Skip This
ओलम्पिकमा २९ शरणार्थी खेलाडी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ९ शनिबार
  • Saturday, 27 July, 2024
२o७८ श्रावण ९ शनिबार १३:१७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ओलम्पिकमा २९ शरणार्थी खेलाडी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण ९ शनिबार १३:१७:oo

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले दोस्रोपटक ओलम्पिक स्पर्धामा शरणार्थी टोली समावेश गरेको छ । टोकियो ओलम्पिकमा २९ जना शरणार्थी खेलाडीको एक टोलीले प्रतिस्पर्धा गर्नेछ । आइओसीले रियो ओलम्पिकमा पहिलोपटक शरणार्थी खेलाडीलाई अवसर दिएको थियो । रियोमा पाँचजना शरणार्थी खेलाडीले प्रतिस्पर्धा गरेका थिए । आइओसीले शरणार्थी खेलाडीहरूको संख्या वृद्धि गरेको छ । 

शरणार्थी खेलाडीहरू ओलम्पिकको झन्डामुनि रहेर प्रतिस्पर्धा गर्ने आइओसीले जनाएको छ । शुक्रबारको उद्घाटनमा शरणार्थी खेलाडीले ओलम्पिककै झन्डा बोकेर मार्चपास गरेका थिए । उनीहरूले विभिन्न १२ खेलमा प्रतिस्पर्धा गर्नेछन् । आइओसीले शरणार्थी खेलाडी कार्यक्रमअन्तर्गत नै ओलम्पिकमा सहभागी गराएको हो । आइओसीको छात्रवृत्तिमै ती शरणार्थी खेलाडीले टोकियो ओलम्पिककै लागि प्रशिक्षण गरेका छन् ।

आइओसीले सुरुमा टोकियो ओलम्पिकका लागि ५५ शरणार्थी खेलाडी छनोट गरेको थियो । विभिन्न चरणको छनोट प्रतियोगिताबाट अन्तिम २९ खेलाडीको खाका दिइएको हो । शरणार्थी खेलाडीहरूले एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, क्यानोइन, साइक्लिङ, जुडो, कराते, तेक्वान्दो, सुटिङ, स्विमिङ, भारोत्तोलन तथा कुस्तीमा प्रतिस्पर्धा गर्नेछन् । आइओसीले उत्कृष्ट शरणार्थी खेलाडी संकलन गरी ओलम्पिकका लागि टोली तयार गरेको जनाएको छ ।

आइओसीका अध्यक्ष थोमस वाकले शरणार्थी खेलाडीहरूले यसपटक टोकियो ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा राखेको बताएका छन् । ‘रियो ओलम्पिकभन्दा यसपटक शरणार्थी ओलम्पिक खेलाडी धेरै छन्, विश्वास छ, उनीहरूको प्रदर्शन निकै राम्रो हुनेछ,’ आइओसी अध्यक्ष वाकले भनेका छन्, ‘रियो ओलम्पिकमा दश खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।’ 

उद्घाटनमा शरणार्थी खेलाडीहरूको टोली दोस्रो स्थानमा रही मार्चपास गरेको थियो । यस शरणार्थी ओलम्पिक टोलीको नेतृत्व टेग्ला लारोउपेले गरेका छन् । उनले विश्व म्याराथनमा विश्व रेकर्ड राखेका छन् । टेग्लाले टोकियो ओलम्पिकमा शरणार्थी ओलम्पिक खेलाडीहरूले विश्वलाई राम्रो सन्देश दिने बताएका छन् । ‘खेलमैदान तथा बाहिर शरणार्थी खेलाडीहरूले शान्तिको सन्देश दिनेछन्,’ उनले भने, ‘यसले विश्वको विभिन्न देशमा देखिएको शरणार्थी समस्या समाधान गर्न सहयोग गर्नेछ ।’

पाँच वर्षअघि रियो ओलम्पिकमा सहभागी भएका खेलाडी पनि यसपटक छनोट भएका छन् । पौडीका युर्सा मार्दिनी, जुडोका पोपोलो, ट्याक्ट एन्ड फिल्डका अन्जेलिना नाडाल, जेम्स नायङ, पालो अमोटुन तथा रोसे नाथिनले रियो ओलम्पिकमा भाग लिएका थिए । रियो ओलम्पिकमा अन्जेलिनाले कांस्यपदक जितेकी थिइन् । 

‘हामीले ओलम्पिक मुभ मेन्टअन्तर्गत नै शरणार्थी खेलाडीहरूलाई ओलम्पिकमा मौका दिएका हौँ,’ आइओसीका अध्यक्ष बाकले भने, ‘यी खेलाडीको प्रदर्शन तथा नतिजा हेर्न हामी सबै इच्छुक छौँ ।’ आइओसीमा आबद्ध भएका १३ राष्ट्रिय ओलम्पिक कमिटीबाट रिफर भएका खेलाडीले नै प्रतिस्पर्धा गर्ने उनले बताएका छन् । ‘यी सबै खेलाडी विभिन्न ओलम्पिक कमिटीबाटै रिफर भएका हुन्,’ उनले भने, ‘विश्व खेलकुदमा शरणार्थी खेलाडीहरूको शक्ति पनि देख्नेछ ।’ 

अध्यक्ष वाकले शरणार्थी खेलाडीहरूलाई ओलम्पिककै एक महत्त्वपूर्ण अंगका रूपमा विश्लेषण गरेका छन् । ‘तपाईं शरणार्थी खेलाडीहरू ओलम्पिककै एक अंग हुनुहुन्छ, विश्व खेल जगत्मा स्वागत छ र तपाईंहरू आफ्नो पाखुरा फैलाउन सक्नुहुन्छ,’ आइओसी अध्यक्ष वाचले भने । ओलम्पिकमा सहभागी शरणार्थी खेलाडीहरूले दोहाको वासेदा विश्वविद्यालयमा अभ्यास गरेका थिए । उनीहरू दोहाबाट टोकियोमा पुगेका हुन् । 

टोकियो ओलम्पिक आयोजक कमिटीकी अध्यक्ष सेइको हासिमोतोले शरणार्थी खेलाडीले पनि ओलम्पिकमा आफ्नो शक्ति प्रदर्शन गर्ने स्थानका रूपमा लिनुपर्ने बताएकी छिन् । ‘केवल झगडा तथा वादविवादले समस्या हल हुँदैन, शरणार्थी खेलाडीहरूले ओलम्पिकबाटै आफ्नो शक्ति देखाउनेछन्,’ हासिमोतोले भनिन्, ‘मलाई विश्वास छ, यी सबै खेलाडीले टोकियोमा कीर्तिमान राख्नेछन्, उनीहरूलाई पछिसम्म सबैले सम्झनेछन् ।’