नेपालीहरूलाई पनि उद्धार गरिदिन आग्रह गरेका छौँ, सकारात्मक जवाफ आएको छ,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नयाँ पत्रिकासँग भनिन् । मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा उनको कार्यकक्ष सिंहदरबारमा बसेको अन्तरमन्त्रालयको बैठकले समिति गठन गरेको हो । 

घिमिरे परराष्ट्रको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख हुन् । अफगानिस्तान मामिला परराष्ट्रको दक्षिण एसिया मामिलाले हेर्ने भए पनि कोभिड– १९ को समयमा नेपालीलाई पश्चिम एसियाली र खाडी मुलुकबाट उद्धारको समन्वय गरेका घिमिरेलाई अहिले अफगानिस्तानको पनि जिम्मेवारी दिइएको हो । 

घिमिरे नेतृत्वको कार्यदलमा अर्थ, गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड– १९ संकट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागबाट सहसचिव वा सोसरहका सदस्य छन् । 

उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलन गर्न कन्सुलर सेवा विभागको वेबसाइटमा नाम भरेर दर्ता गर्न सम्बन्धित व्यक्ति र परिवारका सदस्यलाई आह्वानसमेत गरेको छ ।  उद्धारसँग सम्बन्धित सम्पर्कका लागि परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग तथा नयाँदिल्लीस्थित नेपाली दूतावासमा हटलाइनको पनि व्यवस्था गरिएको छ ।

अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीहरूलाई सरकारले त्यहाँ कार्यरत नेपालीहरूको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवं तथ्यांक तत्काल उपलब्ध गराउन पनि आग्रह गरेको परराष्ट्रले जनाएको छ ।

ad
ad