१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण १९ मंगलबार ०८:४२:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सीमामा एसएसबीका अनगन्ती ज्यादती

Read Time : > 5 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण १९ मंगलबार ०८:४२:००

भारतीय सुरक्षाकर्मीले गरेका ज्यादतीका घटनाहरू

कञ्चनपुर

 २३ फागुन २०७३ : बेलौरी नगरपालिका– १०, भुडाका स्थानीय मजदुर कृष्ण रानालाई कुटपिट । 

२६ फागुन २०७३ :गोली प्रहार गरी पुनर्वास नगरपालिका– ४, का गोविन्द गौतमको हत्या । 

१० चैत २०७३ : भीमदत्त नगरपालिका– ९, ब्रह्मदेवका स्थानीय प्रेमसिंह नायक, केशवसिंह नायक, वीरसिंह ठगुन्ना, ठगुन्नाकी धर्मपत्नी कलापति ठगुन्ना र उनका छोरा हिक्मतसिंह ठगुन्नालाई कुटपिट । 

वैशाख २०७५ : पुनर्वास नगरपालिका– ९, बीचफाँटामा लगाएको तारबार उखेलिदिएको । नेपालको प्यारातालमा नेपाल पक्षबाट ठेक्का दिँदासमेत भारतीय वन विभागले एसएसबीको आडमा आधा माछा लिने गरेको । 

जेठ २०७५ पहिलो साता  : बेलौरी नगरपालिका– १०, भुडाका स्थानीय किसान खेमराज पन्तलाई खेती लगाउनबाट रोकेको । 

९ असार २०७५ : हतियारसहित आएका एसएसबीले पुनर्वास नगरपालिका– ८, पचुईमा हुलाकी सडक निर्माणमा अवरोध । त्यसयता चारपटक आएर हुलाकी सडकको काम अगाडि नबढाउन धम्की ।

चैत २०७६ : भीमदत्त नगरपालिका– ९, ब्रह्मदेवमा मुक्तहलियाका चार परिवारको घर निर्माण गर्दा अवरोध गरेको । 

असार २०७७ : ब्रह्मदेवमै सिद्धनाथ सामुदायिक वनले आफ्नै क्षेत्रमा वृक्षरोपण गर्दासमेत अवरोध गरेको । एसएसबीका अवरोधका बीच सामुदायिक वनले वृक्षरोपण गरेको थियो । २०७६ मै त्यहाँ नेपालतर्फको सडक र जेठ ०७८ मा कल्भर्ट निर्माणमा अवरोध गरेको ।

साउन २०७७ : हतियारसहित फिल्म शैलीमा आएर हुलाकी सडक अवरोध गरेको । बेलौरी नगरपालिका– १, फटैयाका स्थानीय मानबहादुर सुनार र कर्ण सुनारलाई लालपुर्जा भएको जमिन दुई दशकदेखि उपभोग गर्न नदिएको ।

२०७७ : बेलौरी– १०, मा सडकघाट क्षेत्रमा किसानलाई खेती भित्र्याउन अवरोध गरेको । 

कैलाली

चैत २०७३ : भारतको जंगलमा भैँसी चराएको निहुँमा कैलारी गाउँपालिका– ७, का तुलाराम चौधरीलाई पक्राउ गरी ५० हजार भारु जरिवाना तिराएर छोडेको ।
कार्तिक–मंसिर २०७४ मा दशगजामा विवाद हुँदा भजनी नगरपालिका– ३, मा स्थानीयको करिब १० बिघा जमिनमा ट्र्याक्टरद्वारा खनजोत गरेको । 

२०७५ माघ : धनगढीसँगै जोडिएको कञ्चनपुरको पुनर्वास– ११, डोकेबजारस्थित दशगजानजिक अन्तर्राष्ट्रिय मान्यताविपरीत नेपालसँग समन्वय नगरी भारतको वन विभागले एसएसबी खटाएर ट्रेन्च निर्माण गरेको ।

