मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक १ सोमबार
  • Monday, 18 October, 2021
दार्चुला सदरमुकाम खलंगाबाट सेनाको हेलिकोप्टरमा व्याँस गाउँपालिका–२ मालगाउँस्थित जयसिंह धामीको घर जाँदै सरकारी छानबिन टोली
२०७८ श्रावण २३ शनिबार ०६:५४:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दार्चुला घटना : छानबिन टोली धामीको घरमा, दोषी एसएसबीलाई कारबाही  र क्षतिपूर्ति दिन परिवारको माग

Read Time : > 3 मिनेट
२०७८ श्रावण २३ शनिबार ०६:५४:००

एसएसबीले तुइनको डोरी फुकाइदिएपछि जयसिंह धामी बेपत्ता भएको घटना छानबिन गर्न बनाइएको सरकारी टोली शुक्रबार हेलिकोप्टरमा व्याँस गाउँपालिका– २ मालगाउँ गएको छ । टोलीले तुइन राखिएको नेपालपट्टिको भाग अवलोकन गर्नुका साथै पीडित परिवारसँग भेट गरेको छ । 

टोलीले घरमै आएर पारिवारिक अवस्थादेखि वारिपारि (नेपाल–भारत)को सम्बन्धलगायत विषयमा जिज्ञासा राखेको बेपत्ता जयसिंहका भाइ नरेन्द्रसिंह धामीले बताए । ‘सरकारी टोली घरमै आएर सोधपुछ गर्दा हामीलाई पनि अनुसन्धान राम्रो गर्लान् कि भन्ने आशा पलाएको छ,’ उनले भने । 

सरकारी टोली घरमा पुग्दा पीडित परिवारमा रुवाबासी चलेको थियो । बेपत्ता जयसिंहकी पत्नी राजन्ती भक्कानिएकी थिइन् । उनीहरूले दोषीमाथि कडा कारबाही हुनुपर्ने र आफूहरूले न्याय पाउने माग राखेका छन् । ‘भाउजूले श्रीमान्लाई महाकालीमा बेपत्ता बनाउने एसएसबीमाथि कडा कारबाही हुनुपर्छ भनेर भन्नुभयो । नाबालक छोराछोरीको पालनपोषण र शिक्षादीक्षाबारे पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो,’ नरेन्द्रसिंहले भने । 

जयसिंह बेपत्ता भएको चार–पाँच दिनसम्म केही नखाएकी राजन्ती अहिले थोरै खान थालेकी छिन् । घरमा सान्त्वना दिन छिमेकी र इष्टमित्र आउने क्रम जारी छ । ‘मान्छे देख्नेबित्तिकै रोइहाल्छिन्,’ बेपत्ता जयसिंहका दाइ हरकसिंह धामीले भने ।

मालगाउँ पुगेको सरकारी टोली दुई समूहमा बाँडिएको थियो । समितिका संयोजक सहसचिव जनार्दन गौतम र नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेशका एआइजी पुरुषोत्तम कँडेलले जयसिंहको घर पुगेर परिवारसँग भेटघाट गरेका थिए । त्यस्तै, समितिका सदस्य राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्रका एसएसपी सुरेशकुमार श्रेष्ठको टोलीले घटनास्थलको निरीक्षण गरेको थियो । समितिकी सदस्य एवं दार्चुलाका सहायक सिडिओ ज्योत्सना भट्ट जोशी भने हेलिकोप्टरमा ठाउँ नभएपछि मालगाउँ जान सकिनन् । 

टोलीले बिहीबार एसएसबीको सुरक्षामा भारतपट्टि तुइन लगाएको ठाउँको निरीक्षण गरेको थियो । सरकारी टोली भारतपट्टि निरीक्षण गरिरहँदा नेपालपट्टि पीडितको कुरा सुन्न गाउँमै आउन माग गर्दै स्थानीयले नाराबाजी गरेका थिए । त्यसअघि छानबिन टोलीले घटनाका प्रत्यक्षदर्शी कल्यानसिंह धामी, विक्रम रंकोली र अनिता धामीसँग सदरमुकाम खलंगामै बयान लिएको थियो । गत १५ साउनमा खलंगा आउने क्रममा तुइन तर्दै गर्दा एसएसबीले डोरी फुकाइदिँदा जयसिंह धामी महाकालीमा बेपत्ता भएका थिए । 

पीडित परिवारलाई आर्थिक सहयोग 
बेपत्ता जयसिंह धामीको परिवारलाई शुक्रबारसम्म विभिन्न निकाय र व्यक्तिबाट ४१ हजार रुपैयाँ आर्थिक सहयोग भएको छ । शुक्रबार सरकारी छानबिन टोलीका संयोजक सहसचिव जनार्दन गौतमले पीडित परिवारलाई १० हजार सहयोग गरेका छन् । त्यस्तै, व्याँस गाउँपालिकाले २५ हजार, विप्लव नेतृत्वको नेकपा माओवादीका जिल्ला सचिव भरत मल्लले पाँच हजार र सशस्त्र प्रहरीका नरेन्द्र बडालले एक हजार सहयोग गरेका छन् । बेपत्ता धामीका एक छोरा, एक छोरी र श्रीमती छन् ।

