मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज १ शुक्रबार
  • Friday, 17 September, 2021
२०७८ श्रावण १८ सोमबार १०:४५:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
२०७८ श्रावण १८ सोमबार १०:४५:००

शनिबार राति र आइतबार बिहान लगातार आएको मेलम्चीको बाढीले फेरी केही घर बगायो, खोला किनारका बस्तीमा कटान गर्‍यो । हेलम्बु जोड्ने एउटा मात्र पुल पनि बाढीले बगायो । असार पहिलो साता आएको बाढीले हेलम्बु र मेलम्ची क्षेत्रका बस्ती र खेतबारी बगाएर र पुरेर बिचल्ली पारेको थियो । कैयौँ मानिसको ज्यानसमेत जानेगरी आएको बाढीपहिरो त्यस क्षेत्रमा पचासौँ वर्षपछिको ठुलो थियो । त्यतिवेला पनि हेलम्बु क्षेत्रमा गएको पहिरोले खोला थुनिएर पछि खोलिँदा त्यस्तो बाढी आएको अनुमान गरिएको थियो ।

डेढ महिनापछि फेरि सोही प्रकृतिको घटना दोहोरिएको छ । मेलम्ची किनारका बस्तीका बासिन्दाहरू भयग्रस्त बनेका छन् । तत्काल राहत र उद्धार त जरुरी छ नै सँगै त्यस क्षेत्रका बस्तीको स्थायी स्थानान्तरणका लागि अहिले नै योजना बनाउनुपर्ने पनि देखिन्छ ।

नेपालमा बाढीपहिरो आउँदा त्यसबारे ठुलै चर्चा र घोषणा गर्ने तर केही दिनपछि बिर्सने रोग छ । यस्तो रोगका कारण धेरै ठाउँका बाढीपीडितहरू पुस्ता गलुन्जेल पीडितै रहनुपर्ने बाध्यता छ । अहिले त झन् यस्ता विषय राजनीतिक लाभहानिका कारण पनि कहिले चाहिनेभन्दा बढी सहयोग जुटेर त कहिले सबैको बेवास्तामा परेर पन्छिने पनि गर्छन् । तर, यतिवेला यस घटनासँग जोडिएर आउने अर्को महत्वपूर्ण पाटोबारे पनि उतिकै ध्यान जानु जरुरी छ ।

बाढीपहिरोबाट प्रभावित मेलम्चीमा तत्काल राहत र उद्धार त जरुरी छ नै, सँगै त्यस क्षेत्रका बस्तीको स्थायी स्थानान्तरणका लागि अहिले नै योजना बनाउनुपर्ने पनि देखिन्छ

मेलम्ची खोला केही पुस्तादेखि जुन थान्कोमा बगिरहेको थियो, त्यसले त्यहाँ बाढी पहिरोको जोखिम हुने र बस्ती सार्नुपर्ने दिन आउँछ भनेर कसैले पनि कल्पना गरेको थिएन । हेलम्बुका केही वडा अवश्य पनि पहिरोग्रस्त थिए तर तिनले खोलाको बहाबलाई नै ठुलो असर पारेका भने थिएनन् । तर, यसपालि अनपेक्षित रूपमा त्यहाँ विशाल पहिरो गएको छ ।

आइतबार विभिन्न माध्यमबाट सार्वजनिक भएका भिडियोहरूले पहाडका खोँचहरूमा गएका पहिरो र नदीले खोल्याएर बगाएको लेदोका दृश्य कहालीलाग्दा देखिन्छन् । यसबाट या त त्यस क्षेत्रको भूसतह कमजोर चट्टानले बनेको छ, या त भूकम्पले सो क्षेत्रको सतहभित्र चिराहरू पारेको छ भन्ने देखिन्छ । त्यस क्षेत्रमा यसअघि भूकम्पको समयमै भौगर्भिक अध्ययन भएको भए सम्भवतः अहिलेको संकटबारे पूर्वानुमान गर्न सकिने थियो ।

यता दुई साताअघि चीनको मध्यभागमा आएको विशाल बाढी, केही साताअघि जर्मनीलगायत युरोपेली भूभागमा आएको बाढी र भारतको पश्चिमी भागमा आएको बाढीले वर्षाको परम्परागत चरित्रमा परिवर्तन आएजस्तो देखाउँछन् । सबै ठाउँमा निकै छोटो समयमा औसतभन्दा अत्यन्त ठुलो वर्षा भएर अकल्पनीय रूपमा बाढी आउने गरेको छ ।

यो मौसम परिवर्तनका कारण उत्पन्न आसामान्य अवस्था हो भन्नेतिर जलवायु वैज्ञानिकहरूले संकेत गरेका छन् । यसैले, नेपाल सरकार र सरोकारवाला निकायहरूले मेलम्ची किनारका बस्तीहरूको स्थानान्तरण गर्न जसरी तत्काल ध्यान दिन जरुरी छ, सँगै मेलम्ची क्षेत्रलगायत सम्भावित जोखिमयुक्त क्षेत्रमा भौगर्भिक अध्ययन गरी पहिरोको सम्भावित रूप र त्यसबाट बच्ने उपायबारे निष्कर्षमा पुग्ने र पूर्वसतर्कता अपनाउनेबारे पनि ध्यान दिन ढिलो गर्नु हुँदैन ।