२०७७ माघ : कैलारी गाउँपालिकाको सीमावर्ती बस्ती शिवरत्नपुरमा तारबार गर्न सिमेन्टका पोल लिएर गएको ट्र्याक्टर नेपालको सिमानास्थित मोहना नदीबाट नियन्त्रणमा लिएको । जनप्रतिनिधि र सुरक्षा निकायको समन्वयपछि छोडेको ।

- मोहना नदीमा माछा मार्न गएका कैलारी– ३, का हिरामणि चौधरी, जालुराम चौधरी, जंगबहादुर चौधरीसहित पाँचजनालाई नियन्त्रणमा लिएको । करिब १०–११ वर्षअघिको यो घटनामा उनीहरूलाई जनही आठ–आठ हजार भारु तिराएर छोडेको ।

दाङ

११ साउन : २०७१ भारतसँग सिमाना जोडिएको राजपुर गाउँपालिका वडा नम्बर– ७ स्थित भैसाही नाकामा भारतीय एसएसबीका जवानहरूबाट चौकीमै आएर नेपाली प्रहरीमाथि कुटपिट । कुटपिटबाट तत्कालीन प्रहरी हवल्दार हरिबहादुर बुढाथोकी र एक प्रहरी जवान घाइते । 

चितवन

माडी चितवनमा रहेको सोमेश्वर गढीमा हरेक चैतेदसैँमा लाग्ने मेलामा भारतीय फोर्स हतियारसहित नेपाल प्रवेश गर्ने गरेका छन् । त्यस समय नेपालीलाई फोटो खिच्नसमेत रोक लगाएको । 

पर्सा

- भारतीय सुरक्षा फौजको अवरोधले निर्माण भएको दुई वर्षसम्म सञ्चालन गर्न नसकिएको पर्सा ठोरीको ठुटेखोलाको पुल सञ्चालनमा १५ जेठ २०७७ मा भारतीयले अवरोध गर्दा विवाद ।

- त्यसको अघिल्लो दिन जनप्रतिनिधिको पहलमा सञ्चालन गरिएकोमा भारतबाट हतियारसहित बर्दीमा नेपाली भूमिमा छिरेका भारतीय सुरक्षाकर्मीले पुल सञ्चालनमा अवरोध ।

- २०६८ मै उक्त पुल बनाउन एसएसबीले अवरोध सिर्जना गरेको थियो । नेपाल भारतको संयुक्त सीमा सर्भे टोलीले २०७२ मा सर्वेक्षण गरी सीमास्तम्भ राखेपछि पुल निर्माणको काम सुरु भएको थियो । 

- १२ साउन २०७२ : नेपाली भूमिबाट बगेको कुलो भारतीयले जबर्जस्ती भत्काइदिएपछि पर्साको ठोरीमा नेपाली र भारतीयबीच झडप हुँदा नेपाल प्रहरीका जवानसहित चारजना नेपाली गम्भीर घाइते । 

- असार २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले रामको जन्मभूमि पर्सास्थित ठोरी रहेको अभिव्यक्ति दिएपछि नेपाल र भारत सीमा छुट्याउन सीता गुफा रहेको सुमेरु पहाडमा गाडिएको ४३६ नम्बरको पिलर उखेलेर भारतीय भूभागमा फालिएको अवस्थामा भेटिएको ।
ठोरी गाउँपालिका– २ मा पर्ने सीतागुफा रहेको पहाडको शिरमा भेटिएको थियो ।

सिराहा

- नेपालतर्फको दसगजा मिचेर भन्सार चेकपोस्ट सञ्चालन गर्दै आएको भारतीय पक्षले माघ दोस्रो हप्ता २०७६ मा भगवानपुर गाउँपालिका– ४ मा सशस्त्रको ड्युटी पोस्टसमेत बनाउन नदिएपछि स्थानीय बासिन्दाबाट सीमाक्षेत्रमा नाराबाजी ।

- त्यसलगत्तै नेपाल–भारत सीमा सर्वेक्षण टोली नम्बर २ जलेश्वरका नेपाली सर्वेक्षक उमेशकुमार र भारतीय सर्वेक्षक मञ्जुल अमगार्इंले स्थलगत अनुगमन गरेपछि २१ माघ गतेदेखि पोस्ट निर्माण सुचारु ।

