१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७८ श्रावण ५ मंगलबार ११:५४:००
Read Time : > 2 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

पोस्ट कोभिडका लागि छुट्टै वार्ड कति आवश्यक ?

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७८ श्रावण ५ मंगलबार ११:५४:००

वैशाखको दोस्रोे साता कोभिड संक्रमण भएर तीन साता अस्पताल बसेकी बानेश्वरकी गीता श्रेष्ठ (नाम परिवर्तन) संक्रमण निको भए पनि अझै अस्पताल धाइरहेकी छिन् । ५६ वर्षीया गीता कोरोना संक्रमणमुक्त भइसके पनि नसामा समस्या देखिएकाले नियमित चिकित्सकको सम्पर्कमा छिन् । कोरोना संक्रमण भएका वेला उनको बानेश्वरस्थित सिभिल अस्पतालमा दुई साता आइसियू रहेर उपचार भएको थियो । वैशाख अन्तिम सातामै कोभिड नेगेटिभ रिपोर्ट आइसके पनि अक्सिजनको लेभल नबढेका कारण तीन साताभन्दा बढी अस्पताल बस्नुपरेको थियो । जेठ पहिलो साता उनलाई डिस्चार्ज गर्ने तयारी गरियो, तर मांशपेसी शिथिल हुँदै गएपछि चिकित्सकले थप अस्पताल बस्न सल्लाह दिए ।

कोभिड निको भइसकेपश्चात् पनि नसामा समस्या, हातखुट्टा चलाउन नसक्ने, मांशपेसीहरू कमजोर हुँदै गएकोले उनमा बोल्न नसक्ने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षणहरू देखिए । यसकारण थप तीन साता अस्पताल राख्नुपरेको उपचारमा संलग्न डा. निरज ताम्राकार बताउँछन् । उनी भन्छन्, ‘आइसियूमा राखेकोे दुई सातापछि संक्रमण नेगेटिभ आइसकेको थियो, तर बिस्तारै अन्य समस्या देखिए । अहिले उहाँको स्वास्थ्य निकै राम्रो भइसकेको छ । लङ कोभिड देखिएका अधिकांश बिरामीमा यस्ता समस्या देखिनु सामान्य भइसकेको छ ।’

सुख्खा खोकीले सताएपछि परीक्षणका लागि शान्ति बडुवाल गत बिहीबार सिभिल अस्पताल पुगेकी थिइन् । मेडिकलबाट औषधि किनेर खाँदा खोकी निको नभएपछि उनी स्वास्थ्य जाँचका लागि अस्पताल पुगेकी थिइन् । परीक्षण गर्दा उनमा निमोनिया सुरु भइसकेको देखियो । शान्तिलाई पनि गत २७ वैशाखमा कोभिड पजिटिभ देखिएको थियो । सामान्य लक्षण देखिएकाले उनी होम आइसोलेसनमै बसेकी थिइन् । ११ दिनमै उनको रिपोर्ट पजिटिभ देखिएको थियो । तर, पछिल्लो दुई सातादेखि उनलाई खोकी लाग्ने समस्या देखिएको थियो । परीक्षणको क्रममा उनलाई कोभिडकै कारण समस्या देखिएको चिकित्सकले बताए । 

कोभिड निको भएको केही समयपश्चात् स्वास्थ्य समस्या लिएर आउनेहरूमा फाइब्रोसिस, निमोनिया, रुघाखोकी, ज्वरो, नसामा समस्या, निद्रा नलाग्ने, रिंगटा लाग्ने, कमजोर महसुस भइरहने, छाती भारी हुने, ज्वरो आएजस्तो हुने गरेको छ 

गीता र शान्तिमा मात्रै नभई कोभिड संक्रमण निको भएपश्चात् विभिन्न स्वास्थ्य समस्याहरू लिएर आउने बिरामीहरू पछिल्लो समय अस्पतालमा बढ्न थालेका छन् । वीर, शिक्षण, सिभिल, टेकु, पाटनजस्ता प्रत्येक अस्पतालमा दैनिक कम्तीमा १० देखि १५ जनासम्म पोस्ट कोभिडसम्बन्धी समस्या लिएर अस्पताल पुग्ने गरेका छन् । पहिलो लहरपश्चात् पोस्ट कोभिडका बिरामीमा विभिन्न नयाँ लक्षणहरू देखिन थालेको चिकित्सकले बताएका छन् । 

