मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विजयराज खनाल काठमाडौं
२०७८ श्रावण १३ बुधबार ११:३३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

करिब २ प्रतिशत कर्जा पुनर्संरचना ८० अर्ब ऋणको भाका सारियो

Read Time : > 1 मिनेट
विजयराज खनाल, काठमाडौं
२०७८ श्रावण १३ बुधबार ११:३३:००

कोभिड–१९ अति प्रभावित उद्योग–व्यवसायमा प्रवाह भएका सक्रिय कर्जाका लागि ०७७ असारमा भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकम भुक्तानीका लागि २ वर्षसम्मको समय दिइएको छ

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानीको २ प्रतिशत मात्र पुनर्संरचना तथा पुनर्तालिकीकरण भएको छ । समग्र वाणिज्य बैंकको करिब ५ प्रतिशत कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण भएको बैंकरहरूको अनुमान थियो । तर, राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले २ प्रतिशत मात्र पुनर्संरचना तथा पुनर्तालिकीकरण भएको जनाएको हो । 

‘मेरो बैंकको करिब ६ प्रतिशत कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण भएको छ,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले भने, ‘समग्र वाणिज्य बैंकको करिब ५ प्रतिशत हाराहारी कर्जा पुनर्संरचना भएको होला भन्ने हाम्रो अनुमान हो ।’ 

राष्ट्र बैंकले भने कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण सोचेजसरी जटिल नबनेको उल्लेख गरेको छ । ‘कुल ४० अर्ब रुपैयाँ कर्जामा मुस्किलले २ प्रतिशतको पुनर्संरचना तथा पुनर्तालिकीकरण छ,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक देवकुमार ढकालले भने, ‘त्यसैले यसमा खासै चिन्ता गर्नुपर्ने अवस्था देखिँदैन ।’ 

कुल ४० अर्ब हाराहारी कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थाले २ प्रतिशत कर्जामा पुनर्संरचना तथा पुनर्तालिकीकरण गरेको अवस्थामा करिब ८० अर्ब रुपैयाँको कर्जाको भाका सारिएको देखिन्छ ।

कर्जालाई पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न लिखित कार्ययोजना पेस हुनुका अतिरिक्त त्यस्तो कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्दाको दिनसम्म असुल हुन बाँकी ब्याजको कम्तीमा २५ प्रतिशत ब्याज रकम असुलउपर भएको हो । 

यसअघि पुस ०७७ भित्र कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना गरिसक्नुपर्ने व्यवस्था गरिएको थियो । पुस ०७६ मा सक्रिय कर्जाहरू पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न सकिने व्यवस्था गरिएको थियो । तर, कम्तीमा असुल हुन बाँकी ब्याजको १० प्रतिशत रकम बुझाउनुपर्ने उल्लेख थियो । 

कोभिडबाट अति प्रभावित क्षेत्रहरूले बक्यौता ब्याजको १० प्रतिशत पनि बुझाउन नसकेको गुनासो आएसँगै पुनः एकपटकका लागि यस्तो बक्यौता ब्याजको ५ प्रतिशत असुल गरेर पुनर्संरचना गर्न सकिने सुविधा दिइएको हो । असार ०७८ भित्र कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न सकिने गरी सुविधा दिइएको थियो । 

यस्तो कर्जा निष्क्रिय कर्जाका रूपमा रहने भए पनि राष्ट्र बैंकले यस्तो कर्जाका लागि न्यूनतम ५ प्रतिशत नोक्सानी व्यवस्था कायम गरेर असल वर्गमा नै वर्गीकरण गर्न सकिने सुविधासमेत दिएको थियो । करिब ८० अर्ब रुपैयाँ कर्जा पुनर्संरचना गरेका बैंकहरूले ४ अर्ब रुपैयाँ कर्जा नोक्सानीका लागि छुट्याएको देखिन्छ । 

कोभिड–१९ का कारण पुनस्र्थापित हुन समय लाग्ने पर्यटन क्षेत्रलगायतका अति प्रभावित उद्योग–व्यवसायमा प्रवाह भएका सक्रिय कर्जाका लागि भने ०७७ असारमा भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकम भुक्तानीका लागि २ वर्षसम्मको समय दिइएको छ ।

यसरी भुक्तानी अवधि थप भएको समयावधिभित्र समानुपातिक रूपमा कम्तीमा क्रमशः २ किस्ता, ३ किस्ता र ४ किस्तामा ब्याज र साँवा असुल गर्ने व्यवस्था मिलाउन भनिएको छ ।