१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७८ श्रावण १८ सोमबार ०६:०६:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

हाइजम्पको स्वर्णपदक कतार र इटालीका खेलाडीलाई संयुक्त

Read Time : > 2 मिनेट
२०७८ श्रावण १८ सोमबार ०६:०६:००

कतारका मुताज इसान र इटालीका गिआमार्को ताम्बेरीले ओलम्पिक खेलकुद प्रतियोगिताको इतिहासमा पहिलोपटक स्वर्णपदक बाँडेर लिएका छन् । ओलम्पिकअन्तर्गत आइतबार हाइजम्पमा दुवै खेलाडीले अन्तिम चरणमा असफल जम्प गरेका थिए । दुवैले समान २.३७ मिटर जम्प गरेका थिए । आयोजक र अफिसियलले दुवैलाई अन्तिम प्रयास गर्न भनेका थिए । तर, कतारका खेलाडी मुताजले इटालीका गिआमार्कोसँग संयुक्त रूपमा स्वर्णपदक बाँडेर लिने प्रस्ताव राखे । ‘के हामी दुवैले स्वर्ण बाँड्न सक्छौँ,’ कतारी खेलाडी मुताजले गिआमार्कोसमक्ष प्रस्ताव राखेका हुन् । 

यो प्रस्तावमा इटालियन खेलाडी गिआमार्कोले पनि स्वीकृति दिए । उनले भने, ‘हुन्छ, यदि दुवैका सहमति भए म पनि स्वर्णपदक बाँड्न चाहन्छु ।’ यसरी कतारी खेलाडी मुताजको प्रस्ताव गिआमार्केले सहजै स्वीकार गरेका हुन् । यी दुवै खेलाडीका निर्णय पदाधिकारीहरूले माने । ओलम्पिक इतिहासमा एकै इभेन्टका प्रतिद्वन्द्वीले स्वर्णपदक बाँडेको पहिलोपटक हो । हाइजम्पमा ओलम्पिक रेकर्डका रूपमा २.३९ मिटर राखिएको थियो । मुताज र गिआमार्कोले तीनपटक प्रयास गर्दा पनि त्यो उचाइ पार गर्न सकेनन् । संयोगले दुवै खेलाडीले तीनैपटकको प्रयासमा २.३७ मिटर जम्प गरेका थिए । स्वर्णपदक दाबेदारी खेलाडीले असफल प्रयास गरेपछि एक समय निर्णायकसमेत रणभुल्लमा परेका थिए । निर्णायकहरूले उनीहरूलाई अन्तिम प्रयासको अवसर दिन कोसिस नगरेका होइनन् । 

तर, फरक इतिहास रच्ने रणनीति बनाएका कतारी खेलाडी मुताजले अन्तिम प्रयास नगरी स्वर्णपदक बाँडेर लिने प्रस्ताव गरेका हुन् । निर्णायकहरूले यसलाई ‘ओलम्पिककै जम्बो अफर’ भनेका छन् । दुवै खेलाडीले संयुक्त रूपमा निर्णय गरेपछि निर्णायक अगाडि पुगेका थिए । दुवैले भने, ‘के हामीले प्रतिस्पर्धा नगरी आपसी सहमतिमै दुईवटा स्वर्णपदक पाउन सक्छौँ ?’ त्यसपछि पदाधिकारीहरूले दुई खेलाडीलाई नै संयुक्त रूपमा विजेता घोषणा गरे । 

३० वर्षीय मुताजले सन् २०१६ को रियो ओलम्पिकमा यसै इभेन्टमा रजत तथा सन् २०१२ को लन्डन ओलम्पिकमा पनि पदक जितेका थिए । सन् २०१९ मा कतारमै भएको विश्व च्याम्पियनसिपमा घरेलु दर्शकलाई खुसी पार्दै स्वर्णपदक हात पारेका थिए । इटालियन खेलाडी गिआमार्को भने पूर्वविश्व च्याम्पियन खेलाडी हुन् । 

