मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ असार ८ मंगलबार ११:१५:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बाढीले सुपरदोर्दी ‘ख’को इन्टेकमा क्षति, उपकरण बगायो एक अर्ब क्षति भएको अनुमान

Read Time : > 1 मिनेट
२०७८ असार ८ मंगलबार ११:१५:००

दोर्दीखोलामा आएको बाढीले दोर्दीखोलामा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ’ख’ जलविद्युत् आयोजनाको इन्टेकमा क्षति पुगेको छ । बाढीले पावरहाउसमा पानी पसेको छ भने आयोजनाको निर्माण उपाकरण र निर्माण सामग्री बगाएको सुपरदोर्दी ’ख’ जलविद्युत् आयोजनाका सञ्चालक अर्जुन गौतमले बताए ।

दोर्दीखोलामा पानीको बहाव नघटेकाले आयोजनामा पुग्न समस्या भएको र तत्काल क्षतिको पूर्ण विवरण आउन नसकेको गौतमको भनाइ छ । उनका अनुसार बाढीले करिब एक अर्बबराबरकाे क्षति पुर्‍याएको आयोजनाको अनुमान छ । यस्तै, बाढीले २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजनाको संरचना बगाएको छ । ङादीमा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना र ४०.२७ मेगावाटको सुपरन्यादी जलविद्युत् आयोजनाको संरचनामा क्षति पुगेको छ । 

बाढीले प्रसारण लाइनका आठवटा टावर बगायो, सातवटा जोखिममा  
नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको १३२ केभीको डबल सर्किट दोर्दी कोरिडोर प्रसारण लाइनका चारवटा प्रसारण लाइनको टावर र सुपरदोर्दी ’ख’ले निर्माण गरेको चारवटा टावर दोर्दीखोलाको बाढीले बगाएको छ । सञ्चालनमा आउने तयारीमा रहेको प्रसारण लाइनको टावर बाढीले बगाएको प्रसारण लाइनका आयोजना प्रमुख रमेश पौडेलले बताए ।

उनका अनुसार खोलको छेउछाउमा रहेका सातवटा टावर उच्च जोखिममा छन् । प्रसारण लाइनको अभावमा विद्युत् उत्पादन प्रभावित हुँदै आएको दोर्दीखोलामा निमार्णाधीन जलविद्युत् आयोजनामा बाढीले प्रसारण लाइनको संरचनामा क्षति पुर्‍याएपछि थप प्रभावित हुने सुपरदोर्दी ’ख’ जलविद्युत् आयोजनाका सञ्चालक अर्जुन गौतमले बताए ।  

बाढीले १३२ केभी प्रसारणलाइनको सवस्टेसन जोखिममा
नेपाल विद्युत् प्राधिकरणले दोर्दी गाउँपालिका ६ ढोडेनीको कीर्तिपुरमा निर्माण गरेको १३२ केभी प्रसारणलाइनको सबस्टेसन दोर्दीखोलाको बाढीले जोखिममा परेको छ । २८ करोड लगानीमा निर्माण गरेको सवस्टेसन सोमबारदेखि परेको निरन्तरको वर्षासँगै आएको बाढीले जोखिममा परेको राष्ट्रिय प्रसारणलाइन आयोजनाका प्रमुख रमेश पौडेलले बताए ।

उनका अनुसार प्राधिकरणले नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनीमार्फत कीर्तिपुरमा  सवस्टेसन निर्माणको काम सम्पन्न गरी सवस्टेसन परीक्षणको तयारी अवस्थामा थियो । १३२ केभी प्रसारणलाइन दोर्दीखोलाको बाढीले जोखिममा पारेपछि  दोर्दीखोलामा उत्पादनको तयारी र निर्माणधीन अवस्थामा  रहेका आयोजनाहरू प्रभावित हुने माथिल्लो दोर्दी ए जलविद्युत् आयोजनाका सञ्चालक रामबहादुर पाण्डेले बताए ।

सवस्टेसनमा बाढीले क्षति पुर्‍याएमा प्रभाव २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको माथिल्लो दोर्दी ए, ५४ मेगावाटको सुपरदोर्दी ख, १२ मेगावाटको दोर्दी–१ लगायतका जलविद्युत् आयोजना प्रभावित हुने पाण्डेको भनाइ छ ।  निर्माणाधीन आयोजनामध्ये माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना उत्पादनको चरणमा छ ।

यस्तै दोर्दीखोला जलविद्युत् आयोजना ,दोर्दी–१ र सुपर दोर्दी ‘ख’ पनि निर्माणको अन्तिम चरणमा छन् । दोर्दी गाउँपालिका ६ ढोडेनीको कीर्तिपुरदेखि बेसीसहर नगरपालिका– १ उदीपुरसम्म १२ किलोमिटर १३२ केभी प्रसारणलाइन निर्माण सम्पन्न भएको आयोजना प्रमुख रमेश पौडेलले बताए ।