मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १४:१o:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालद्वारा साफ च्याम्पियनसिप आयोजनाको प्रस्ताव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:१o:oo

नेपालले दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) च्याम्पियनसिप आयोजना गर्ने प्रस्ताव गरेको छ । दक्षिण एसियाली खेलकुद महासंघसमक्ष अखिल नेपाल फुटबल संघ (एन्फा)ले आसन्न साफ च्याम्पियनसिप आयोजना गर्ने प्रस्ताव आइतबार पठाएको हो । बंगलादेशमा यही वर्षको १४ देखि २५ सेप्टेम्बरसम्म हुन लागेको साफ च्याम्पियनसिपबाट हात झिकेपछि नेपालले प्रस्ताव गरेको हो । कोरोना महामारीका कारण रंगशाला मर्मत, प्रायोजकको अभावलगायतका काम गर्न नसकेको भन्दै बंगलादेशले च्याम्पियनसिप आयोजना गर्न नसक्ने जनाएको हो । 

बंगलादेशले प्रतियोगिताबाट हात झिकेपछि नेपालसहित अन्य दक्षिण एसियाली राष्ट्रहरूले साफ च्याम्पियनसिप आयोजनाको दाबेदारी प्रस्तुत गरेका छन् । श्रीलंकाले पनि साफ आयोजना गर्न इच्छा देखाउँदै महासंघलाई पत्र पठाइसकेको एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताए । ‘हामीसँगै श्रीलंकाले पनि साफ आयोजनाको प्रस्ताव पठाएको छ,’ एन्फाका महासचिव तुलाधरले नयाँ पत्रिकासँग भने, ‘अहिलेसम्म नेपाल र श्रीलंकाबाहेक अन्यले दाबेदारी प्रस्तुत गरेका छैनन् ।’महासचिव तुलाधरका अनुसार बंगलादेशले मुख्य गरी प्रायोजक समस्याकै कारण आयोजनाबाट हात झिकेको हो । 

यद्यपि, प्रायोजक पाउँदा बंगलादेशले अझै पनि प्रतियोगिता गर्न सक्छ । दक्षिण एसियाली फुटबल महासंघमा अध्यक्ष र महासचिवसँग आयोजनासम्बन्धी कुराकानी भएको तुलाधरले बताएका छन् । एक वा दुई दिनभित्र जुम मिटिङको माध्यमबाट नयाँ आयोजक राष्ट्र घोषणा हुने उनले जानकारी दिएका छन् ।‘महासंघका अध्यक्ष र महासचिवले जुम मिटिङबाट साफ च्याम्पियनसिपका नयाँ आयोजक राष्ट्रका सम्बन्धमा छलफल गर्ने जानकारी दिएका छन्, सम्भवतः यो दुई दिनभित्र नै मिटिङ हुनेछ,’ उनले भने । सहभागी राष्ट्रहरूले साफ च्याम्पियनसिप सेप्टेम्बर महिनामै सकाउने धारणा राखेका छन् । नेपालले आयोजना गर्ने अवसर पाउँदा पहिलो प्राथमिकतामा सेप्टेम्बरभित्र प्रतियोगिता गर्न प्रयास हुने महासचिव तुलाधरले जनाए । 

यो समयमा नभए नेपालले सन् २०२२ को जनवरी महिनामा साफ च्याम्पियनसिप गर्ने उनले बताए । प्रधानमन्त्री केपी ओलीले आइतबारै साफ च्याम्पियनसिप आयोजना गर्न स्वीकृत दिइसकेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा थ्री नेसन्स कपको उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष टोलीका खेलाडीलाई पुरस्कृत गरेपछि प्रधानमन्त्री ओलीले एन्फालाई साफ आयोजना गर्न स्वीकृति दिएका हुन् । 

प्रधानमन्त्री ओलीले प्रतियोगिता आयोजना गर्न आर्थिक रूपमा कुनै समस्या नहुने विश्वास दिलाएका छन् । ‘साफ च्याम्पियनसिप नेपालमा हुन्छ,’ खेलाडीलाई पुरस्कृत गर्दै प्रधामन्त्री ओलीले भने, ‘साफ च्याम्पियनसिप जित्नका लागि हो ।’यता एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले भौतिक पूर्वाधारका सबै संरचनाका लागि नेपाल तयार रहेको जानकारी दिएका छन् । ‘हामीलाई भौतिक पूर्वाधार र प्रशिक्षण मैदानको समस्या छैन,’ एन्फा अध्यक्ष शेर्पा भन्छन् ।  नेपालले सन् २०१३ मा साफ च्याम्पियनसिप आयोजना गरेको थियो । घरेलु मैदानमा आयोजित प्रतियोयिगतामा नेपाल सेमिफाइनलमा पुगेको थियो । सन् २०१८ मा बंगलादेशमा भएको प्रतियोगितामा पनि नेपाल अन्तिम चारसम्म पुगेको थियो । नेपाल एकपटक पनि फाइनलमा पुगेको छैन ।