१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
पुरञ्जन आचार्य
२o८१ जेठ ७ सोमबार १o:४९:oo
Read Time : > 6 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

बाई–बाई ओली, बधाई देउवा !

अग्रलेख

Read Time : > 6 मिनेट
पुरञ्जन आचार्य
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १o:४९:oo

ओली बालुवाटारबाट ‘बाई–बाई’ हुँदै गर्दा सरकारी निवास बालुवाटारमा झन्डै ट्रम्प–प्रवृत्तिको सानो झल्को दोहोरियो     

प्रसंग एक सय १५ वर्षअघि अस्ट्रियाको राजधानी भियनाको हो । मध्ययुरोपको मात्र होइन, सम्पूर्ण विश्वको विचार मन्थन गर्ने प्रमुख केन्द्र थियो भियना । भियनाको कफी हाउसमा गरिने चर्चा, परिचर्चाले विश्वको दिशा र दशा बदलिने विश्वास गरिन्थ्यो । भियनाको मध्यमा झन्डै डेढसय वर्षदेखि प्रसिद्धि कमाएको ‘ल्यान्डम्यान’ कफी हाउस छ । विश्वका अनेकन् विद्वान् र राजनीतिज्ञ गहन चिन्तन र छलफलका लागि यहाँ आउँछन् । प्रसिद्ध मनोविश्लेषक सिग्मन्ड फ्रायड तीमध्ये एक थिए । 

घटना सम्भवतः सन् १८९५ आसपासको हो । भियनाको मेयरमा ‘कार्ल लुयगर’ साम्यवाद र उग्रराष्ट्रवादको सम्मिश्रित नाराबाट निर्वाचित भए । लुयगरले मेयरमा निर्वाचित भए भियना सहरमा बस्ने यहुदीलाई जिउँदै जलाएर तिनको खरानी मल बनाई खेतमा फ्याँक्ने वा खरानीलाई बोरामा हालेर समुद्रमा डुबाउने वाचा गरेका थिए । 

लुयगर भियनाको मेयरमा पदासीन भए नागरिक स्वतन्त्रता समाप्त हुन्छ भनी आवाज उठ्छ, समाजको ठूलो तप्काबाट । भयानक नरसंहार पनि अगाडि प्रस्टै देखियो । व्यक्तिको स्वतन्त्रतामा खतरा र नरसंहारले सर्वत्र सन्त्रास फैलियो । स्वतन्त्रता र नरसंहारलाई रोक्न लुयगर मेयर हुनबाट वञ्चित भए, उनलाई जिम्मेवारी दिइएन । फ्रायड ल्यान्डम्यान कफी हाउसमा त्यही साँझ सिगार जलाएर बडो प्रसन्न मुद्रामा भन्छन्– मेरो स्वतन्त्रता निर्वाचन परिणामले पनि हरण गर्न सकेन । 

पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीको बालुवाटार बहिर्गमनले स्वतन्त्रताप्रेमीहरूलाई सिग्मन्ड फ्रायडको अनुभूति भएको होला । बीसौँ शताब्दीको युरोपमा निर्वाचित तानाशाहको बिगबिगी थियो, जस्तो आजको विश्व राजनीतिमा छ । धेरैजसो तानाशाहले तिनै लुयगरलाई तिनताका आफ्ना राजनीतिक गुरु मान्थे । यीमध्ये एडोल्फ हिटलर एक थिए । हिटलर जतिखेर भियनाको सडकमा हल्लिँदै थिए, लुयगर साम्यवाद र राष्ट्रवादको उग्र विचारको सम्मिश्रणबाट भियना सडकको ‘हिरो’ थिए । हिटलरको राजनीति प्रेरणा पुरुष लुयगर थिए । हिटलरले पछि ६० लाख यहुदीलाई ग्यास च्याम्बरमा हालेर नृशंस हत्या गर्ने प्रेरणा भियनाको सडकमा पाएका थिए भनिन्छ । लुयगरप्रेरित हिटलरको यहुदी नरसंहारलाई आधुनिक जर्मनहरू बिर्सन चाहन्छन् । प्रम ओलीको अध्यादेशराजलाई पनि कानुनी शासनमा विश्वास गर्नेहरूले अब बिर्सन चाहनेछन् । 

