१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
सदा परिवारसँग भेट गर्दै स्थानीय प्रतिनिधि
२o८१ जेठ ४ शुक्रबार ११:४६:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भारत काम गर्न गएका सप्तरीका अर्का मुसहरको पनि कुटपिटबाट मृत्यु

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:४६:oo

भारतको यमुनानगर काम गर्न लगिएका सप्तरीको छिन्नमस्ता गाउँपालिका– ७ हाटीका एक ३० वर्षीय मुसहर युवाको शंकास्पद मृत्यु भएको छ। यसअघि गत वैशाख ९ गते हाटीकै ठेकेदारमा काम गर्न गएका बुधु सदाको पनि ठेकेदारको कुटपिटबाट मृत्यु भएको थियो।

गत माघमा स्थानीय अक्षेश्वर यादवले ३० वर्षीय दीपेन सदालाई घरमा तीन हजार रुपैयाँ दिएर भारतको जमुनानगरस्थित प्लाइउड उद्याेगमा मजदुरी गर्न लगेका थिए। दीपेनसँगै बहिनी रिता र ज्वाइँसमेत त्यहीँ कार्यरत थिए। मृतककी बहिनी रिता सदाका अनुसार गत साउन ८ गते उद्याेगका ठेकेदार विशेश्वर यादवले दीपेनलाई कुटपिट गरेका थिए।  

‘म खाना पकाउँदै थिएँ, मेरी सात वर्षकी छोरी नैना सदाले दीपेनलाई ठेकेदार यादवले कुटेर एउटा रुममा बन्द गरेर राखेको देखेपछि  मलाई खबर गरी,’ रिता सदाले भनिन, ‘म छोरीसँगै गएर हेर्दा उहाँलाई निर्घात कुटेर कोठामा बन्द गरेर राखिएको थियो। म त्यहाँ गएको थाहा हुनेबित्तिकै ठेकेदार यादवले मलाईसमेत हिर्काउँदै यहाँ किन आएको भन्दै धम्क्याए।’ 

ठेकेदारले कुटपिट गरेको घटना कसैलाई सुनाए यतै मारेर फाल्ने धम्की दिएको रिताले बताइन्। कुटपिटमा गम्भीर घाइते भएका दीपेनलाई ठेकेदार यादवले नजिकैको अस्पताल लगे पनि आफूलाई कुरुवा बस्न नदिएको रिताले बताइन्।  

अस्पताल लगेको दिनपछि ठेकेदार आएर ‘अब तिम्रो भाइ बाँच्दैनन्,हिँड जाऊ अस्पताल’ भनेर लिएर गयो। रिताले भनिन्, ‘अस्पतालमा गएर हेर्दा दीपेन अर्धचेत अवस्थामा थिए। हेरेर आएकै सोमबार (साउन ११ गते) राति मृत्यु भयो।’ 

अस्पतालबाट शव घर ल्याउन ठेकेदारलाई धेरै अनुनयविनय गरे पनि ठेकेदारले जति पावर लगाए पनि लास नेपाल जाँदैन, यतै संस्कार गर्नुपर्छ भनेपछि बाध्य भएर उतै शव जलाउन लगाएको उनले बताइन्।

रिताका अनुसार दाहसंस्कारपछि अर्को दिन ठेकेदार यादवले नेपाल बोर्डरनजिक एउटा गाडीमा ल्याएर दाजु अक्षेश्वर यादवलाई जिम्मा लगाएको र सीधै प्रहरी कार्यालयमा लगेर डर धम्की दिएर दीपेन आफ्नै कालगतिले मरेको भन्न लगाएको बताइन्। 

मृतककी आमा लालोदेवी सदाले  छोरा मृत्यु भएको खबर पाएपछि गाउँमै रहेका ठेकेदारका दाजु अक्षेला यादवलाई एक मात्र  छोरा भएकोले लास जसरी भए पनि ल्याइदिन आग्रह गर्दासमेत उल्टै गाली गरेर पठाएको बताइन्। 

जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवका अनुसार भारतमा काम गर्न लगेका मुसहरलाई कमाएको पैसा धेरै भएपछि उतै कि कुटपिट गरेर भगाइदिने वा हत्यासम्म गर्न पछि नपर्ने काम ठेकेदारहरूले गर्ने गरेको बताए। अहिले मृत्यु भएका दीपेन सदाका छिमेकीसमेत रहेका प्रमुख यादवले भने, ‘अहिले मारिएको दीपेन सदा होस् कि केही समयअघि राजगढ गाउँपालिका– ५ मलेकपुरका बुधु सदा दुवैजनाको मृत्यु काम गरेको ज्यालाको विषयमा भएको देखिन्छ।’ 