- फागुन पहिलो हप्ता २०७५ मा भारतीय पक्षले जबर्जस्ती स्वागतद्वार बनाउन जेसिभी प्रयोग गरी निर्माण कार्य थालेपछि ठाढीका बासिन्दाबाट ढुंगामुढा, यद्यपि त्यसको करिब महिना दिनपछि भारतीय पक्षबाट पुनः निर्माण ।

- कोरोना महामारी सुरु भएसँगै नाका बन्द भएपछि सीमाक्षेत्रमा जबर्जस्ती गर्न खोज्ने भारतीयहरूसँग पटक–पटक झडप, लकडाउनमा लुकीछिपी नेपाल प्रवेश रोक्न खोज्दा १ वैशाख २०७७ मा सिराहा नगरपालिका १९ सोहर्वा र १२ वैशाखमा सिराहा नगरपालिका १७ माडर नाकामा सशस्त्र प्रहरीसँग झडप । 

- १ वैशाख २०७७ मा सिराहा नगरपालिका १९ सोहर्वामा दूध लिएर नेपालतर्फ प्रवेश गर्न खोजेका एक भारतीयलाई सशस्त्र प्रहरीले रोकेपछि सीमापारिबाट आएको करिब २०–२५ जनाको समूहसँग झडप । 

- १२ वैशाखमा भारततिरबाट गहुँ झार्ने थ्रेसर जडान गरिएको ट्र्याक्टर लिएर माडर नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकलाई फर्काउन खोज्दा सशस्त्र प्रहरी बल आउटपोस्ट माडरमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षकको टाउकोमा ढुंगा लाग्दा घाइते । 

सुनसरी

 ९ मंसिर २०७२ सुनसरीको कोसी गाउँपालिका हरिपुर गाउँमा नेपाल–भारत दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागेर चारजना नेपाली अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते । नेपाली भूमिमा प्रवेश गरेर गोली चलाएको सुपौल वीरपुरस्थित तत्कालीन एसएसबी ४५ बिग्रेडका कमान्डरले स्वीकार गरेका थिए । यस घटनामा नेपाल सरकारले भारतसँग कारण माग्यो, तर कुनै जवाफ भारतले नेपाललाई दिएन । उनीहरूले कुनै क्षतिपूर्ति, उपचार खर्च पनि पाएनन् । 

- नेपाली भूभागमा प्रवेश गरी गोली प्रहार गर्ने तत्कालीन सुपौल जिल्लाको शैलेशपुर प्रहरी बिटका विकान्त सारावतसहित ६ जनाको समूहविरुद्ध कारबाहीको माग राखेर सुनसरी प्रशासनमा किटानी जाहेरी दिए पनि गोली प्रहार गर्नेहरूविरुद्ध कुनै कानुनी कारबाही भएन । 

- सुनसरीको भन्टाबारीआसपासका क्षेत्रमा बसोवास गर्दै आएका नेपालीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गाउँ छाड्न धम्की दिँदै आएको छ । सुनसरीको कोसी गाउँपालिकास्थित हरिपुर, श्रीपुर सीमाक्षेत्रका गाउँमा बस्दै आएका नेपालीलाई भारतीय सुरक्षाकर्मीले सीमास्तम्भ सारेर भारतीय भूमिमा बसोवास गरेको भन्दै नेपालीलाई वास उठाउने धम्की दिने क्रम निरन्तर छ । 

मोरङ
- २२ असार २०७२ मोरङको विराटनगरसँग सिमाना जोडिएको भारतीय जोगबनी बजारबाट साइकलमा खाना पकाउने ग्यास लिएर आउँदै गरेका विराटनगर– २२ का ४५ वर्षका युसुुफ मियाँलाई पैसा माग्दा नदिएपछि एसएसबीका जवानले कुटपिट गरेका थिए ।

- २०७४ मोरङको जहदा गाउँपालिका– १ स्थित भुटाहामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमि मिचेर दुई सय मिटर लामो बाटो बनाएको थियो । अनि दशगजामा बस्ती पनि बसाएको थियो । तर, स्थानीयले नेपाली भूमिमा जबर्जस्ती बाटो बनाएको भनेर सशक्त प्रतिवाद गरेपछि एसएसबी पछि हटेको थियो । 

