१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार o६:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

डेढ करोड खोप खरिद प्रक्रिया अघि बढ्यो : असोज अन्त्यसम्म दुई करोड डोज खोप आपूर्ति हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o६:४o:oo

सरकारले कोभिडविरुद्धको खोप खरिद प्रक्रियालाई तीव्र बनाएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डेढ करोड डोज खोप खरिद प्रक्रिया सुरु भएको जानकारी दिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक सय दिनको कार्ययोजना सार्वजनिक गर्दै उनले असोज अन्तिमसम्म थप दुई करोड डोज खोप आपूर्ति हुने बताए । 

वयस्क तथा किशोर–किशोरीसमेतलाई लक्षित गरी मोडेर्ना खोप ४० लाख र जोन्सन एन्ड जोन्सन खोप ५० लाख, फाइजर ४० लाख र एस्ट्राजेनिका २० लाख गरी कुल एक करोड ५० लाख मात्रा खरिद प्रक्रिया सुरु भइसकेको मन्त्री श्रेष्ठले जानकारी दिए । फाइजरको थप ६० लाख किन्ने विषय भने खरिद प्रक्रियाकै चरणमा भएको उनले बताए ।

मन्त्री श्रेष्ठका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत एक करोड १३ लाख, कोभ्याक्सको लागत सहभागितामा एक करोड ५० लाख खरिद गर्ने तयारी भएको छ । जसमध्ये ४० लाखको भुक्तानी भइसकेको र एक करोड १० लाखको भुक्तानी प्रक्रियामा रहेको मन्त्री श्रेष्ठले बताए । बालबालिका लक्षित गरी फाइजरको ६० लाख खोप गरी तीन करोड २३ लाख डोज खोप खरिद प्रक्रियामा रहेको उनको भनाइ छ । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठका अनुसार नेपाललाई जम्मा पाँच करोड २३ लाख खोप प्राप्त हुने अवस्था छ । उनले एकतिहाइ नागरिकलाई असोज मसान्त र सम्पूर्ण नेपाली नागरिकलाई चैत मसान्तसम्म खोप लगाइसक्ने आफ्नो सर्वोच्च प्राथमिकता रहेको बताए ।

चाँडै कोभिसिल्डको दोस्रो डोज लगाइने
सरकारले पहिलो चरणमा कोभिसिल्ड खोप लगाएका १३ लाख ४८ हजार नागरिकलाई जापान सरकारको अनुदानमा प्राप्त हुन लागेको एस्ट्राजेनेका खोप लगाउने भएको छ । केही दिनभित्रै जापानबाट एस्ट्राजेनेका खोप आउनेछ । मन्त्री श्रेष्ठले आर्थिक गतिविधिका दृष्टिले महत्वपूर्ण र बढी आवागमन हुने र जनसांख्यिक चाप रहेका प्रमुख सहरी केन्द्रहरू काठमाडौं उपत्यका, बुटवल–भैरहवा, पोखरा, वीरगञ्ज, विराटनगर, धनगढी, नेपालगन्ज, सुर्खेत, जनकपुर, दमकलगायतका सहरमा प्रदेश तथा स्थानीय सरकारसँगसमेत परामर्श र समन्वय गरी खोप केन्द्र थप गर्ने र अझै सुलभ, व्यवस्थित र सरल ढंगले खोप वितरण गर्ने बताए । सोमबारसम्म ४१ लाख ६३ हजार २५१ जनाले पहिलो डोज र २० लाख २११ जनाले दोस्रो मात्रा खोप लगाएका छन् । 

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकारी सुविधा नलिने
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकारी सुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्रीको हैसियतमा सरकारबाट पाउने गाडी, इन्धन, आवास, तलबभत्तालगायतका कुनै पनि सुविधा नलिने उनले निर्णय गरेका हुन् । श्रेष्ठले सरकारले दिने सुविधामा सुरक्षा गार्ड मात्रै प्रयोग गर्ने र आफ्नै निजी गाडीमा हिँड्ने बताए । ‘स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि मैले आफ्नो व्यक्तिगत सम्पूर्ण व्यावसायिक संलग्नताबाट अलग हुने निर्णय गरेको छु । पदमा बहाल रहँदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार–व्यवसायमा म संलग्न हुनेछैन । हालसम्म म संलग्न हुँदै आएका व्यवसायको कार्यकारी तथा पदीय भूमिका कानुनी रूपमै त्याग गरिसकेको छु,’ उनले भने ।

ad
ad