मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ श्रावण ६ बुधबार १०:३१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

१० वर्षमा दोस्रोपटक भत्कियो चन्द्रनहर, सयौँ घरमा पानी पस्यो

Read Time : > 1 मिनेट
२०७८ श्रावण ६ बुधबार १०:३१:००

सप्तरीको सप्तकोसी नगरपालिका– ४ स्थित चन्द्रनहर भत्किएर सयौँ घरमा पानी पस्दा घरमा रहेका खाद्यान्न नष्ट भएको छ । अविरल वर्षासँगै सोमबार साँझ आएको बाढीले चन्द्रनहर कटान गरी भत्काउँदा सप्तकोसी नगरपालिका वडा नम्बर १, २, ४ र ११ का करिब एक सय बढी घरमा पानी पसेको थियो  । भीषण वर्षाका कारण सप्तकोसी नगरपालिका– ४ बलारदहस्थित चन्द्रनहरपश्चिमका सातवटाभन्दा बढी नदीहरूमा आएको बाढीको निकास नहुँदा चन्द्रनहर भत्किएको छ ।

रातको समयमा आएको बाढीले सप्तकोसी नगरपालिका– ४ मा मात्र एक सयभन्दा बढी घर डुबानमा परेका स्थानीय शिव आचार्यले बताए ।  ‘चन्द्रनहरको डिल भत्किएपछि एक सयभन्दा बढी घरमा पानी पसेको थियो । करिब २० वटा घरमा बढी क्षति गरेको छ,’ सप्तकोसी नगरपालिकाका प्रमुख उत्तमकुमार शर्माले  भने, ‘स्थानीय जुटपानी, सत्रपत्र, अमाहा ट्याङग्रा खोलामा आएको बाढीले नहरको दुई ठाउँमा ५० मिटर भत्काएको खोलामा बाढीको चाप बढेर वडा नम्बर ४ स्थित नहरको बाँध भत्काएको छ ।’ 

बाढीले पुर्‍याएको क्षतिको विवरण संकलन भइरहेको र क्षतिबाट बचाउन नहर भत्किएको ठाउँमा मर्मत कार्य गर्ने तयारी भइरहेको नगर प्रमुख शर्माले जानकारी दिए ।  नेपालको सबभन्दा पुरानो सिँचाइ योजना भनेर चिनिएको चन्द्रनहर जीर्ण भए पनि सरोकारवाला निकायले चन्द्रनहर पुनर्निर्माणका लागि कुनै पहल नगरेको नगर प्रमुख शर्माले गुनासो गरे । 

‘नहरको मर्मतसम्भारको अभावमा ठाउँ–ठाउँमा बाँध भत्किँदा आसपासका घर बस्ती डुबानमा पर्नुको साथै सयौँ बिघामा लगाएका बाली बाढीले नष्ट गर्दै आएको छ  । तर, उपभोक्ता समितिका पदाधिकारी र चन्द्रनहर डिभिजन कार्यालय कसैले पनि मर्मतसम्भारमा ध्यान दिएको छैन,’ नगरप्रमुख शर्माले भने, ‘भत्किएको ठाउँमा तत्काल नहरको डिल तत्काल नबनाए अझै डुबानको समस्या कायम रहेको छ ।’ चन्द्रनहर सिँचाइ उपभोक्ता समिति कञ्चनपुरका अध्यक्ष बद्री महतमानले १० वर्षमा दोस्रोपटक चन्द्रनहर भत्किएको बताए । उनले भने, ‘चन्द्रनहरको साइफन सफा गर्न जाँदा स्थानीयहरूले अवरोध गर्ने गरेका छन्, जसले गर्दा साइफन पुरिएकोले चन्द्रनहर भत्किएको हो ।’ 


‘चन्द्रनहरको साफइन पुरेर घर बनाइएको छ, खोलाका पानी पनि चन्द्रनहरमै ल्याइएर खनाइएको छ,’ उपभोक्ता समितिका अध्यक्ष महतमानले भने, ‘चन्द्रनहरको आसपासको अतिक्रमित जग्गा खाली नभएसम्म र साइफन सफा नभएसम्म यस्तो समस्या दोहोरिरहनेछ ।’  यता जिता नदीको बाढीले तिलाठी–कोइलाडी गाउँपालिका–७ मंसापुर र वडा नम्बर ५ बरसाइनका केही घर डुबाएको छ । गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहका अनुसार वडा नम्बर ७ को मंसापुर र वडा नम्बर ५ को बरसाइनका करिब दुई सय ७५ घर डुबेका छन् ।