मकवानपुरको भीमफेदी कारागारका तीन सय ५५ कैदीबन्दीलाई एकैपटक कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कारागारमा कैद भुक्तान गरिरहेका ब्लक ‘क’ र ‘ख’मा रहेका नाै सय ७० जनामा एन्टिजेन परीक्षण गर्दा एकैपटक ३६.५९ प्रतिशत अर्थात् तीन सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भीमफेदीबाट अर्को कारागार सरुवा गर्ने क्रममा ११ जना कैदीबन्दीमा संक्रमण पुष्टि भएपछि बुधबार र बिहीबार गरिएको परीक्षणमा तीन सय ५५ जनाको रिपोर्ट पजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रवक्ता ठाकुर पौडेलले बताए ।
संक्रमित कैदीबन्दीलाई कारागारभित्र विशेष निगरानीमा राखिने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । हालसम्म कोराेना पुष्टि भएका संक्रमितमा कुनै पनि किसिमको लक्षण नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
‘हालका संक्रमितको संख्या बढ्न नदिन स्वास्थ्यकर्मीको विशेष निगरानीमा राखिएको छ,’ प्रजिअ पाण्डेले भने, ‘संक्रमित कैदीबन्दीलाई छुट्टै ब्लकमा राखिएको छ ।’