मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार ८ मंगलबार ०८:३५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

महामारीका वेलामा योगको महत्व झनै बढी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार ८ मंगलबार ०८:३५:००

सिर्जना ज्ञवाली 
भिराडिल योग साधना तथा मानसिक स्वास्थ्य केन्द्र 

हरेक वर्ष २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाइन्छ । यो दिवस सन् २०१५ देखि मनाउन थालिएको हो । विभिन्न रोगको रोकथामको भरपर्दो उपायका रूपमा राष्ट्रसंघका सदस्यहरूले राखेको योगसम्बन्धी प्रस्तावलाई विनाबहस अपनाएका हुन् र त्यसवेलादेखि नै दिवस नियमित रूपमा मनाउँदै आइएको छ । 

योग सूत्रको पहिलो रचयिता भगवान् शिवलाई मानिन्छ । नेपाललाई पनि प्राचीनकालदेखि नै योगभूमिका रूपमा मानिँदै आएको छ । प्राचीनकालमा ऋषिमुनीहरूले गर्ने गरेका हरेक क्रियाकलाप, प्राकृतिक उपचारको विधि तथा शारीरिक रूपमा गर्ने अभ्यासलाई योग भनिन्थ्यो । आध्यात्मिक दृष्टिकोणबाट योगलाई आत्माको परमात्मासितको जोडलाई चिनिन्छ ।

अहिले भने यसको परिभाषा अलि भिन्न र विस्तृत बनाइएको छ । यसलाई शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक स्वास्थ्यको रूपमा लिइन्छ । त्यसैगरी गुरुकुल र सन्त आश्रममा मात्र सीमित योग पछिल्लो समयमा घरघरमा, स्कुल कलेज, विभिन्न संघ संस्थामा महत्व र आर्कषण बढ्दो छ । त्यसमाथि कोभिड– १९ को महामारीमा योग एक प्रकारको अचुक औषधि नै प्रमाणित भएको छ । 

योगले के गर्छ ?
योगले वास्तवमा मानिसको जीवनशैली नै परिवर्तन गरिदिन्छ । मानिसलाई योगले सही ढंगले जीवन जिउने कलाबारेमा सिकाउँछ र मानिसको अस्तित्वबोध गराउँछ । व्यक्तिलाई प्रतिकूल परिस्थितिमा पनि नआतिने, नडराउने र संयमतापूर्वक काम गर्न सक्ने क्षमतामा वृद्धि गर्नुका साथै सामना गर्न सक्ने शक्ति बढाउँछ । 

अहिलेको आधुनिक व्यायामले बाहिरी शरीरमा मात्र प्रभाव पार्छ जसलाई हामी उमेर, तागत र निरोगी अवस्थामा मात्र गर्न सक्छौँ भने योगा अभ्यास सबै अवस्था र परिस्थितिमा जुनसुकै उमेर समूह, बिरामी सबैले गर्न सक्छन् । 

योग किन गर्ने ?
- शरीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ रहन ।
- आध्यात्मिक रूपमा स्वस्थ रहन ।
- कार्य क्षमतामा वृद्धि ।
- सिर्जनशील कार्यमा लागिरहन ।
- तनावलाई व्यवस्थापन गर्न ।
- चिन्ताबाट छुटकारा पाउन ।
- रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्न ।
- शरीरमा अक्सिजनको मात्रा बढाउन ।
- तन, मन र आत्माबीचको लयात्मकता ।
- अनावश्यक र नकारात्मक विचारबाट मुक्त रहन ।
- आन्तरिक शक्तिको सञ्चार ।
- सकारात्मक सोचको विकास ।
- ऊर्जाको केन्द्रीकरण ।
- आत्मज्ञान प्राप्ति र होसपूर्ण जीवन जिउन ।

यसरी कुनै पनि रोग लागेर उपचार गर्नभन्दा रोग नै लाग्न नदिनका लागि सर्वोत्कृष्ट उपाय भनेको नै योग हो, योग अभ्यास हो, साधना हो र प्राण भर्ने र आयु लामो बनाउने महत्वपूर्ण विधि हो । यसरी योगलाई वर्षमा एक दिन मात्र नभएर हरेक दिन योग दिवस मनाउने गरियो भने अर्थात् योगा अभ्यास, साधना गरियो भने मात्र यो दिवसप्रतिको सम्मान र अर्थ रहनेछ ।