१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार २० आइतबार १८:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेता तथा कार्यकर्ता रिहा र मुद्दा फिर्ता गर्न विप्लव नेकपाको १० दिने अल्टिमेटम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार २० आइतबार १८:४१:००

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता–कार्यकर्ता रिहा र मुद्दा फिर्ताको काम १० दिनभित्र टुंग्याउन प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेको छ । आइतबार बिहान नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर यसअघि भएको सहमतिअनुसार १० दिनभित्र बन्दी रिहा र मुद्दा फिर्ता लिन भनेका हुन् । 

भेटमा प्रधानमन्त्री ओलीले यी काम प्रक्रियामै रहेको बताएका थिए । ‘प्रधानमन्त्रीले बन्दी रिहा र मुद्दा फिर्ताका लागि गम्भीर रहेको बताउनुभयो । हामीले १० दिनभित्र यी काम टुंग्याउनुपर्छ भनेका छौँ,’ नेकपा प्रवक्ता विश्वकर्माले भने । 

विश्वकर्माले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताए । दलित भएकै कारण पत्रकार रूपा सुनारलाई कोठा नदिएको आरोप लागेकी सरस्वती प्रधानलाई ‘लिफ्ट’ दिएको विषयमा शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने यदि अहिलेको राजनीतिक अवस्थाले त्यो सम्भव नभए सार्वजनिक माफी माग्नुपर्ने माग प्रधानमन्त्रीसँग राखेको उनले बताए । 

प्रधान महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट रिहा हुँदा मन्त्री श्रेष्ठले आफैँ प्रहरी कार्यालय पुगेर प्रधानलाई सरकारी गाडीमा राखेर घरसम्म पुर्‍याएका थिए । विश्वकर्माले राज्य नै उपस्थित भएर छुवाछुतलाई संरक्षण गरेको बताए ।

‘रूपा सुनार घटनामा शिक्षामन्त्रीले सार्वजनिक माफी माग्नुपर्छ भनेका छौँ । अहिलेको २१औँ शताब्दीमा छुवाछुत गर्न मिल्दैन । राज्य नै उपस्थित भएर छुवाछुतलाई संरक्षण गर्‍याे । यस्तो गर्न हुँदैन थियो भनेर प्रधानमन्त्रीलाई ध्यानाकर्षण गरेका छौँ,’ उनले भने । आइतबार नै रूपाले शिक्षामन्त्रीलाई बर्खास्त गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरेकी छन् ।