१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १o:५२:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

अब त रोकिनोस् ‘बा’ !

फरक मत

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १o:५२:oo

ओलीवरपर रहेका नेताहरूको व्यक्तित्व ठूलो क्षय भएको छ । अब उहाँ माधव नेपाल, शेरबहादुर वा प्रचण्डका लागि होइन, आफ्नै मान्छेका लागि रोकिनुपर्ने ठाउँमा हुनुहुन्छ ।

केपी ओलीले पानीजहाजको टिकट बुकिङ खुला गरेको १६ पुस ०७५ मा हो । ३० असार ०७८ मा बालुवाटार छाड्दा पनि बुकिङ खुला नै थियो, केवल पानीजहाज थिएन । चुनावी वाचाअनुसार त ‘बा’ मोनोरेलबाट बालकोट फर्कनु थियो । चुच्चे मुख भएको रेलमा होर्डिङ बोर्ड टाँगिनु थियो । पानीजहाजको झन्डामा फोटो हुनु थियो । भएन । क्षतिपूर्ति युथफोर्सको स्कर्टिङले गर्‍यो, स्कर्टिङ नै मोनोरेल भयो । लज्जाजनक बहिर्गमनलाई उत्सव बनाउने त्यो दयनीय प्रयास शवयात्रामा पञ्चेबाजाजस्तै थियो, तर ‘बा’ले रोक्नुभएन, रोकिनुभएन । यसअघि एमालेकै तीन प्रधानमन्त्रीले बालुवाटार छाडेका थिए, तर यस्तो देखिएको थिएन । यो त नयाँ एमाले थियो, ‘बा’ एमाले । 

एमाले सुदृढ लोकतान्त्रिक परम्परा भएको कमरेडहरूको पार्टी थियो, सिपीदेखि झलनाथ, मदन, माधव, फेरि झलनाथ र ओलीसम्म सहज नेतृत्व हस्तान्तरणको परम्परा भएको पार्टी । सिपीदेखि मदन भण्डारीसम्मलाई कमरेड भएरै पुग्यो । वृद्ध मनमोहन अधिकारीलाई पनि ‘बा’ हुन परेन । अहिले ओली जस्तो एमाले र जसको एमाले बनाउँदै हुनुहुन्छ, त्यसको उच्च रूप त्यही बालकोट यात्रा थियो । अब अनुमान मात्र गर्न सकिन्छ, सडिसकेको राजनीतिको कुन तहसम्मको भिजिलान्तेकरणपछि ‘बा’को चित्त बुझ्छ ? 

राष्ट्रपतिले प्रधानमन्त्रीका हरेक कदमलाई नि:सर्त मान्नुपर्छ भन्ने भाष्य तयार गर्दै आएका ओली कम्तीमा अब भने यो संस्थाको दुरुपयोग गर्न रोकिनुपर्छ 

सामान्य पनि सार्वजनिक जवाफदेहिता भएको ओली पक्षका हरेक नेता अहिले ओलीको सनक र अहंकारको मूल्य तिर्दातिर्दै ठूलो सामाजिक संकटमा छन् । राजनीतिक लाभका लागि कुतर्क गर्नु बेग्लै हो, स्वाभिमानपूर्वक प्रस्तुत हुनु बेग्लै । पछिल्लो एक वर्षमा ओलीवरपर रहेका नेताहरूको व्यक्तित्वको ठूलो क्षय भएको छ । अब उहाँ माधव नेपाल, शेरबहादुर वा प्रचण्डका लागि होइन, आफ्नै मान्छेका लागि रोकिनुपर्ने ठाउँमा हुनुहुन्छ । सस्तो जयजयकार र दक्षिण भारतीय सिनेमाशैलीको ‘स्कर्टिङ’मा भविष्य खोजिरहेका ‘छोराछोरी’का लागि पनि उहाँ रोकिनैपर्ने परिस्थिति छ । 

