
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका दुई उपप्राध्यापकलाई बर्खास्त गरिएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक विश्वनाथ यादव र कानुन संकायका सुजन पन्तलाई बर्खास्त गरिएको हो । विद्यार्थीलाई आफूखुसी नम्बर दिएको आरोपमा विश्वविद्यालयको इन्जिनियरिङतर्फका स्नातकोत्तर कार्यक्रमका निर्देशक तथा उपप्राध्यापक यादवलाई बर्खास्त गरिएको हो भने पन्त प्रश्नपत्र बाहिरिन सहयोग गरेका कारणले बर्खास्तमा परेका हुन् ।
यादव स्थायी कर्मचारी हुन् भने पन्त करार सेवामा रहेका थिए । यादवले आर्थिक प्रलोभनमा परी विद्यार्थीलाई आफूखुसी नम्बर दिएको पाइएकाले बर्खास्त गरिएको उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले बताए । ‘विद्यालयको शैक्षिक मर्यादाविपरीत क्रियाकलाप गरेको छानबिनबाट पुष्टि भएपछि सेवाबाट बर्खास्त गरिएको छ,’ उनले भने, ‘विद्यार्थीको आन्तरिक मूल्यांकनतर्फ विषयशिक्षकले पठाएको नम्बर लुकाएर मनलाग्दी रूपमा नम्बर दिएको उजुरी परेको थियो । त्यसमा दोषी पाइएपछि बर्खास्त गरिएको हो ।’
उजुरी परेपछि छानबिन समितिले निर्देशक यादव र पन्तले आर्थिक प्रलोभनमा परी यस्तो काम गरेको निष्कर्षसहित दोषी भएको पुष्टि गरेको विश्वविद्यालयले जनाएको छ । छानबिन समितिले उपप्राध्यापक यादव र पन्त दोषी ठहर गरेको प्रतिवेदन उपकुलपति प्रा.डा. सिंहलाई केही दिनअघि बुझाएको थियो ।
प्रतिवेदनकै आधारमा उपप्राध्यापक यादव र पन्तलाई बर्खास्त गरिएको विश्वविद्यालयले जनाएको छ । पन्तलाई यसभन्दा अघि तीन महिनाका लागि निलम्बन गरिएको थियो भने यसपटक बर्खास्त नै गरिएको प्रा.डा. सिंहले जानकारी दिए ।