एसएसबीविरुद्ध नबोल्न प्रत्यक्षदर्शी कल्यानसिंह धामीलाई धम्की : ‘अब भारतको बाटो हिँड्ने कि नहिँड्ने ? त्यो दिन एसएसबीलाई गस्ती आएको देखेकै छैन भन्नू’ 

घटना भएको दिनदेखि फोन आएर झन् धेरै तनाव भएको छ । दिमागले काम नगर्ने, सोच्नै नसकिने भएको छु । हिजो (बिहीबार) खलंगाबाट बयान दिएर घर फर्केपछि त मोबाइल नै अफ गरेँ । गएको वैशाखमा मैले महाकालीमा तुइन लगाएको २१ वर्ष भयो । तुइनका तार पनि वैशाखमा फेरेको थिएँ । चारपाने फलामे लट्ठामा दुई–चार क्विन्टल सामान वारपार गर्दा पनि केही हुँदैन, तार बलियो हुन्छ । भारतपट्टि टुडीको रूखमा र वारि नेपालतिर काठको बलियो खाँबोमा डोरी बाँधिएको थियो ।

घटना भएको दिन १५ साउनको बिहान सुरुमा चारजना तुइन तरेका थिए । तरिसकेपछि माथि बाटोमा पुग्न थोरै उकालो हिँड्नपर्छ । उनीहरू माथि उकालो काट्दै थिए, त्यहाँबाट तल तुइन तर्ने ठाउँ देखिँदैन । वारि जयसिंह धामी, विक्रम रंकोली र अनिता धामी गरी तीनजना तर्न बाँकी थिए । त्यहीवेला एसएसबीका दुई जवान माथि बाटोबाट तल तुइन बाँधिएको ठाउँतिर आउँदै गरेको देख्यौँ । उनीहरू तुइनको डोरी चुँडाल्न आएको हाम्रो अनुमान थियो । त्यसैले वारिबाट ‘एकछिन नफुइदिनुस्, फुकाल्ने नै भए पनि तीनजना तरेपछि फुकालिदिनुहोला’ भनेर आग्रह गर्‍यौँ । 

एसएसबीको एक जवान तुइन बाँधिएको रूखभन्दा माथि नै थियो, अर्को तल आयो । जयसिंह त्यही वेला तुइन तरे । ‘पारि गएर म एसएसबीलाई आग्रह गर्छु’ भनेको थियो उसले । तर, ऊ तुइन तर्न थालेपछि एसएसबीको जवानले रूखमा बेरिएको डोरीमा हात लगाउन थाल्यो । जयसिंह पारि पुग्न एक–डेढ मिटर बाँकी छँदै डोरी फुकालिदियो । आँखैअगाडि जयसिंह महाकालीमा खसे र बेपत्ता भए । नदीमा भारततिरको नदीमा खसेका कारण उनलाई बचाउन हामीले केही गर्न सक्ने अवस्था पनि थिएन । 

जयसिंह बेपत्ता हुनुमा एसएसबीको दोष छ, यो कुरा म सुरुदेखि नै भनिरहेको छु । हिजो (बिहीबार) छानबिन समितिको बयानमा पनि त्यही भनेको छु । हामी तीनैजना प्रत्यक्षदर्शीको लगभग एउटै बयान छ । आँखाले देखेको एसएसबीको गल्तीलाई किन छुपाउने ? 

तुइनको डोरी फुकाउने एसएसबीका आफन्तहरूले फोन गरेर धम्की दिइरहेका छन् । ‘अब भारतीय बाटो कहिल्यै नहिँड्ने हो ? कि हिँड्ने हो’ भनेर उनीहरू पारिबाट फोन गरिरहेका छन् । एसएसबीलाई बचाउन निरन्तर फोनमार्फत धम्की आउन थालेपछि मोबाइल नै बन्द गर्ने गरेको छु । यसरी धम्की दिने एसएसबीका आफन्त हुन्, कोही–कोही हाम्रो पनि आफन्त पर्छन् । उनीहरूले ‘एसएसबीलाई बचाइदिनुपर्‍यो, त्यो दिन हामीले उनीहरूलाई गस्ती आएको देखेकै छैन’ भनेर बयान देऊ भन्छन् । तर, उनीहरूले धम्की दियो भन्दैमा म कुरो फेर्दिनँ । जे देखेको हुँ, सुरुदेखि त्यही बोल्दै आएको छु । छानबिन समितिलाई पनि त्यही बयान दिएँ । 

बरु भारतको बाटो नहिँडौँला, नेपालबाटै हिँडौँला । मर्नुपरे पनि बाँच्नुपरे पनि आफ्नो भूमि छँदै छ । आफ्नै आँखाअगाडि देखेको कुरालाई कसरी परिवर्तन गरूँ ? तुइनको तार काटिएको होइन, फुकालेको हो, हामीले बयानमा पनि भनेका छौँ । गत सोमबार बयानका लागि सदरमुकाम खलंगा लैजाँदा प्रहरी प्रशासनबाट कुनै दबाब महसुस भएन । सुरक्षित र एकान्त ठाउँमा राखे । जिल्ला प्रशासन कार्यालयमा तीनैजनालाई छुट्टाछुट्टै बोलाएर बयान लिए । हिजो घर पठाए ।