 ड्रेसलले हात पारे पाँचौँ स्वर्ण
अमेरिकन पौडीबाज सेलेब ड्रेसलले टोकियो ओलम्पिकमा व्यक्तिगत पाँच स्वर्णपदक जितेका छन् । उनले आइतबार चार गुणा सय मिटर मिडले स्पर्धामा विश्व कीर्तिमानसहित स्वर्णपदक हात पारेका हुन् । अमेरिकन टोलीमा ड्रेसललाई रायन मार्फी, माइकल आन्द्रे र ज्याक अप्पलले साथ दिएका थिए । ड्रेसलको टोलीले तीन मिनेट २७.२८ सेकेन्डका साथ शीर्ष स्थानमा रही स्वर्णपदकमाथि कब्जा जमाएको थियो । ड्रेसलले आइतबार नै भएको ५० मिटर फ्रिस्टायलमा २१.०७ सेकेन्डका साथ स्वर्णपदक हात पारेका थिए । सन् २०१६ को रियो ओलम्पिकमा उनले दुई स्वर्ण हात पारेका थिए । 

 भारोत्तोलनमा कतारलाई पहिलो स्वर्ण
कतारले ओलम्पिक खेल इतिहासमै पहिलोपटक भारोत्तोलनमा स्वर्णपदक जितेको छ । कतारलाई यो सफलता फोज अल बाखले दिलाएका हुन । सन् २०१९ को विश्व च्याम्पियनसिपमा रजतमा सीमित भएका फोज अलले आइतबार ९६ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । उनले क्लिन एन्ड जर्ममा २ सय २५ केजी भार उठाए । समग्रमा उनले कुल ४ सय २ केजी तौल उठाउँदै कतारलाई पहिलोपटक भारोत्तोलनमा स्वर्णपदक दिलाउन सफल भए । 

 जभेरेभले जिते पुरुष एकल टेनिस स्वर्ण
जर्मन खेलाडी एलेसान्डेर जभेरेभले पुरुषतर्फको टेनिस एकलमा स्वर्णपदक जितेका छन् । उनले आइतबार स्वर्णपदकको प्रतिस्पर्धामा रसियन ओलम्पिक कमिटीबाट प्रतिनिधित्व गरिरहेका कारेन काचनोभलाई ६–३ र ६–१ को सीधा सेटमा हराउँदै इतिहास रचेका हुन् । ओलम्पिक खेलकुदमा अहिलेसम्म जभेरेभबाहेक अन्य कुनै पनि जर्मन खेलाडीले टेनिसमा स्वर्णपदक जितेका छैनन् । 

फाइनल खेलको दोस्रो सेटको सातौँ गेममा म्याच प्वाइन्ट सुरक्षित गरेपछि जभेरेभले कोर्टमै खुसियाली मनाए । आफूलाई सम्हाल्न नसक्दा उनी कोर्टमै लड्न पुगे । टेनिस खेल करिअरकै सर्वाधिक ठूलो उपाधि जितेपछि जभेरेभले परिवारप्रति स्वर्णपदक सर्मिपित गरेका छन् । टोकियो ओलम्पिकमा जभेरेभ शक्तिशाली प्रहार गर्ने खेलाडीका रूपमा स्थापित भएका छन् । उनले बेस लाइनमा बसेर उपाधि दाबेदार खेलाडीलाई सहजै पाखा लगाउन सफल भए ।

२४ वर्षीय ज्भेरेभले पहिलो सेटको तीन गेममै २–१ को अग्रता लिएका थिए । फाइनलसम्मको यात्रामा उनले पहिलोपटक पहिलो सेटमा अग्रता लिएका हुन् । त्यसपछि उनले रसियन खेलाडी काचनोभलाई खेलमा फर्कन नै दिएनन् । दोस्रो सेटमा उनले एक पक्षीय रूपमै आफ्नो पक्षमा राखे । दोस्रो सेटमा विशेषतः बेस लाइन तथा ब्याक ह्यान्डमा उनले गज्जबको खेल प्रस्तुत गरेका थिए ।