केपी ओलीका राजनीतिक गुरु को हुन् थाहा छैन । उनले राजनीतिक प्रेरणा कोबाट लिए, त्यो पनि अज्ञात छ । सम्भवतः अरू कसैलाई कुनै श्रेय दिन नरुचाउने ओली आफ्नो राजनीतिक शिक्षादीक्षा स्वाध्ययनबाट प्राप्त गरेको भन्न सक्छन् । मै स्वयं जगत्को गुरु हुँ पनि भन्न सक्छन् ओली । उनलाई जे बोल्न र जस्तो दाबा गर्न पनि छुट छ नेपालको राजनीतिमा । तर, उनको पृष्ठभूमि झापाको वर्गशत्रु सफाया आन्दोलन हो र उनको राजनीतिक विकासक्रम र सोच त्यही घटनामा लामो समय कारावास झेलेर निर्माण भएको हो । 

ओलीको सोच, शैली र कार्यपद्धति कठोर, असहिष्णु र परपीडक देखियो प्रम हुँदा । सत्ताले सम्पूर्ण सत्तातर्फको यात्रा गर्न उत्प्रेरित गर्‍यो उनलाई । उनी दृष्टिहीन भए सत्ताको उन्मादमा । राष्ट्रपति धृतराष्ट्र भइदिइन् । प्रधानमन्त्रीलाई संवैधानिक रूपमा सही सल्लाह र सुझाब दिन राष्ट्रपति कार्यालय मात्र होइन, मन्त्रिपरिषद् पनि पूर्णतः असफल भयो । प्रमका प्रत्येक असंवैधानिक कामलाई राष्ट्रपतिले ‘कोतपर्व’ शैलीमा पन्जाछाप लगाइन् । तर, नेपाली समाजलाई इतिहासको पुनरावृत्ति अर्थात् आधुनिक जंगबहादुर र राज्यलक्ष्मीको उदय मान्य थिएन ।

बाल्कोटको बार्दलीबाट ठोकेको नाजिवादी शैलीको भाषणबाट ‘बा’ ओलीले ताली त पाउन सक्छन्, तर पुनः बालुवाटार प्रवेश गर्न भने त्यो बाटोबाट सम्भव छैन    

नेपाली समाजमा प्रतिक्रियाहरू ओलीविरुद्ध मात्र आएनन्, राष्ट्रपति दृष्टिविहीन भई ओलीप्रति आसक्त छिन् भन्ने चर्चा पनि देशभरि कोरोनाभन्दा बढी फैलियो । ओलीको सत्ताबाट सम्पूर्ण सत्तातर्फको यात्रामा जाने आकांक्षालाई नियन्त्रण गर्न यिनै कारणले नागरिक अगाडि आए । राष्ट्रपति ओलीलाई सत्ताको आधुनिक जंगबहादुर बनाउन तल्लीन हुँदा ओलीको सिंहासन डगमगाएको हो । डगमगाएको सिंहासनलाई प्रचण्ड वा माधव–झलनाथ समूहले ‘किक’ गरेको होइन । यो भ्रम ओलीले नपाले हुन्छ । नेपाली जनतामा उर्लेको राष्ट्रपति र ओलीविरुद्धको तरंगमा यी जोडिन मात्र आएका हुन् । संविधान, पार्टी, साथीभाइ र नागरिक सबैलाई पन्छाएर एक्लै सत्ताभोग गर्न अगाडि बढेका ओलीलाई कुनै ठाउँमा ठक्कर लाग्नु नै थियो । सर्वोच्चले उनलाई ठक्कर मात्र दिएन, विश्राम गर्न बालकोटको निजी निवासमै पुर्‍याइदियो । 

