मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७८ श्रावण ७ बिहीबार ०९:०८:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

फेवातालको मापदण्ड मिचिने गरी कोमागाने पार्क अतिक्रमण 

Read Time : > 4 मिनेट
२०७८ श्रावण ७ बिहीबार ०९:०८:००

- एक सय ८० रोपनी क्षेत्रफलको पार्कमा गुरुकुल विद्याश्रम बनाउन वडाध्यक्ष र जिसस प्रमुखले गरे सिफारिस    
- कारबाहीको माग गर्दै अख्तियार र जिल्ला प्रशासन कार्यालयमा उजुरी

धार्मिक संस्थाको नाममा पोखराको कोमागाने पार्क अतिक्रमण गरिएको छ । जापानको कोमागाने सहरको सम्बन्धलाई जीवन्त राख्ने उद्देश्यले संरक्षण गरिएको कोमागाने पार्कमा केदारेश्वर महादेवमणि सेवाश्रम समितिले विद्यालय निर्माणका लागि जमिन अतिक्रमण गरेको हो । फेवातालको मापदण्ड मिचिने गरेर समितिले गुरुकुल निर्माणको काम अगाडि बढाएको छ । 

पार्कका लागि अधिग्रहण गरिएको जमिनमा धार्मिक संस्थाको नाममा गुरुकुल निर्माण थालिएको भन्दै स्थानीयले विरोध गरेका छन् । अधिकार क्षेत्र नै नभएको र पार्कको जमिनमा सरकारी बजेट नै लगानी गरेर भैतिक संरचना निर्माण गरिनु गलत रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । ‘केदारेश्वर महादेवमणि सेवाश्रम समितिको आफ्नै जग्गामा बनाउनुपर्नेमा सार्वजनिक पार्क निर्माणका लागि प्रयोग भएकामा हामीले पनि ध्यानाकर्षण गराएका हौँ । अधिकार क्षेत्रभन्दा बाहिरको जमिनमा संरचना निर्माणका लागि सरकारी रकम विनियोजन गर्नु र निर्माण कार्य अगाडि बढ्नु दुखद हो,’ उनले भने । 

थानेश्वर गौतम, प्रमुख जिल्ला अधिकारी, कास्की

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रकम उपलब्ध गराएको छ, जसको अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ । जग्गा संरक्षणको जिम्मेवारी पाएको स्थानीय वडाले जग्गा उपलब्ध गराउन नियमविपरीत सिफारिस गरेको छ । जिल्ला समन्वय प्रमुखले नियमविपरीत उक्त जग्गामा ट्रस बनाउन लेखी पठाउनुभएको छ । प्रधानमन्त्री नै अध्यक्ष भएको संस्था, जननिर्वाचित प्रतिनिधि र समन्वय प्रमुख सबैले मिलेर गरेको काम भएकाले पार्क अतिक्रमण गर्ने काम कानुनविपरीत भए पनि मैले केही गर्न सकिनँ ।
 

कोमागाने पार्कलाई यसअगाडि ०७१ मा सिर्जना नर्सरीलाई पुष्प नर्सरी निर्माणका लागि लिजमा दिने सम्झौता भएपछि त्यसविरुद्ध उच्च अदालत पोखरामा रिट दायर भएको थियो । रिटमा सुनुवाइ गर्दै १० वैशाख ०७१ मा अदालतले पार्क जुन प्रयोजनका लागि अधिग्रहण गरिएको हो, त्यही प्रयोजनमा प्रयोग गर्न आदेश दिँदै सम्झौता रद्द गरिदिएको थियो । अदालतको फैसलाको मर्मविपरीत अहिले धार्मिक संस्थालाई भौतिक संरचना निर्माण गर्न जनप्रतिनिधिले सिफारिस गरेको पाइएको छ । पोखरा महानगरपालिका–६ का अध्यक्ष जगतबहादुर पहारीले सिफारिस गरेका हुन् ।

उनले महानगरपालिका नगर कार्यपालिकालाई सम्बोधन गर्दै ‘१४.१५ मिटरजति लामो र १०.१२ मिटर चौडा जमिन हाल उक्त पढाइ हुने जीर्ण भवनको उत्तरतर्फको जमिन उपलब्ध गराइदिन’ भन्दै पत्र लेखेका छन् । तर, पोखरा महानगरपालिकाको ११ माघ ०७७ मा बसेको कार्यपालिका बैठकले जीर्णोद्धार गर्न भनेकोमा आश्रमले जग्गा नै अतिक्रमण गरेको छ । हाल केदारेश्वर वैदिक गुरुकूल वैदिक विद्याआश्रम रहेको जीर्ण संरचना फिस्टेल लज निर्माण गर्दा कामदार राख्न निर्माण गरिएका संरचना हुन् । ती संरचना लज निर्माणपछि पनि नभत्काई त्यत्तिकै छाडिएको थियो ।

