मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अजित अधिकारी काठमाडौं
२०७८ असार २७ आइतबार १०:४१:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

एक वर्षमा १९ पटक इन्धनको मूल्यवृद्धि, पेट्रोलमा २७ र डिजेलमा २४ रुपैयाँ बढ्यो

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७८ असार २७ आइतबार १०:४१:००

चालू आर्थिक वर्षको सुरुदेखि सकिन लाग्दासमेत नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि भएको छ । एक वर्षको अवधिमा पेट्रोल र डिजेलमा प्रतिलिटर क्रमशः २७ र २४ रुपैयाँ बढेको छ । जुन एकै वर्षमा बढेको अहिलेसम्मकै उच्च बिन्दु हो । यद्यपि, अन्तर्राष्ट्रिय बजारमा पनि कच्चा तेलको भाउ यो वर्ष करिब ३४ डलर प्रतिब्यारेलले बढेको छ । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर बढेर खरिद दरसमेत बढ्दा सोही दरमा मूल्य समायोजन नगरी घाटा सहेको निगमको दाबी छ । घाटा सहेर इन्धन बिक्री गरेका कारण चालू आर्थिक वर्ष ०७७/७८ मा करिब ४ अर्ब रुपैयाँ नोक्सानीमा जाने निगमको प्रारम्भिक प्रक्षेपण छ । ०७१ असोजदेखि स्वचालित मूल्य प्रणाली लागू गरेयता निगम पहिलोपटक नोक्सानीमा जान लागेको हो ।

आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले २२ असारमा सबै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नु बाध्यात्मक भएको बताए । ‘हामीले ठूलो नोक्सानी सहेर इन्धन बिक्री गरिरहेका थियौँ । तर, यसपटक पनि नयाँ खरिद बढेर आएपछि बाध्य भएर सबै पेट्रोलियमको मूल्य बढायौँ,’ उनले भने ।

आयल निगमले २२ असारबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक वायुसेवाले प्रयोग गर्ने हवाई इन्धनमा २–२ रुपैयाँ प्रतिलिटर, अन्तर्राष्ट्रिय वायुसेवाले प्रयोग गर्ने हवाई इन्धनमा १९ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यासमा २५ रुपैयाँ प्रतिसिलिन्डर मूल्यवृद्धि गरेको छ । मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय २९, डिजेल र मट्टीतेल समान १ सय १२ रुपैयाँ प्रतिलिटर पुगेको छ । आन्तरिक हवाई इन्धन ८४ रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन ७ सय ५४ डलर प्रतिकिलोलिटर तथा खाना पकाउने ग्यास प्रतिसिलिन्डर १ हजार ४ सय २५ रुपैयाँ पुगेको छ । यसअघि १७ पुस ०७४ मा सबै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो । 

पेट्रोलमा २७ र डिजेलमा २४ रुपैयाँ मूल्यवृद्धि

आयल निगमले चालू आवमा १५ पटक मूल्य समायोजन गरेको छ । त्यसमा दुईपटक १–१ रुपैयाँ गरेर डिजेल र मट्टीतेलको भाउ घटाएको छ, बाँकी समय मूल्यवृद्धि भएको छ । पेट्रोल भने कुनै पनि समय नघटाएर निरन्तर वृद्धि गरिएको छ । २६ असार ०७७ मा मूल्य समायोजन गर्दा निगमले पेट्रोल १ सय २ र डिजेल तथा मट्टीतेल समान ८८ रुपैयाँ प्रतिलिटर थियो । त्यस्तै, आन्तरिक वायुसेवा विमान कम्पनीले प्रयोग गर्ने हवाई इन्धन ६५ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय विमान कम्पनीले प्रयोग गर्ने हवाई इन्धनको मूल्य ८ सय ६८ डलर प्रतिकिलोलिटर थियो । खाना पकाउने एलपी ग्यास १ हजार ३ सय ७५ रुपैयाँ प्रतिसिलिन्डर थियो ।

चालू आर्थिक वर्षको सुरुवातमा यही मूल्य कायम थियो । तर, त्यसपछि निरन्तर मूल्य बढेर चालू आवको अन्त्यमा आइपुग्दा पेट्रोल १ सय २९ रुपैयाँ, डिजेल तथा मट्टीतेल समान १ सय १२ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ । पेट्रोलमा प्रतिलिटर २७ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २४ रुपैयाँ मूल्यवृद्धि भएको हो । त्यस्तै, आन्तरिक हवाई इन्धनतर्फ १९ रुपैयाँ प्रतिलिटर र खाना पकाउने एलपी ग्यासमा ५० रुपैयाँ प्रतिसिलिन्डर महँगो भएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा भने सरकारको हस्तक्षेपपछि निगमले २३ जेठमा भारी मूल्य कटौती गर्दै ७ सय १५ डलर प्रतिकिलोलिटर कायम गरेको थियो । त्यतिखेर एकैपटक १ सय ७८ डलर प्रतिकिलोलिटर मूल्य घटाए पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको भन्दै निगमले एक महिनामै ३९ डलर प्रतिकिलोलिटर मूल्य बढाएर ७ सय ७४ डलर प्रतिकिलोलिटर पु¥याएको छ । यद्यपि, आवको सुरुको तुलनामा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य १ सय १४ डलर प्रतिकिलोलिटर सस्तो भएको छ ।

कच्चा तेलको भाउ अढाई वर्षयताकै उच्च  
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ वृद्धि हुनेक्रम निरन्तर जारी छ । एक वर्षअघि असार ०७७ मा कच्चा तेलको भाउ ४० डलर प्रतिब्यारेल थियो । बिहीबार राति साढे नौ बजे कच्चा तेल ७३.८४ डलर प्रतिब्यारेलमा कारोबार भएको छ । यस अर्थमा एक वर्षमा कच्चा तेलको भाउ करिब ३४ डलर प्रतिब्यारेलले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा अहिले कायम भएको मूल्य (७३.८४ डलर प्रतिब्यारेल) अढाई वर्षयताकै उच्च बिन्दु हो । करिब अढाई वर्षअघि चैत ०७५ मा अन्तर्राष्ट्रिय बजारमा ७५ डलर प्रतिब्यारेल आसपास मूल्य कायम भएको थियो । त्यसयता निरन्तर भाउ घटेर पुनः उचाइ लिन थालेको हो । गत मंसिरसम्म मूल्य स्थिर रहने वा सामान्य दरमा बढ्ने गरेको थियो । तर, मंसिरदेखि निरन्तर वृद्धि हुँदा इन्डियन आयल कर्पोरेसन (आइओसी)ले निगमलाई पठाउने मूल्यसमेत उच्च हुँदै आएको छ ।