अब ‘ओली बा’ भन्नेहरूले मात्र राजनीतिमा उनलाई पुनस्र्थापित गर्न सक्लान् भनी विश्वास गर्ने आधार कमजोर छन् । किनकि, ओलीको संविधान र पार्टीविरोधी गतिविधिले उनलाई ‘बा’ होइन ‘कमरेड र नेता’ मान्ने उनी नगिचका साथीसमेत संसद्को दोस्रो विघटनपछि उनको छेउछाउ जान नरुचाएको राजधानीको कोठे बैठकको चर्चा थियो । बिस्तारै यस्ता चर्चामा ती भुक्तभोगी सशरीर उपस्थित भएर आफ्नो खिन्नता मुखारबिन्दबाटै पनि सुनाउन थाले ओलीको कार्यशैलीविरुद्ध ।  

ओलीलाई उनको बाल्कोट निवासको बरन्डामा उभिएर आफ्ना अनुयायीसमक्ष उग्र भाषण गरिरहेको देखेर मलाई डेढ दशकअघि इतिहासकार तथा पत्रकार फरिद जकारियाको ‘द फु्युचर अफ फ्रिडम’ पुस्तकको स्मरण आयो । उल्लिखित पात्र, कफी हाउस र फ्रायडको सिगार सल्काउने बिम्बका कुरा नागरिक स्वतन्त्रतासँग जोडिएकाले पुनरुद्धृत गर्नुपरेको हो, त्यही पुस्तकबाट । आधुनिक लोकतन्त्रमा केही महिनाअगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पद गुमाउँदा क्यापिटल हिल, जहाँ अमेरिकन कंग्रेस बस्छन्, त्यहाँ आक्रमण गर्न उत्प्रेरित गरे । ओली बालुवाटारबाट ‘बाई––बाई’ हुँदै गर्दा सरकारी निवास बालुवाटारमा झन्डै ट्रम्प प्रवृत्तिको सानो झल्को दोहोरियो । बालुवाटारबाट बाई–बाई भएर बाल्कोटको निजी निवासमा विश्राम गर्दा ओलीको दिमागमा के सोच आउला भन्न सकिन्न । तर, उनीसँग नागरिकको केही प्रश्न छन्– पहिलो, पार्टी अध्यक्ष र प्रधानमन्त्री भएर पनि किन पार्टी र संसद् मिलाउन नसकेको ? यो कसले मिलाइदिने ? यो जिम्मेवारी कसको हो ?

दोस्रो, दुई कम्युनिस्ट पार्टीको एकीकरणलाई महिमामण्डन गरेका ओलीले पहिले किन प्रचण्डसँग पावर सेयरिङको तमसुक गरेको र पछि किन पालना नगरेको ? किन आधा–आधा समय सरकारको नेतृत्व गर्ने तमसुक अँध्यारो कोठामा गरेको प्रचण्डसँग साक्षीहरू राखेर ?

तेस्रो, किन तत्कालीन माओवादीलाई पार्टी एकीकरण गर्दा र निर्वाचन लड्दा ४० प्रतिशत भागबन्डा लगाएको ? माओवादीको त्यत्रो हैसियत थियो ? के थियो ओलीको मानसिकता यो एकीकरण गर्दा ? कांग्रेस सभापति देउवासँग प्रचण्डले यस्तै ठूलो भाग माग्दा उनले अस्वीकार गरेको उदाहरण ओलीसमक्ष थिएन र ?

प्रचण्डसँग अनेक असहमति हुन सक्छन् किनकि उनको पृष्ठभूमि पृथक् छ । तर, माधव नेपाल र झलनाथ खनालसँगको राजनीतिक सहयात्रा ओलीको आजको हो र ? किन मिल्न नसकेको ? के सबै खराब र मै ठीक भन्ने दृष्टि राम्रो हो ? सहयात्री र सहयोद्धा साथीसँगको झगडाले पार्टीको कुन गति हुन्छ भन्ने कांग्रेसबाट खोइ ओलीले सिकेको ? नेपालमा एक्लै हिँड्छु भन्दा राणा, राजतन्त्र, कांग्रेस वा कम्युनिस्ट कसैले सकेनन् अनि एक्लै हिँड्ने ओलीको रहरचाहिँ कसरी सम्भव छ ?

