मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एड्ना बोनहोम
२०७८ श्रावण ३ आइतबार ०८:१४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

हैटीका जनता मुलुक चलाउन सक्षम छन् 

Read Time : > 2 मिनेट
एड्ना बोनहोम
२०७८ श्रावण ३ आइतबार ०८:१४:००

शान्तिसेनाको हस्तक्षेप र मोइसको निरंकुश शासनविरुद्ध लडिरहेका हैटीका जनता आफ्नो सम्प्रभुता र आत्मसम्मानका लागि कटिबद्ध छन् 

२०२१ जुलाई ७ मा राष्ट्रपति जोभेनेल मोइसको नृशंस हत्याले हैटीको समाजलाई तरंगित पारेको छ । हालसम्म हत्याको दोषी यकिन हुन सकेको छैन, तथापि कोलम्बियाली भाडाका सिपाहीहरू, अमेरिका आधारित सुरक्षा कम्पनी र मोइसका प्रतिद्वन्दीलाई हत्यारा मान्न सकिने आधार प्रकाशमा आएका छन् । यस परिस्थितिमा हैटीको अशान्त राजनीतिमा अर्को अराजक घटना भयो भनेर अन्तर्राष्ट्रिय मिडियाले लेख्नु अस्वाभाविक हुनेछैन । त्यसैगरी अमेरिका र संयुक्त राष्ट्रले हैटीमा स्थिरता ल्याउन पहलकदमी लिनु पनि अनौठो ठहरिन्न । 

अराजकता, अशान्ति, गरिबी र भ्रष्टाचारजस्ता शब्दहरू राष्ट्रपति मोइसको हत्याको चर्चा गर्दा छुटाइने गरिएका छैनन् । हालै न्युयोर्क टाइम्सको सम्पादकीयमा उल्लिखित ‘राष्ट्रपतिको हत्याले हैटीको अशान्त राजनीतिक परिदृश्यमा थप अराजकता आउने खतरा’ले पनि अन्यथा इंगित गर्दैन । मिडियाको यस्ता किसिमका भाष्यले हैटीका जनता मुलुक चलाउन अक्षम छन् र त्यहाँका घटना, परिघटना भ्रष्टाचार, अक्षमता र कुशासनबाट सिर्जित भएका हुन् भनेर पुष्टि गरिदिन्छन् । यिनले हैटीमा हुने वैदेशिक हस्तक्षेप र त्यहाँका जनताको स्वतन्त्रता र लोकतन्त्रका संघर्षलाई अवमूल्यन गर्छन् ।  

फ्रान्सेली उपनिवेशविरुद्ध १७९१ मा दास काला जातिको विद्रोहले हैटी विश्वकै पहिलो काला जातिहरूको स्वतन्त्र मुलुक बन्न पुग्यो । स्वतन्त्रता प्राप्त गरे पनि फ्रान्सको दबदबा हट्न सकेन । हैटी १८२५ देखि स्वतन्त्रता जोगाउन फ्रान्सलाई ठूलो धनराशीको क्षतिपूर्ति दिन बाध्य भयो, तसर्थ स्वतन्त्रताको केही वर्षमै मुलुक आर्थिक रूपमा जर्जर हुन पुग्यो । यति मात्रै होइन, नजिकको शक्तिशाली छिमेकी अमेरिकाले पनि हैटीको राजनीतिक सम्प्रभुताको सम्मान गरेन । दशकौँसम्म अमेरिकाले हैटीका बन्दरगाहमा कब्जा गर्ने कोसिस गरिरह्यो, बैंकहरूमा लुटपाट मच्चाइरह्यो, हैटीका जनताले प्रतिरोध गर्दै आए । हैटीका जनताको संघर्षले अमेरिकासामु १९१५ मा घुँडा टेक्न बाध्य भयो, अमेरिकी राष्ट्रपति विड्रो विल्सनको नेतृत्वमा भएको सम्प्रभुता अपहरणले हैटी १९ वर्षसम्म अमेरिकी कब्जामा रहन गयो ।

विदेशी शक्तिले हैटीको स्वतन्त्र सार्वभौमसत्ता र यहाँका जनताको न्याय एवं आत्मसम्मानको लडाइँलाई आत्मसात् गरे मात्र पुग्छ, हैटीसँग आफ्नो मुलुकलाई समृद्ध बनाउने पूरापूर क्षमता छ

