मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फरिद जकारिया
२०७८ श्रावण २४ आइतबार १०:३२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

‘शीत–शान्ति’ : अमेरिका–चीनबीचको प्रतिद्वन्द्विता 

Read Time : > 2 मिनेट
फरिद जकारिया
२०७८ श्रावण २४ आइतबार १०:३२:००

अमेरिका र चीनबीचको द्वन्द्व शीतयुद्ध होइन, यो धेरै नै जटिल अवस्था हो, अर्थात् यो ‘शीत–शान्ति’ हो 

अमेरिका र चीनबीचको तनाव उल्लेखनीय रूपमा बढेको छ । पूर्वराष्ट्रपति ट्रम्पले चीनमाथि लगाएका शुल्क दर यथावत् छन् । अमेरिकी कम्पनीलाई रकम अनुदान दिँदै गर्दा वासिंगटन चिनियाँ प्रविधिको फैलावट रोक्न उद्यत छ । आफ्नो देशमा दीर्घकालीन पर्न सक्ने चीनको प्रभावलाई नियन्त्रण गर्ने प्रयासमा अमेरिका लागिपरेको छ । यो स्थितिमा अमेरिका र चीनबीचको व्यापारमा गिरावट आएको कल्पना गरिए पनि यथार्थमा दुई मुलुकबीचको व्यापार हालसम्मकै उच्चतम बिन्दुमा रहेको छ । 

हामी बाँचिरहेको यो विचित्रको नयाँ संसारमा सबैलाई स्वागत छ । चीन र अमेरिकाबीच हरेक क्षेत्रमा कटुता बढ्दै गएको छ । यद्यपि वैश्विक अर्थतन्त्रमा दुवै मुलुकको परस्पर निर्भरताका आफ्नै आयाम छन् । तनाव बढिरहेको छ र व्यापार पनि बढिरहेको छ । अमेरिका मात्रै होइन, चीनको अस्ट्रेलियासँगको सम्बन्धमा पनि कटुता देख्न सकिन्छ । आक्रमण एवं प्रत्याक्रमणका सिलसिला जारी छन् ।

अघिल्लो वर्ष चीनले अस्ट्रेलियासँगका १४ गुनासा सार्वजनिक गरेको थियो र अस्ट्रेलियालाई ‘चीनलाई शत्रु’ नबनाउन चेतावनी पनि दिएको थियो । तैपनि, चिनियाँले कीर्तिमानी रूपमा अस्ट्रेलियाली वस्तु खरिद गरेका छन् । अहिलेको असाधारण शक्तिको प्रतिस्पर्धालाई ‘शीतयुद्ध’ शब्दले न्याय दिँदैन । शीतयुद्धका समयमा अमेरिका र सोभियत संघले हरेक वर्ष बढीमा केही अर्ब डलरको मात्रै व्यापार गर्थे । हाल चीन र अमेरिकाबीच हुने व्यापारमा शीतयुद्धकालीन समयभन्दा कैयौँ गुणा बढी व्यापार हुन्छ । तत्कालीन स्वतन्त्र विश्वको आर्थिक मानचित्रमा सोभियत संघको अस्तित्व नगण्य नै थियो ।

अमेरिका एक भिन्न मूल्य–मान्यता र अलोकतान्त्रिक व्यवस्था भएको तर सोभियत संघझैँ विभिन्न मुलुकमा आधिपत्य जमाइनसकेको चीनसँग सिँगौरी खेलिरहेको छ  

अत्यधिक नियन्त्रित कम्युनिस्ट क्षेत्रका मुलुक र विश्वका अन्य मुलुकसँग थोरबहुत व्यापार र भ्रमण हुने भएकाले मात्रै सोभियत संघ नगण्य रूपमा विश्व अर्थतन्त्रमा उपस्थित थियो । वास्तवमा सोभियत संघको अर्थतन्त्र तेल, ग्यास, निकेल, तामाजस्ता खनिज पदार्थमा निर्भर थियो । ठीकविपरीत चीन विश्व अर्थतन्त्रको अभिन्न हिस्सा हो । चीन अहिले संसारमा वस्तुको सबैभन्दा बढी निर्यात गर्ने मुलुक हो । बीस वर्षपहिले अधिकांश मुलुकले वस्तुको व्यापार चीनको तुलनामा अमेरिकासँग बढी गरेका थिए । हाल परिदृश्य उल्टेको छ । गत वर्ष चीनले अमेरिकाको स्थानमा युरोपेली मुलुकलाई वस्तु व्यापारमा सबैभन्दा ठूलो साझेदार बनायो ।       