ओलीको बहिर्गमन यसकारण ननिको हो कि उनी पनि पाँच वर्षको अवधि सरकारको नेतृत्व गर्न अक्षम भए । यसमा दोष अन्यत्र खोज्दा भुलभुलैयामा परिन्छ । ओलीले नै बाल्कोटको बार्दलीमा बसेर आफ्ना कमी–कमजोरीलाई फुर्सदमा आफूभित्र खोज्न सक्छन् । आफ्नै अन्तरात्मासँग सोध्ने हो आफ्ना गल्तीबारे । विनम्रता र संयमको संगमबाट सोच्दा ओलीलाई बाल्कोटबाट बालुवाटारको दूरी टाढा छैन भन्ने सोच सहजै आउनेछ, लुयगरको इतिहास जनतालाई हामीले सम्झाउनु पर्नेछैन। 

नेपाली जनताको चाहना थियो, ओली पाँच वर्षसम्म प्रधानमन्त्री भएको हेर्ने । मेरो चाहना पनि मैले नलुकाई सार्वजनिक गरेको थिएँ, कैयन् पटक । कहिलेकाहीँ प्रधानमन्त्रीको छेउछाउ बस्नेहरू ओलीका सुरुका वर्षमा पाँच वर्ष ओली टिके पुग्छ भन्थे पनि । तर, सबै चाहना खेर गयो, व्यर्थ भयो । 

ओली स्वयं मानसिक रूपले तयार थिएनन् पाँच वर्ष सरकारको नेतृत्व गर्न । उनको मानसिकता बाल्कोटमा छरपस्ट भयो । बाल्कोटको बार्दलीबाट ठोकेको नाजिवादी शैलीको भाषणबाट ‘बा’ ओलीले ताली त पाउन सक्छन्, तर पुनः बालुवाटार प्रवेश गर्न भने त्यो बाटोबाट सम्भव छैन । यो लुयगरको युग होइन । यो लुयगरको युग होइन भन्ने तथ्यको प्रमाण कुनै प्रयास, मिहिनेत र तिकडम नगरी बढो शान्त र शालीन किसिमले शेरबहादुर देउवाले प्रधानमन्त्रीको सिंहासन पाएबाटै बुझ्न सकिन्छ । 

देउवा पाँचौँपटक ‘एक्सिडेन्टल प्रम’ भएका छन् नेपालमा । विगत तीन दशकको लोकतान्त्रिक यात्रामा प्रधानमन्त्रीको कुर्सीमा अनिच्छापूर्वक बस्ने पहिलो व्यक्ति देउवा नै होलान् । देउवालाई हामीले तयार गर्‍यौँ प्रम हुनलाई भनी माओवादी अध्यक्ष प्रचण्डले सार्वजनिक रूपमै उद्घोष गरेका हुन् । देउवाको सत्तारोहणको चरित्र र वस्तुस्थितिले गर्दा उनी पूरै फाइदामा छन्, आफ्नो गुमेको प्रतिष्ठा पुनस्र्थापित गर्न । देउवाबाट पार्टी, गठबन्धन र आमनागरिकका केही अपेक्षा नहुनु नै उनको यतिखेरको पुँजी र शक्ति दुवै हो । 

देउवासमक्ष ओलीले भताभुंग पारेको संविधानलाई ट्र्याकमा ल्याउने पहिलो जिम्मेवारी छ । त्यस्तै असंवैधानिक रूपमा प्रधानमन्त्रीको कुर्सीमा टाँसिएका ओलीले गरेका नियुक्ति पनि सबै असंवैधानिक हुन्छन् र त्यो तत्काल खारेज गर्ने आँट देउवाले देखाउनुपर्नेछ । देशका राष्ट्रपतिलाई कसरी ‘तह लगाउने’ त्यसको रणनीतिक र व्यावहारिक पक्षमा देउवाले सक्रियता देखाएनन् भने राजनीतिक छेकबार र दुर्घटना त्यहीँबाट आउने निश्चित छ । खोप जीवनरक्षा मात्र होइन, नेपालीको जनजीविकासँग पनि जोडिएको छ भनी यसलाई उच्च प्राथमिकतामा राखेर पूरै क्याबिनेट नै यसमा परिचालित भएको देखिनुपर्छ । 