सुरु ओलीका प्रिय सुवास नेम्वाङबाट गरौँ । ओलीको उदयअघि नेम्वाङ नेपाली अम्बेडकर र संविधानका आधिकारिक व्याख्याताको हैसियत राख्नुहुन्थ्यो । अहिले धूर्त मुस्कानले लाचारी छोपिरहेका दयनीय पात्र लाग्नुहुन्छ । संविधानका पिता हुनुपर्ने नेम्वाङलाई संविधानको पुस्तकसँगै डराउनुपर्ने कसले बनाइदियो ? आफैँले लेखेको संविधानको अपव्याख्या गरेर स्वामीभक्ति देखाउने र राजनीतिको कुटिल दोकान थामिराख्ने मजबुरीमा उहाँको व्यक्तित्व कति तल गयो ? त्यस्तो ठूलो व्यक्तित्व संकोचहीन रफ्फुकार कसका कारण भयो ? मिडियाका अगाडि चट्ट मुस्कानका साथ आत्मविश्वासपूर्वक उभिने नेम्वाङ मिडियालाई छल्ने नयाँ सीप सिक्नतिर किन लाग्नुपर्‍यो ?

स्वभावले भद्र प्रदीप ज्ञवालीले पहिलो संसद् विघटनमै क्याबिनेटमा विरोध जनाउनुभएको थियो । पार्टी, आन्दोलन, मूल्य र मान्यताको प्रसंग उठाउनुभएको थियो । संसद् पुनर्स्थापना भए नैतिक रूपले सत्तामा रहँदैनौँ भन्नुभएको थियो । नैतिकता त परको कुरा, पछि तिनै ज्ञवाली दोस्रो विघटनको पनि प्रवक्ता बनिदिन पर्‍यो । जस्तोसुकै भद्रताले पनि हाँडी पखालेर सेतो बनाउन कसरी सक्छ ? बरु त्यो कालो भद्रतामा पनि सर्छ । राजनीतिक लाभका लागि उहाँ सबै सहन तयार हुनुहोला, तर उहाँको सार्वजनिक छविमा पुगेको क्षतिको जिम्मा ओलीले लिनुपर्दैन ?

संघीयताका जोदाहा पृथ्वीसुब्बा गुरुङ केन्द्रको सिको गर्दै प्रदेश सरकार बचाउने खेलमा बदनाम हुनुभयो । पछि पनि ओलीको आदेश मानेको भए केन्द्रलाई समेत माथ गर्ने ठाउँमा पुगिसक्नुभएको थियो । वैचारिक नेता मानिएका शंकर पोखरेलको वैचारिकता प्रदेश संसद्मा हरेक दिनजसो छचल्किइरहेको छ । उहाँ पनि कीर्तिमान कायम गर्ने बाटोमै हुनुहुन्छ । आखिर यो सबैको मूल कारखाना त ‘बा’ नै हुनुहुन्छ । 

ओलीको उदयअघि नेम्वाङ नेपाली अम्बेडकर र संविधानका आधिकारिक व्याख्याताको हैसियत राख्नुहुन्थ्यो । अहिले धूर्त मुस्कानले लाचारी छोपिरहेका दयनीय पात्र लाग्नुहुन्छ । संविधानका पिता हुनुपर्ने नेम्वाङलाई संविधानको पुस्तकसँगै डराउनुपर्ने कसले बनाइदियो ?

साँझ–बिहानै तीन सय साठी डिग्री घुम्न सक्ने वामदेवले यसपटक ‘अब नफर्कने गरी एमालेमा आएको छु’ भन्नुभएको छ । पछिल्ला बैठकमा नआए पनि ओलीले सधैँझैँ छुस्स एकपटक प्रधानमन्त्री पद सम्झाइदिनुभयो भने वामदेव स्थायी रूपमै फर्किन सक्नुहुन्छ । तर, ओलीले बनाइरहेको र बनाउन खोजेको एमालेमा वामदेवका केही अप्ठ्यारा छन् । त्यति बूढो मान्छे यो उमेरमा ओलीको स्कर्टिङमा कसरी हिँड्नुहोला, ‘नयाँ एमाले’ बनाउन ? कसरी दौडिनुहोला, युथफोर्सकै गतिमा जयजयकार गर्दै ? कसरी बोक्नुहोला, ओलीको त्यति ठूलो होर्डिङ बोर्ड ? कम्तीमा उहाँको उमेरप्रति दया गरेर भए पनि आफू रोकिनोस् र वामदेवलाई पनि रोक्नुहोस् न ‘बा’ । 