चीनलाई आफ्नो आर्थिक वृद्धिका लागि अमेरिकी उपभोक्ताको आवश्यकता छ । त्यसैगरी जेनरल मोटर्स, एप्पलदेखि नाइकीजस्ता अमेरिकाका ठूला कम्पनीलाई चिनियाँ बजारको आवश्यकता छ । अमेरिकीलाई हरेक मालसामान सस्तो दरमा पाइने अवस्था ‘वालमार्ट प्रभाव’को श्रेय फेरि चीनलाई नै जान्छ । अमेरिकाले बढावा दिन खोजेको हरित अर्थतन्त्रमा पनि चिनियाँ प्रतिबिम्ब देख्न सकिन्छ । सबै ठाउँमा प्रयोगमा आइरहेका सोलार प्यानल निकै सस्तो हुनुको कारण चिनियाँ निर्माण हो । हाल अमेरिकाले चीनसँग करिब १० खर्ब अमेरिकी डलरको ऋणभार बोकिरहेको छ । अमेरिकाले यी जटिलताको सम्बन्धलाई प्रतिबिम्ब गर्ने रणनीति बनाउन आवश्यक छ, जहाँ चीन प्रतिस्पर्धी, ग्राहक र शत्रु सबै हो ।

यस मामिलामा मानवअधिकारलगायत मुद्दामा चीनविरुद्ध अमेरिकी साझेदार मुलुकलाई एक ठाउँमा ल्याएर बाइडेन प्रशासनले थोरबहुत राम्रो काम गरेको छ । यद्यपि ती अमेरिकी साझेदार मुलुकले चीनसँग निकट आर्थिक सम्बन्ध गाँसेको असहज यथार्थलाई बाइडेन प्रशासनले सामना गर्नुपरेको छ । एसियाको सन्दर्भमा चीन अधिकांश मुलुकको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । साझेदार मुलुकहरू चीनसँग बलियो व्यापारिक सम्बन्ध राख्न चाहन्छन् भने र अमेरिकासँग बलियो भूराजनीतिक सम्बन्ध पनि कायम राखिराख्न चाहन्छन् । यी साझेदार मुलुकलाई चीनसँगको आर्थिक सम्बन्ध र अमेरिकासँगको भूराजनीतिक सम्बन्धमा एउटा छान्न बाध्य पारियो भने समाधानभन्दा समस्या थप बढ्ने देखिन्छ । 

सूक्ष्म रूपमा हेर्ने हो भने शक्तिशाली भए पनि चीनले विश्वमाथि नियन्त्रण गरिरहेको छैन । विश्वमा दबदबा कायम गर्न चीनले ठोस चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । बेइजिङको ‘एक बच्चा’ नीतिको बिरासतका कारण दबदबाको सम्भावना दिनानुदिन खिइँदै गइरहेको छ । चीनले हालसम्म पनि आफूलाई धनी मुलुक हुन खोज्ने मुलुकले सामना गरिरहेको ‘मध्यम आयको पासो’बाट जोगिने उपाय ल्याएको छैन । चिनियाँ राष्ट्रपति सी जिनपिङले राज्यका क्षेत्रहरूलाई प्रोत्साहन गरिरहेका छन् भने निजी क्षेत्रहरूलाई थप नियमन गरिरहेका छन् ।

चीनको आक्रामक विदेश नीति प्रत्युत्पादक ठहरिँदै छ । भारत, अस्ट्रेलिया, जापानलगायत चीनका ठूला छिमेकीबाट प्रतिक्षेप भोगिरहेको छ । अघिल्लो साता रद्द गर्ने भनिएको अमेरिकासँगको रक्षा सम्झौता फिलिपिन्सले फेरि ब्युँताएको छ । के वासिंगटन यी जटिल चुनौतीलाई सामना गर्ने सामथ्र्य राख्छ ? अमेरिका यस्तो आर्थिक शक्तिसँग सामना गरिरहेको छ, जुन जापान वा जर्मनीजस्तो आर्थिक शक्ति होइन, अर्थात् चीन सुरक्षाका लागि अमेरिकासँग निर्भर छैन । अमेरिका एक भिन्न मूल्य–मान्यता र अलोकतान्त्रिक व्यवस्था भएको तर सोभियत संघझैँ विभिन्न मुलुकमा आधिपत्य जमाइनसकेको चीनसँग सिँगौरी खेलिरहेको छ । यो शीतयुद्ध होइन, यो धेरै नै जटिल अवस्था हो, अर्थात् शीत–शान्ति हो । 

(जकारिया वरिष्ठ पत्रकार एवं विश्लेषक हुन्) 
द वासिंगटन पोस्टबाट