१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल तस्बिर/नयाँ पत्रिका
मञ्जु टेलर काठमाडाैं
२०७८ असार १५ मंगलबार ०६:०२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कोभिडपछिको स्वास्थ्य समस्या लिएर अस्पताल जाने बढे

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७८ असार १५ मंगलबार ०६:०२:००

बालबालिकामा एमआइएससीको समस्या बढ्दो 

कोभिड निको भएका बिरामीमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेपछि अस्पतालका जनरल वार्डहरू फेरि भरिन थालेका छन् । पहिलोभन्दा दोस्रो लहरमा कोभिडपछि देखिने स्वास्थ्य समस्या जटिल र धेरै संख्यामा छ । इमर्जेन्सी वार्ड, त्रिवि शिक्षण अस्पतालमा कोभिडपछिको समस्या लिएर आउने बिरामीको संख्या बढेको जानकारी डा. नीरज बमले दिए । १५ बिरामी आइसियूमा छन् भने जनरल वार्डमा ३० देखि ३५ जना बिरामी उपचाररत छन् । 

पोस्ट कोभिडले निम्त्याएको मनोवैज्ञानिक समस्या लिएर आउनेहरूको संख्या पनि उल्लेख्य छ । निद्रा नलाग्ने, रिँगटा लाग्ने, कमजोर महसुस हुने, छाती भारी हुने, ज्वरो आएजस्तो हुनेजस्ता स्वास्थ्य समस्या लिएर ओपिडीमा आउने बिरामी बढिरहेका छन् । 

फलस्वरूप अस्पतालहरूमा संक्रमितभन्दा पोस्ट कोभिड समस्या लिएर अस्पताल पुग्नेको संख्या बिस्तारै बढिरहेको छ । बिरामीको चाप बढेपछि टिचिङमा आइतबारबाट ओपिडी सेवा पोस्ट कोभिडका लागि मात्रै छुट्याइएको छ । यस्तै, टेकु सरुवारोग अस्पतालमा पनि सक्रिय संक्रमितभन्दा पोस्ट कोभिडको समस्याका बिरामी बढी आउन थालेको अस्पतालले जनाएको छ । 

टेकुमा सरुवा रोगबाहेक विशेषज्ञ सेवा उपलब्ध नभएकाले पोस्ट कोभिडका गम्भीर बिरामीहरू भने छैनन् । तर, निमोनिया, फाइब्रोसिस र इन्फेक्सनजस्ता समस्याका लागि इमर्जेन्सीमा फेरि बिरामी थपिन थालेको बताउँछन् सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन । 

उनी भन्छन्, ‘शारीरिक समस्याभन्दा पनि परीक्षण गराउँदा स्वास्थ्य समस्या नदेखिने, तर कमजोरी वा छटपटी महसुस भयो भन्दै अस्पताल आउनेहरू बढिरहेका छन् । पछिल्लो लहरको तुलनामा अहिले काउन्सिलिङका लागि आउने वा अनलाइनमार्फत आउनेहरूको संख्या बढेको छ । धेरैजसोमा निराशा बढ्दै गएको देखिन्छ ।’

विश्व स्वास्थ्य संगठनका अनुसार पहिलो लहरपछि मात्रै २० प्रतिशतभन्दा बढीमा मानसिक समस्या देखिएको थियो । दोस्रो लहरपछि त्यो समस्या झन् बढिरहेको छ । वीर अस्पतालमा पनि सक्रिय संक्रमितको संख्या घट्दै गए पनि पोस्ट कोभिडका बिरामीहरू बढिरहेका छन् । 

बालबालिकामा एमआइएससीको समस्या बढ्दो
मल्टिसिस्टम इन्फ्लेमेटरी सिंड्रोम इन चिल्ड्रेन (एमआइएससी) कोभिडपछि बालबालिकाहरूमा उत्पन्न हुने निकै दुर्लभ र गम्भीर अवस्था हो । यसले कोरोना संक्रमणपछि बालबालिकामा मुटु, फोक्सो, मिर्गाैला, छाला र आँखा सुन्निने समस्या निम्त्याउँछ । त्यसबाट प्रभावित हुनेहरूको संख्या बढिरहेको छ । 

कान्ति अस्पतालमा मात्रै ४५ जना बालबालिकामा एमआइएससीको समस्या देखिएको अस्पतालले जनाएको छ । चिकित्सकहरूका अनुसार यस्तो समस्या कोभिड निको भएको दुईदेखि चार हप्ताको बीचमा देखिन्छ । उच्च ज्वरो, मुटुको धमनी सुन्निने, कडा खालको निमोनिया भएर अक्सिजन आवश्यक पर्ने, मिर्गौलामा समस्या देखिने, रगतमा प्लेटलेट तथा हेमोग्लोबिन घट्न सक्ने बताउँछन् बालरोग विशेषज्ञ प्रा.डा. आरपी बिच्छा ।

कान्ति अस्पतालमा यस्ता समस्या लिएर आउनेको संख्या दिनानुदिन बढ्दै गइरहेको बिच्छाले जानकारी दिए । ‘तेस्रो लहरमा बालबालिका संक्रमित हुने अनुमान गरिएकाले पूर्वतयारी गरेका थियौँ, अहिले त्यही संख्यामा एमआइएससीका केसहरू आउन थालेका छन् । संक्रमण बढ्दै जाँदा समस्या बढ्दै जान्छ,’ बिच्छाले नयाँ पत्रिकासँग भने ।