नेपालमा सरकारहरू राज्यको भद्दा प्रदर्शनी र भ्रष्टाचारको कुरूपताले नग्न भएका छन् । कानुनी शासनको समान अनुभूति नहुँदा ठुल्ठूला साम्राज्य ध्वस्त भएका उदाहरण छन् । नेपालमा पनि सत्ता र शक्तिको प्रयोग कसरी गर्छन्, त्यहाँ बस्नेले भनी ६ करोड आँखाको सेन्सरमा देउवा छन् । यहाँ चुक भयो कि कांग्रेस गयो । देउवा कहिल्यै नसुध्रिने भए भन्ने लहर आउनेछ । 

देउवासामु अहिले आफ्नो बिग्रेको इमेजलाई पुनस्र्थापित गर्ने पहिलो चुनौती छ । दोस्रो, कानुनी शासनमा सबै बराबर हुन्छन् भनी उदाहरण पेस गर्नुपर्नेछ । तेस्रो, सरकारी सेवा प्रदाय निकायमा भएको चरम भ्रष्टाचारलाई सीमित गरी नागरिकलाई निराश हुनबाट बचाउनु छ । नेपालमा सरकारी सेवा लिन जान खुट्टा चल्दैन आमनेपालीको । देउवा सरकारले आदेश, निर्देशन र फर्मानबाट होइन, डन्डाबाट मात्र सरकारी सेवा नागरिकसमक्ष पुग्न सक्छ भनी दिल्लीको केजरीवाल सरकारबाट सिक्न फिटिक्कै ढिलो गर्नुहुन्न ।

राष्ट्रिय गौरवका आयोजनाहरू अलपत्र र चरम भ्रष्टाचारमा डुबेका छन् । यी नेपाल निर्माणका आधारशिला हुन् । देउवाको विकासमा फोकस भनेको राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्ने र परियोजनाको जिम्मेवारी लिनेलाई ‘रिवार्ड र पनिसमेन्ट’बाट डिल गर्दा परिणाममुखी बनाउन सकिन्छ । सुशासनमा सुधार सजिलो छैन, तर असम्भव पनि छैन र अहिले पनि देउवाको नेतृत्वमा सम्भव भएन भने कांग्रेसै डुब्छ । देउवालाई हार्दिकतापूर्वक बधाई दिँदा नेपोलियन बोनापार्टको सम्झना दिलाउँछु । उनी सैनिक जनरलबाट फ्रान्सका पहिलो सम्राट् भए । जब उनी सम्राट् भए, उनलाई कसैले सोध्यो– तिमी कसरी राजगद्दीमा पुग्यौ ? नेपोलियनको जवाफ थियो– पेरिसको सडकमा फ्रान्सको सत्ता थियो । म घोडाबाट उत्रिएर सिंहासनमा बसेँ र घोडा दौडाएँ ।

लामो समयदेखि सिंहदरबार खाली थियो । प्रचण्ड र माधव समूहले देउवालाई सिंहदरबारको कुर्सीमा राखेका हुन् । तर, सिंहदरबारको कुर्सीमा बसिसकेपछि कसले राख्यो भन्ने गौण हुन्छ । अब देउवा कसरी राजकाज चलाउँछन् भन्नेचाहिँ महत्वपूर्ण हो । देउवाबाट अब चुक भए वर्तमान संविधानले थेग्न सक्दैन । कांग्रेस त देउवासँगै वनवास पुग्छ नै, जसरी नेपोलियनको सेन्ट हेलेना टापुमा वनवास भएको थियो । नेपोलियनले दौडाएको घोडाले नेपोलियन महान् भनी फ्रेन्चहरू बडो आदर गर्छन् उनलाई । देउवाको एक्सिडेन्टल प्रधानमन्त्रीको दौड कसरी दौडिन्छ ? र, के उनी पाँचौँपटक प्रधानमन्त्री हुँदा महान् हुने दौड देखाउलान् ? ओलीको बाई–बाईसँगै देउवाले पाइरहेका बधाईका मालाहरू हल्का छैनन्, देउवाले हेक्का राख्दा हुन्छ ।
 

ad
ad