बसुन्धरा र कोमागाने पार्क बचाउ अभियानकी अभियन्ता अधिवक्ता भगवती पहारी सार्वजनिक पार्कको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको रहेको बताउँछिन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ को उपदफा(२) मा यससम्बन्धी प्रस्ट उल्लेख गरिएको उनले जानकारी दिइन् । जिल्ला समन्वय प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले कार्यक्षेत्र मिच्दै पोखरा उपत्यका नगरविकास समितिको नाममा रहेको पार्कको जग्गामै ट्रस भवन निर्माण गर्न केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा), पोखरा महानगरपालिका र वडा नम्बर ६ लाई सिफारिस गरेका छन् । 

यो हो कोमागाने पार्क 
पोखरा महानगरपालिका–६ बैदाममा रहेको कोमागाने पार्क र वसुन्धरा पार्क रहेको ३०२ रोपनी क्षेत्र ०३८ वैशाखमा फेवाताल संरक्षणका लागि ग्रिनपार्क निर्माण गर्न भन्दै स्थानीयसँग अधिग्रहण गरिएको थियो । त्यतिवेला पिच बाटो भएको जग्गालाई चार हजार रुपैयाँ प्रतिरोपनीका दरले, कच्चीबाटो भएको जग्गालाई तीन हजार पाँच सय रुपैयाँ प्रतिरोपनीका दरले र बाटो नभएका जग्गालाई दुई हजार रुपैयाँ प्रतिरोपनीका दरले अधिग्रहण गरिएको थियो । यसको पूर्वतर्फ फिर्के खोला, पश्चिमतर्फ हिमागृह, उत्तरतर्फ सडक र दक्षिणतर्फ फेवाताल सिमाना रहेको क्षेत्रमा अहिले वडा प्रहरी कार्यालय बैदामका भौतिक संरचना बनेका छन् । पाँच रोपनी जमिन केदारेश्वर महादेवमणि मन्दिरका लागि छुट्याइएको छ । पूरै पार्कको बीचबाट फिस्टेल लजको जाने बाटो छ । त्यही बाटोले छुट्याएको दक्षिणी भाग बसुन्धरा पार्क र उत्तरी भागलाई जापानको कोमागाने नगर र पोखरा महानगरको मितेरी पार्कका रूपमा एक सय ८० रोपनी जग्गा छुट्याइएको छ । मितेरी पार्कको रूपमा सन् २००१ मा विकास गरिएको हो । पार्कमा फेवाताल जलाधार संरक्षण आयोजनाले वृक्षरोपण गरेको थियो ।

जापानको कोमागाने सहर र पोखरा महानगरको मितेरी चिनोको रूपमा विकास गरिएको ‘कोमागाने पार्क’ (माथि) । पार्क अतिक्रमण गर्दै अहिले केदारेश्वर महादेवमणि सेवाश्रम समितिले विद्यालय निर्माण थालेको छ ।

जापानको कोमागाने सहर र पोखरा महानगरको मितेरी चिनोको रूपमा विकास गरिएको पार्कलाई अहिले सिध्याउने काम भइरहेको एमाले कास्कीका अध्यक्ष कृष्ण थापा बताउँछन् । एउटा सुन्दर उद्देश्य राखेर निर्माण गरिएको पार्कलाई विभिन्न नाम र बहानामा अतिक्रमण गरिनु दुखद रहेको उनले बताए । पार्कलाई आकर्षक बनाउन वाटर फाउन्टेन निर्माणदेखि बगैँचा निर्माणसम्मका काम भएकामा फाउन्टेनको निसान मात्र छ । पार्कमा रोपिएका बोटबिरुवासमेत केदारेश्वर महादेवमणि सेवाश्रम समितिले पालेका गाईले खाइदिने गरेका छन् । अहिले उक्त पार्कलाई आश्रमले गौचरनको रूपमा प्रयोग गर्दै आएको छ ।

