१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका सिन्धुपाल्चोक
२०७८ श्रावण २० बुधबार ०६:४१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उच्च जोखिमका घरमा बस्ने तयारी नगर्न मेलम्ची नगरपालिकाको अपिल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, सिन्धुपाल्चोक
२०७८ श्रावण २० बुधबार ०६:४१:००

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको वेला समेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको वेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । गत असार १ गतेदेखि नै नगरपालिकाको सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रणदेखि बस्ती जोगाउनसम्म अथक प्रयास गरेको नगरपालिकाद्वारा मंगलबार  जारी अपिलमा भनिएको छ । 

वेलैमा सूचना आएकाले मानवीय क्षति हुन नपाएको भन्दै नगरपालिकाले खुसी व्यक्त गरेको छ । तत्कालका लागि सामूहिक रूपमा वासस्थानको व्यवस्था गरेको नगरपालिकाले १५ दिनसम्म इन्द्रेश्वरी माध्यमिक विद्यालयमा प्रभावितहरूलाई बासको व्यवस्था गरेको बताएको छ । ग्यास, चुलो, ओछ्याउने, भाँडाकुँडा र रासनसमेतको व्यवस्था गरी इच्छाएको सुरक्षित ठाउँमा स्थानान्तरण गर्न नगरपालिकाले भूमिका निर्वाह गरेको नगरप्रमुख डम्बर अर्यालले जानकारी दिए । साथै कुपनको व्यवस्था गरी एक महिनाका लागि खाद्यान्न वितरण गर्ने काम भएको उनले बताए । 

पहिरोको माथिल्लो भेगको अवस्थाको मूल्यांकन गर्दै सम्बन्धित विषय विज्ञहरूको निरन्तर सल्लाह र सुझाबबमोजिम तल्लो तटीय क्षेत्रमा नदीको कटान रोकी क्षति न्यूनीकरण गर्ने काममा नगरपालिका निरन्तर लागिरहेको अपिलमा उल्लेख गरिएको छ । हालसम्म नगरपालिकामार्फत एक हजार दुई सय ७८ थान ग्याविन बक्स, चार सय ७८ टिप ढुंगा, सातवटा मेसिन लगातार एक महिनासम्म खोलामा आवश्यकताका आधारमा प्रयोग एवं परिचालन गरिएको नगरपालिकाले जनाएको छ । यस कार्यमा भएका खर्चहरू नगरपालिकाले अहिलेसम्म आफ्नो वेबसाइटमा सार्वजानिक गर्दै आएको अर्यालले बताए ।

बाढी प्रभावितहरूको सम्पूर्ण विवरण संकलन गरी नगर कार्यपालिकाको निर्णयानुसार प्रभावितहरूको वर्ग छुट्याएर रु. २५ हजार, रु. २० हजार, रु. १५ हजार र रु. १० हजारका दरले तत्कालका लागि प्रभावितहरूको बैंक खातामा जम्मा गर्ने कार्य सुरु भइसकेको जनाएको छ । अस्थायी आवास निर्माणका लागि नेपाल सरकारबाट प्राप्त हुने रु. ५० हजार सम्झौता गरी प्रभावितहरूलाई वितरण गर्ने तयारी भइरहेको भन्दै नगर प्रमुख अर्यालले पुनर्निर्माणका लागि प्राप्त हुने रु. पाँच लाख र बसोवासयोग्य जग्गा नहुनेका लागि थप रु. तीन लाखसमेत प्राप्त हुने सुनिश्चित भइसकेको बताए ।

प्रदेश सरकार, केन्द्र सरकार र सरोकारवाला निकायसँगको समन्वय र नगरपालिकाको आन्तरिक स्रोतको अधिकतम उपयोग गर्दै नगरपालिकाले आफ्नोतर्फबाट गर्नुपर्ने सम्पूर्ण काम गरिरहेको र गरिरहने प्रतिबद्धतासमेत नगर प्रमुख अर्यालद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ । प्रभावितको राहत तथा उद्धारका लागि नगरपालिका व्यक्ति, संघसंस्था, समूहसँग जतिवेला पनि छलफलका लागि तयार रहेको उल्लेख गरिएको छ ।