ती १९ वर्ष हैटीमा नश्लीय जिम क्रो कानुन लादियो, प्रेस स्वतन्त्रता कुण्ठित पारियो र हैटीका जनतामाथि चरम दमन गरियो । हस्तक्षेपको सिलसिला १९३४ मा अमेरिकी सेनाले हैटी छाडेपछि पनि चलिरह्यो । सर्वसत्तावादी बनेको हैटी अन्ततः १९८० को दशकमा लोकतान्त्रिक गणतन्त्र बन्यो । तर, लोकतन्त्र पनि धेरै दिन टिक्न सकेन, प्रथम जननिर्वाचित राष्ट्रपति जिन बेर्टेन्ड अरिस्टाइडलाई १९९० मा सिआइए समर्थित ‘कु’ले अपदस्त गर्‍यो । १९९४ मा तिनै अरिस्टाइडलाई सिआइएले समर्थन गर्‍यो र उनी राष्ट्रपतिमा पुनः निर्वाचित भए, तर अर्को विदेशी प्रायोजित सशस्त्र द्वन्द्वले उनलाई फेरि अपदस्थ गर्‍यो । यो द्वन्द्वले हैटी संयुक्त राष्ट्र संघको शान्तिसेनाको कब्जामा रहन गयो । संयुक्त राष्ट्र संघको शान्तिसेनाको कब्जाले मुलुकलाई झन् रसातलमा पुर्‍यायो ।     

शृंखलाबद्ध वैदेशिक हस्तक्षेप र हिंसात्मक द्वन्द्वले जर्जर भएको हैटी विकास उद्योगहरूको केन्द्र बन्यो । त्यसमा २०१० मा आएको शक्तिशाली भूकम्पले हैटीमा ठूलो विनाश ल्यायो, हैटीलाई प्रकोपको सामना गर्न निकै कठिन भयो र विनाशसँगै मानवीय सहयोगको ओइरो लाग्यो । भूकम्पले बढाएको सहयोग कुनै पनि रूपमा हैटीका जनताका लागि सहयोगी बन्न सकेन, उल्टै हैजाको महामारीले मुलुकलाई गाँज्यो र जनताको स्थिति झनै खस्क्यो । सहयोगका लागि आएको करोडौँ डलरले कुनै नतिजा दिएन । सहयोग काम नलाग्नुको कारण सहयोगमै लुट थियो ।

अमेरिकी अध्ययन संस्था सेन्टर फर इकोनोमिक एन्ड पोलिसी अध्ययनका शोधकर्ता जेक जोन्सनका अनुसार सहयोगको दुई प्रतिशत राशी मात्रै हैटीका संस्थाहरूमा पुग्यो र बाँकी रकम अमेरिकी ठेकेदारहरूको हातमा गयो । उल्लिखित घटना र परिस्थितिले हैटीमा अशान्ति र अराजकताको वास्तविक कारण दर्साउँछ । अघिल्लो वर्षदेखि देखिएको कोभिड– १९ महामारीले थप अस्थिरता बढाएको छ । महामारीका बहानामा राष्ट्रपति मोइसले धकेलेको आमचुनावको परिस्थितिमा भएको उनैको हत्याले मुलुक झन् अनिश्चितताको दलदलमा फस्न पुगेको छ । चुनाव सेप्टेम्बरमा हुने भनिएको छ र जनता चुनावका दौरान के हुने हो भनेर चिन्तित छन् ।

हैटीका सामाजिक अभियन्ताहरू विदेशी हस्तक्षेपविनाको पारदर्शी र निष्पक्ष माग गरिरहेका छन् । वास्तवमा हैटीका जनता आफ्नो मुलुकलाई सही दिशामा डोर्‍याउन सक्षम छन् । इतिहास साक्षी छ, हैटीका जनताले गोलाबारुदको सामना गर्न पनि चुकेका छैनन् । जनसंघर्ष हैटीको लोकतान्त्रिक अभियानको अभिन्न अंग बन्न पुगेको छ । केही वर्षयता संयुक्त राष्ट्रसंघीय शान्तिसेनाको हस्तक्षेप र मोइसको निरंकुश शासनविरुद्ध लडिरहेका हैटीका जनता आफ्नो सम्प्रभुता र आत्मसम्मानका लागि कटिबद्ध छन् ।

अन्तर्राष्ट्रिय समुदायले हैटीका भुइँतहका जनतालाई आत्मसात् गर्न जरुरी छ, जुन मूलतः अवमूल्यन हुँदै आएको छ । हैटीलाई चिनाउने नश्लभेदी ‘अराजकता’को भाष्य अन्त्य गरेर मुलुकको यथार्थ इतिहास, वर्तमान र भविष्यबारे संकथन चलाउनु जरुरी छ । विदेशी शक्तिहरूले सदैव हैटीमा अस्थिरता ल्याइरहे र लोकतान्त्रिक विकासलाई अवरुद्ध पार्दै आए । उनीहरूले हैटीको स्वतन्त्र सार्वभौमसत्ता र हैटीका जनताको न्याय एवं आत्मसम्मानको लडाइँ आत्मसात् गरे मात्र पुग्छ । हैटीसँग आफ्नो मुलुकलाई समृद्ध बनाउने पूरापूर क्षमता छ । 

(बोनहोम इतिहासकार हुन्)             
 अलजजिराबाट