पार्क अतिक्रमणमा मिलेमतो
केदारेश्वर महादेवमणि सेवाश्रम समितिद्वारा सञ्चालित केदारेश्वर वैदिक गुरुकूल विद्याश्रम सञ्चालनका लागि भन्दै समितिले पार्कको जग्गा अतिक्रमण गरेपछि जिल्ला प्रशासन कार्यालय कास्की र अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा उजुरी परेको छ । अतिक्रमणमा समितिसँगै जिल्ला समन्वय समिति, वडा नम्बर ६ को कार्यालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण एकाइ केन्द्रीय आयोजना शिक्षाको नै सहकार्य देखिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम बताउँछन् । सबैको मिलेमतोमै जग्गा उपलब्ध गराइएकाले आफूले निर्माण कार्य रोक्न नसकेको उनको भनाइ छ । ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रकम उपलब्ध गराएको छ, जसको अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ । जग्गा संरक्षणको जिम्मेवारी पाएको स्थानीय वडाले जग्गा उपलब्ध गराउन नियमविपरीत सिफारिस गरेको छ । जिल्ला समन्वय प्रमुखले नियमविपरीत उक्त जग्गामा ट्रस बनाउन लेखी पठाउनुभएको छ । प्रधानमन्त्री नै अध्यक्ष भएको संस्था, जननिर्वाचित प्रतिनिधि र समन्वय प्रमुख सबैले मिलेर गरेको काम भएकाले पार्क अतिक्रमण गर्ने काम कानुनविपरीत भए पनि मैले केही गर्न सकिन,’ उनले भने । 

सार्वजनिक पार्क अतिक्रमण गर्नु कानुनी दृष्टिले गलत भएको भन्दै उनले हटाउने काम स्थानीय तहको भएको बताए । ‘धार्मिक संस्था होस् या अरू कसैले पनि उद्देश्यविपरीत अधिग्रहण गरिएको पार्क वा जग्गामा कुनै संरचना बनाउन पाइन्न । यसलाई रोक्ने काम स्थानीय तहको हो । स्थानीय तहले निर्माण भएको संरचना र सामग्री जफत गर्न सक्छ । त्यसका लागि चाहिने सुरक्षा प्रबन्ध गर्ने काम प्रशासनले गर्छ,’ उनले भने । 

जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख लालप्रसाद पोखरेलले जिल्ला समन्वय प्रमुखले पोखरा महानगरको मौखिक सहमति र जिल्ला समन्वय प्रमुखको लिखित सहमतिको पत्र पाएकाले स्कुल ट्रस र शौचालय बनाउन बजेट निकासा गरेको जानकारी दिए । ‘हामीलाई महानगरले मौखिक सहमति दिएको थियो । धार्मिक संस्था हो विद्यार्थी पढाउने कुरा छ दिनुस् भन्ने कुरा भयो । समन्वय प्रमुखले पत्र नै दिएपछि त्यसैका आधारमा हामीले भुक्तानी गरेका हौँ,’ उनले भने । 

जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले पुनर्निर्माण प्राधिकरणबाट रकम आएकाले निर्माण कार्य छिटो सक्न आफूले भनेको, तर कहाँ भनेर उल्लेख नगरेको तर्क गरे । ‘जिल्ला समन्वय समितिको प्रमुख भएका नाताले पुनर्निर्माणको अनुगमन र अवस्था हेर्ने जिम्मेवारी मेरो पनि छ । आएको पैसा खर्च भएन भनेपछि छिटो निर्माण गर्नु भनेर लेखी पठाएको हुँ । पार्कमा बनाउनु भनेको छैन,’ उनले भने । तर, समन्वय प्रमुख क्षेत्रीले गत ६ जेठमा गरेको सिफारिसमा जीर्ण संरचनाको उत्तरतर्फ तोकिएको जमिन भनेर उल्लेख नै गरिएको छ । पोखरेलका अनुसार ट्रस भवनका लागि चार लाख ५० हजार र पक्की शौचालय निर्माणका लागि एक लाख ५० हजार रुपैयाँ पेस्कीस्वरूप प्रदान गरिएको थियो । 

केही गर्छौं भन्दा विरोध गर्ने काम भयो :  डा. आचार्य 
केदारेश्वर महादेवमणि सेवाश्रम समितिका अध्यक्ष डा. लेखनाथ आचार्यले गरिब र संस्कृत शिक्षा प्रदान गर्न विद्यार्थीलाई सेवा गर्न खोज्दा विरोध गर्ने काम भएको बताए । उनले पार्कलाई जमिन चाहिँदा आफूहरूले नै भवन भत्काउने सर्तमा निर्माणका लागि महानगर, जिल्ला समन्वय समिति र अन्य निकायले समेत स्वीकृत दिएको दाबी गरे । कक्षा १ देखि १० सम्म गुरुकूल आश्रममा ५० जना विद्यार्थीले निःशुल्क रूपमा आवासीय रूपमा अध्ययन गरिरहेको उनले बताए । ‘हामीले गरिब जनताका छोराछोरीलाई गुरुकुलीन शिक्षा प्रदान गर्ने पवित्र उद्देश्यले काम गरेका हौँ । हामी संस्कृत शिक्षा दिन्छौँ भन्दा अवरोध गर्न थालिएको छ,’ उनले भने ।