‘दलित समुदायभित्र पनि सीमान्तकृत निमुखा मुसहर समुदायलाई प्रहरी प्रशासनले पनि राम्रो सहयोग गर्दैनन्, हामी गएपछि थोरै रेस्पोन्स गरे पनि दलितहरू जाँदा कुनै वास्ता गर्दैनन्,’ प्रभाकरले भने, ‘विशेश्वर यादवले नै लगेका मुसहर समुदायका थप १५ जनामा तीनजना मात्रै घर आएको र बाँकी १२ जना अझै उनकै नियन्त्रणमा रहेको र उनीहरूलाई झिकाउन प्रहरीलाई मौखिक उजुरी गरे पनि कुनै सुनुवाइ भएको छैन।’

प्रहरी भन्छन्– मृत्यु भएको प्रमाण छैन कसरी कारबाही अघि बढ्छ ?
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले घटना भारतमा भएको र मृत्युको प्रमाणपत्रसमेत नरहेकाले कारबाही अघि बढाउन समस्या भएको बताए। उनले भने, ‘सिराहामा भएको घटना अनुसन्धान त सप्तरी प्रहरीले गर्न मिल्दैन भने भारतमा भएको घटना कसरी अनुसन्धान गर्ने ?’ 

१५ जना मुसहरलाई ठेकेदार यादवले लगे पनि १२ जना अझै उतै बन्धकमा रहेकोबारे भने डिएसपी काफ्लेले यसबारे कुनै जानकारी नभएको बताए।  

दलित विकास समित र मधेसी आयोगद्वारा पीडित परिवाससँग भेटघाट
दलित विकास समितिका सदस्य श्याम सरदारले घटनाबारे बुझन शुक्रबार मृतक दीपेन सदाको परिवारसँग भेटघाट गरेका छन्। त्यस्तै मधेसी आयोगका अध्यक्ष डाक्टर विजय दत्तले समेत पीडित परिवारसँग भेटघाट गरेका थिए। 

प्रदेश २ मा दलितहरूमाथि भइरहेको शृंखलाबद्ध हत्या र हिंसाको घटनाबारे अध्ययन गरेका आयोग अध्यक्ष दत्तले भने, ‘मृतककी बहिनी सँगै हुँदासमेत अस्पताल सँगै लिएर नजानु, मृत्यु भइसकेपछि पनि परिवारको मञ्जुरीबेगर दाहसंस्कार गर्नु, झुक्याएर अर्कै बाटोबाट सीधै प्रहरी कार्यालय लिएर गएर दबाबमा बयान गर्न लगाउनुले पनि घटना शंकास्पद देखिएको छ,’ उनले भने, ‘मुसहर समुदायमाथि भइरहेको चरम श्रम शोषण र हत्याका घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन आयोगले पहल गर्छ।’ 

बुधु सदाको घटनामा प्रहरीमा जाहेरी दर्ता भएन, चार लाख लिएर घटना मिलाउन दबाब 
गत ९ वैशाखमा छिन्नमस्ता गाउँपालिका– ७ का ठेकेदार रमेश यादवले ४५ वर्षीय बुधुलाई भारतको जमुनानगरस्थित प्लाइउड कम्पनीमा मजदुरी गर्न लगेका थिए। पाँच दिनपछि १४ वैशाखमा खाना खाने विषयमा विवाद भएपछि ठेकेदार यादवसहित चारजनाले बुधु सदामाथि निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका बुधुको अवस्था चिन्ताजनक बनेपछि ठेकेदार यादवले बुधुलाई गाडीमा हालेर नेपाल–भारत सीमा ल्याई छाडेर भारत फर्के। त्यसअघि ठेकेदार यादवले बुधुको मानसिक अवस्था बिग्रिएको भन्दै परिवारलाई फोन गरेर जानकारी गराएका थिए। मानसिक सन्तुलन गुमाएपछि गाडीको सीसा फुटाइदिएको र आफूले कोठामा ल्याएर थुनेर राखेको भन्दै रमेश यादवले बुधुका छोरालाई फोनमा भनेका थिए। बुधुलाई नेपाल ल्याउनुअघि नै रमेश १५ वैशाखमै नेपालस्थित उनको घरमा आएर भोटर लिस्टमा भएको बुधुको फोटो खिचेर भारत गएका थिए। उनले प्रमिलालाई ‘तपाईंको श्रीमान् घर पठाउन सजिलो हुन्छ’ भन्दै फोटो खिचेर गएका थिए।

जिल्ला प्रहरी कार्यालयमा बुधु सदाकी पत्नी प्रमिला सदाले जाहेरी दिए पनि प्रहरीले अहिलेसम्म दर्ता गरेको छैन। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले पोस्टमार्टमको रिपाेर्टमा मृत्युको कारण नखुलेका कारणले मुद्दा दर्ता नगरिएको बताए। उनले भने, ‘भिसेरा परीक्षण गर्न पठाएका छौँ, त्यसको  रिपाेर्ट आउनेबित्तिकै हामी कारबाही प्रक्रिया अघि बढाउँछौँ ।’

प्रमिला सदाले केही जनप्रतिनिधिहरू नै आएर चार लाख रुपैयाँ लिएर जाहेरी फिर्ता लिन दबाब दिइरहेको बताइन्। 
 

ad
ad