मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण २९ शुक्रबार १०:५७:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

बिपी प्रतिष्ठानको  बेथिति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण २९ शुक्रबार १०:५७:००

झन्डै दुई महिनाभन्दा बढी समयदेखि व्यवस्थापनको अनियमितताविरुद्ध आन्दोलित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका १५ सयभन्दा बढी शिक्षक, चिकित्सक, नर्स तथा कर्मचारी अझै आन्दोलनमै छन् । उनीहरूको आन्दोलनमा स्थानीय राजनीतिक दल र नागरिक समाजसमेतले ऐक्यबद्धता जनाइसकेका छन् र उनीहरू पनि अलग आन्दोलनमा छन् । आन्दोलनकारीले उपकुलपति डा. ज्ञानेन्द्र गिरीलगायत चारैजना पदाधिकारीको राजीनामा माग गरेका छन् । साथै, चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले पनि ३ भदौसम्म प्रतिष्ठानका चारैजना पदाधिकारी बर्खास्त नभए सत्याग्रह थाल्ने घोषणा गरिसकेका छन् । व्यवस्थापनको अनियमितता र प्रतिष्ठानमा भइरहेको आन्दोलनले गर्दा कोभिड–१९ को महामारीको समयमा पनि सेवाग्राहीले उचित र भरपर्दो सेवा पाउन सकिरहेका छैनन् । प्रतिष्ठानको यो अस्तव्यस्तता कहिलेसम्म यथावत् रहने हो, अझै टुंगो लागिसकेको छैन । 

जनतालाई स्वास्थ्य सेवा दिएर स्वस्थ बनाउनुपर्ने प्रतिष्ठान स्वयं दीर्घरोगी हुनु र त्यसमा प्रतिष्ठानका माथिल्लो तहका पदाधिकारी नै जिम्मेवार देखिनु चिन्ताको विषय हो
 

यसैबीच नयाँ पत्रिकालाई प्राप्त प्रतिष्ठानको आन्तरिक लेखा परीक्षणको रिपोर्टले प्रतिष्ठानका पदाधिकारीले अकल्पनीय आर्थिक तथा प्रशासनिक अनियमितता गरेको देखाएको छ । प्रतिष्ठान व्यवस्थापनले कानुनतः ठेक्का दिन अयोग्य कम्पनीलाई तीन करोडमा ग्लोब्स किन्न ठेक्का दिएको आन्तरिक लेखा परीक्षणबाट खुलेको छ । ठेकेदार कम्पनीसितको मिलेमतोमा भ्याटमाथि भ्याट जोडेर लाखौँ अनियमितता गरेको पनि लेखा परीक्षण प्रतिवेदनले औँल्याएको छ । विभिन्न कागजातमा एउटै शाखा प्रमुखको नाम भए पनि दस्तखत भने फरक–फरक पाइएको छ । नियमानुसार नमुनासमेत नहेरी सवा करोडको कीट खरिद गर्ने ठेक्का सम्झौता गरेको प्रतिष्ठानले खरिद र भुक्तानीको रेकर्ड नै गायब गरेको छ । प्रतिष्ठानको आन्तरिक लेखा परीक्षण प्रतिवेदनले टेन्डर आह्वानअघि नै ठेकेदार कम्पनीसितको मिलेमतोमा चलखेल गरिएको पनि औँल्याएको छ । साथै, ठेकेदार कम्पनीकै मिलेमतोमा व्यापारीले निश्चित कम्पनीलाई फाइदा पुग्ने र अमुक, अमुक कम्पनीले मात्र टेन्डरमा सहभागी हुन सक्ने गरी ‘स्पेसिफिकेसन’ तयार गर्ने कामसमेत गरिएको पनि प्रतिवेदनले प्रस्ट्याएको छ । प्रतिष्ठानको आम्दानी दैनिक झन्डै एक करोडभन्दा बढी नै छ । खासगरी प्रतिष्ठानले विभिन्न ल्याब परीक्षण, उपचार, बेड, शल्यक्रियालगायत विभिन्न शीर्षकमा गर्ने आम्दानी निकै ठूलो छ । तैपनि, प्रतिष्ठान हालसम्म सात अर्बभन्दा बढीको सञ्चित नोक्सानीमा छ । सवा अर्बभन्दा बढी त बेरुजु नै छ । वार्षिक ४८ करोड हाराहारीको बेरुजु थपिँदै गएको छ । 

यी सबै तथ्य र तथ्यांकले प्रतिष्ठान भित्रभित्रै जर्जर बनिसकेको र यसका नेतृत्वकर्ताहरू सकेसम्म मौका पाउन्जेल लुटौँ र मोज गरौँ भन्ने ध्याउन्नमा छन् कि जस्तो देखिन्छ । प्रतिष्ठानभित्र बेथिति नै बेथिति मौलाइरहेका छन् । प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारी, चिकित्सक, नर्स सबै एकमत भई विरोधमा आन्दोलनरत छन् । पदाधिकारीले व्यापारीसितको साँठगाँठबाट प्रतिष्ठानलाई धराशयी बनाइसकेका छन् । यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार प्रतिष्ठानमा छापा मारी लेखा, प्रशासन र स्टोर शाखाका कागजपत्र नियन्त्रणमा लिएको छ । प्रतिष्ठानमा वर्तमान र पूर्वपदाधिकारीको नाममा अख्तियारमा दर्जनौँ मुद्दा विचाराधीन अवस्थामा छन् । जनतालाई स्वास्थ्य सेवा दिएर स्वस्थ बनाउनुपर्ने प्रतिष्ठान स्वयं दीर्घरोगी हुनु र त्यसमा प्रतिष्ठानका माथिल्लो तहका पदाधिकारी नै जिम्मेवार देखिनु चिन्ताको विषय हो । सरकारले अविलम्ब हस्तक्षेप गरी प्रतिष्ठानको दीर्घरोगको निदान गरी उपचार प्रक्रिया सुरु गरोस् ।