- साउन २०७८  विराटनगर महानगरपालिका– १७ इस्लामपुरमा भारतीय बजार जोगबनीबाट बगेर आएको पानी निकास गर्नका लागि स्थानीयलाई आफ्नै नेपाली भूमिमा नाला निर्माण गर्न एसएबीद्वारा रोक । वर्षाको समयमा भारतीय बजार जोगबनीबाट नेपालतर्फ दशगजामा नाला निर्माण गरेर भारतले पठाएको पानीको डुबानबाट जोगिन विराटनगर महानगरपालिकाले इस्लामपुर बस्तीमा नाला निर्माण थालेको थियो । 

- मोरङको शनिश्चरेमा भारतीय सीमावर्ती सिक्टी थानाका प्रहरी आएर एक नेपालीलाई पेस्तोल देखाएर मोटरसाइकलमा राखी अपहरणको प्रयास स्थानीयको प्रतिकारमा विफल ।

- सात वर्षअगाडि मोरङको रंगेली क्षेत्रमा भारतीय प्रहरीहरूले नेपालभित्र आएर कुटपिट ।

- १ जेठ २०६७ साँझ ९ बजे भारत अररिया जिल्ला कुवाडी थानाअन्तर्गत पर्ने गरैया गाउँस्थित लैलोखर बेस क्याम्पबाट सादा पोसाकमा हतियारसहित साँझ नेपाल छिरेका एसएबीका इन्स्पेक्टर हितेन्द्र सिंह र अर्का एकजना जवान नेपाल छिरे । उनीहरूले  मोरङको अमाहिवरियाती चौकीका हवल्दार शम्भु चौधरीसँग झगडा गर्दै उनको हत्या गर्ने प्रयास गरे । 

- झगडा छुट्याउन पुगेका दशगजा क्षेत्रमा बस्दै आएका धनपालथान गाउँपालिका– २ का ५५ वर्षीय वासुदेव साहमाथि भारतीय सुरक्षाकर्मीले रिस पोख्दै गोली हाने । स्थानीय समाजसेवीका रूपमा पनि चिनिएका सामान्य जनमन गरी आफ्नो परिवार पाल्दै आएका साह एसएसबीको गोलीबाट घटनास्थलमै मारिएका थिए ।

झापा

- झापाको पाठामारीमा नेपाली भूमिमा बस्दै आएका नेपालीलाई सात वर्षअघि एसएसबीले वासस्थान छाडेर जान २४ घन्टे धम्की दिएको । पछि नेपालले त्यो स्थानमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल राखेपछि अवस्थामा सुधार । 

- २०७२ मा भारतले अघोषित रूपमा नेपालमा नाकाबन्दी लगाएको समयमा नाकामा पुगेका झापाको भद्रपुरस्थित पृथ्वीनगरका स्थानीयलाई पेट्रोल तथा मट्टीतेल तस्करी गरेको आरोपमा एसएसबीले नेपाल प्रवेश गरेर सास्ती दियो । स्थानीयलाई पछ्याउँदै आएको एसएसबीले घर–घरमा गएर दुव्र्यवहार गरेपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भारतलाई बुझाएको थियो । 

इलाम

- नेपाली जमिन मिचेर सूर्योदय नगरपालिका– २ पशुपतिनगरमा भारतले पाँच वर्षअघि दशगजा मिचेर गुम्बा निर्माण, तर नेपाली जमिनभित्रै सन्दकपुर र माई–जोगमाई गाउँपालिकाको तुम्लिङमा भ्युटावर बनाउन खोज्दा भारतले भ्युटावर बनाउन दिएन । 

- इलामको सन्दकपुर गाउँपालिका– ५ कैयाकट्टामा दशगजाभन्दा ४५ मिटरभित्र स्थानीय यादिकी शेर्पालाई घर बनाउनसमेत भारतीय सीमासुरक्षा बलले रोक्यो । त्यसबारेको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि एसएसबी पछि हट्यो । 

- इलामको पूर्वी सिमानामा २० रोपनीभन्दा बढी नेपाली भूभाग भारतले हडपेको अनुमान ।