
राप्रपा अध्यक्ष कमल थापाले अहिले हिँडिरहेको मार्गबाट मुलुक शान्ति, स्थायित्व र समृद्धितर्फ नजाने जिकिर गर्दै वैकल्पिक मार्ग आवश्यक भएको बताएका छन् । पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको भर्चुअल बैठकलाई बुधबार सम्बोधन गर्दै थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विदेशीले बोकाइदिएको भारी भएको जिकिर गरे ।
नेपालको राष्ट्रिय राजनीतिमा राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित गराउने भन्दै थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्पमा राजासहितको प्रजातन्त्र, सनातन हिन्दूराष्ट्र र स्थानीय स्वायत्त शासनमा आधारित विकेन्द्रित शासन प्रणाली मुलुकको निमित्त आवश्यक भएको दाबी गरे ।
स्पष्ट विचार र अलग पहिचान स्थापित गर्न लागिपरेका सिद्धान्तनिष्ठ नेता तथा कार्यकर्ता पार्टीको पुँजी भएको भन्दै थापाले इमानदारितापूर्वक निर्वाचन केन्द्रित हुन आग्रह गरे ।
विदेशी हस्तक्षेप र प्रभावलाई रोक्न स्वाधीनताको रक्षाको निमित्त राप्रपा बलियो हुन अपरिहार्य भएको थापाको तर्क थियो । भर्चुअल बैठकमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला अध्यक्षहरूको सहभागिता रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।