विघटित कार्यदलका अधिकांश सदस्यको मन पनि पुरानो एमालेतिरै छ । ती फर्किन सक्छन्, तर ओलीभन्दा ओलीको होर्डिङ बोर्डसँग बढी डराइरहेका छन् । ढिलो–छिटो जयजयकार र स्कर्टिङमै पुग्न र युथफोर्सभन्दा अघि उभिन तिनलाई हतार होला, तर अहिले तिनका केही दुःख छन् । आलु पनि शास्त्रको चक्कुले काट्नुपर्ने छवि बनाएका घनश्याम भुसालहरूलाई ओलीको होर्डिङवाला ‘नयाँ एमाले’को भाष्य रच्न अलि अप्ठेरो छ । तिनको सैद्धान्तिक ज्ञानमा कुनै शंका छैन, बाकुनिनदेखि रोजासम्म तिनलाई कण्ठस्थ छन् । तैपनि, मन्दिर, जलारी र टुप्पीको मार्क्सवादी सौन्दर्य तिनले पढेको साम्यवादमा नहुनाले ती थोरै अल्मलिएका छन् । सच्चा एमाले बनेर देशभर अदालतको भण्डाफोर गर्ने अभियान तुरुन्तै चलाइहाल्न तिनलाई थोरै संकोच लागेको छ । पार्टी र आन्दोलन साध्य हो कि साधन भन्ने सामान्य प्रश्न पनि पन्छाएर ‘एकता’को भावनात्मक बर्कोमा विवेकको बलि चढाउन तयार साथीहरूका लागि पनि त ‘बा’ थोरै रोकिनुपर्छ । आफैँले आरोप दागेका यति धेरै कलंकका साझेदार बन्न तयार पुराना कमरेडहरूलाई केही दिन मुख छोप्ने सानो खास्टो फालिदिँदा ‘बा’को के जान्छ ?

ओलीले अध्यक्ष पदलाई भूमिका होइन, जात बनाउनुभयो । भिन्न देखिन आफू अग्लो सोफामा बस्नुभयो र अरूलाई तल झार्नुभयो । के बिर्सनुभयो भने आसनमा शक्ति हुँदैन । हुन्थ्यो भने यही देशमा आसन होइन, सिंहासनमै बस्नेहरू थिए । देशै बिदा गरेर तिनको जन्मोत्सव मनाइन्थ्यो । श्री ५ र श्री ३ थिए । तीसँग श्रीपेच र राजदण्ड थियो । तिनका स्थायी निजी पल्टन थिए । तैपनि, ती गए । तिनका उपाधि, राजदण्ड र मुकुटका अगाडि यो ‘बा’ मा, स्कर्टिङमा, जयजयकारमा के दम छ ‘बा’ ?

ओली राष्ट्रपतिका लागि रोकिनु छ । उहाँले त्यो सर्वोच्च संस्थाको हुर्मत लिनुभयो । सचिव लुकाउन र भाग्नुपर्ने बनाउनुभयो । नितान्त निजी संस्थाको व्यवहार गर्नुभयो । अहिलेसम्म राष्ट्रपतिले प्रधानमन्त्रीका हरेक कदमलाई निःसर्त मान्नुपर्छ भन्ने भाष्य तयार गर्दै आएका ओली कम्तीमा अब त्यो संस्थाको दुरुपयोग गर्न रोकिनुपर्छ । 

ओली राम्रो वक्ता हो । जब प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँका भाषण सुन्दा आफू नेपालमै छु भन्ने बिर्सेर नेपाल घुम्न जान मन लाग्थ्यो । तर, सधैँ प्रतिक्रियाको राजनीति गर्नुभयो । सत्तामा हुँदा पनि क्रियात्मक हुनुभएन । त्यसैले उहाँलाई बालुवाटारबाट बालकोट पुर्‍यायो । अझै पनि उहाँसँग देशलाई हस्तक्षेप गर्न सक्ने पर्याप्त शक्ति छ । बिगार्न सक्ने शक्ति उहाँले धेरै प्रयोग गरिसक्नुभयो । यसपटक उहाँले रचनात्मक शक्तिको प्रयोग गर्नु छ । बालकोटको शान्त कक्षमा समीक्षा गर्न उहाँसँग पर्याप्त समय र विषय छन् । देशलाई जिम्मेवार ओलीको प्रतीक्षा छ । 

ad
ad