पोस्ट कोभिड संक्रमणको तथ्यांक नै छैन
नेपालमा पोस्ट कोभिडबाट कतिजना प्रभावित भए भन्ने यकिन तथ्यांक उपलब्ध छैन । तर, विश्वभरको तथ्यांक हेर्दा कम्तीमा २० प्रतिशतमा कोभिड संक्रमण निको भएपश्चात् विभिन्न स्वास्थ्य समस्या देखिएको पाइन्छ । अमेरिकामा कुल संक्रमितको २३ प्रतिशतमा पोस्ट कोभिडको समस्या देखिएको तथ्यांक छ । हेल्थ इन्स्योरेन्सको तथ्यांकअनुसार अमेरिकामा बालबालिकामा समेत पोस्ट कोभिडको समस्या देखिएको छ । गम्भीर बिरामी परेकाहरूको तुलनामा कोभिड संक्रमणको समयमा सामान्य लक्षण देखिएकाहरूमा पोस्ट कोभिडको समस्या बढी देखिएको तथ्यांकले देखाउँछ । अमेरिकामा गम्भीर बिरामी परेका १९ प्रतिशतमा पोस्ट कोभिड देखिँदा सामान्य लक्षण मात्र देखिएका २७ प्रतिशत पोस्ट कोभिडबाट प्रभावित भएका छन् । 

कोभिड संक्रमणको प्रभाव नियन्त्रणका लागि अस्पतालहरूमा पोस्ट कोभिडका बिरामीका लागि मात्रै छुट्टै व्यवस्था हुनु आवश्यक देखिएको छ । टिचिङ अस्पतालले यस्ता समस्या भएकाहरूलाई हेर्ने गरी छुट्टै ओपिडी सेवा सुरुसमेत गरिसकेको छ । सामान्यतया होम आइलोलेसनमा रहेका, अक्सिजन थेरापी लिएका वा आइसियूमा उपचार गरेर फर्किएकाहरू विभिन्न समस्या लिएर अस्पताल आउनेको दर बढेकाले अस्पतालले ओपिडी सेवा नै छुट्याएको जनाएको छ ।

अन्य अस्पतालहरूमा सामान्य परीक्षण र उपचार भइरहे पनि पोस्ट कोभिड व्यवस्थापनका लागि खासै ध्यान नदिइएको बताउँछन्, डा. निरज ताम्राकार । उनी भन्छन्, ‘संक्रमण संख्यात्मक रूपमा घट्दै गए पनि महामारीको प्रभाव घटेको छैन, यसको असर अर्को रूपमा देखिइरहेको छ । यसका लागि कोभिड उपचार हुने सबै अस्पतालमा संक्रमणपश्चात् देखिने समस्या उपचारका लागि छुट्टै व्यवस्था आवश्यक छ ।’ 

भारतमा पोस्ट कोभिडका केस सबैभन्दा धेरै
कोभिड संक्रमणबाट निकै नै पीडित बनेको भारतमा पोस्ट कोभिडका केसहरू पनि सबैभन्दा बढी रिपोर्ट हुन थालेको छ । भारतमा पछिल्लो समय स्वास्थ्य समस्या लिएर अस्पताल भर्ना हुनेमध्ये करिब ८० प्रतिशत बिरामी पोस्ट कोभिडका छन् । भारतमा पनि संक्रमण बिस्तारै कम हुँदै गएको छ । तर, पोस्ट कोभिडको समस्या भने उकालो लाग्दै गएको छ । यस्तै बेलायतमा पनि कोभिड संक्रमितमध्ये आधामा कुनै न कुनै स्वास्थ्य समस्या देखिइरहेको समचारहरू छन् । कोभिड निको भएको केही समयपश्चात् स्वास्थ्य समस्या लिएर आउनेहरूमा फाइब्रोसिस, निमोनिया, रुघाखोकी, ज्वरो, नसामा समस्या, निद्रा नलाग्ने, रिंगटा लाग्ने, कमजोर महसुस भइरहने, छाती भारी हुने, ज्वरो आएजस्तो हुने गरेको छ ।