१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
सम्पादकीय प्रिन्ट संस्करण

जलविद्युत् आयोजनाको भविष्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:३४:oo

असार पहिलो सातामै यस वर्षको मनसुनले नेपालका केही जिल्लालाई नराम्रोसँग प्रभावित पार्‍यो । केही मानिसको मृत्यु भयो । सयौँ परिवारले घर, सम्पत्ति र कमाउने थातथलो गुमाए । बाढीका कारण नदी या खोलाखोल्साको छेउछाउमा रहेका सानाठूला धेरै जलविद्युत् आयोजनासमेत प्रभावित भए ।

निजी क्षेत्रका विद्युत् उत्पादकहरूको संस्था निपानले जलविद्युत् क्षेत्रमा मात्रै १० अर्बबराबरको क्षति भएको बताएको छ । कास्कीको मादीनदीमा मात्र निर्माण सम्पन्न भई सञ्चालनमा रहेका तीनवटा र निर्माणाधीन अवस्थामा रहेका दुईवटा विद्युत् आयोजना क्षतिग्रस्त भएका छन् । सुपर मादीलगायत केही परियोजनाले आफ्नो मात्रै एक अर्बबराबरको क्षति भएको जनाएका छन् ।

मादी गाउँपालिका–१ मा विद्युत् आपूर्ति गर्दै आएको लघु जलविद्युत् आयोजना पनि त्यसरी नै क्षतिग्रस्त भएको छ । मस्र्याङ्दी, कालिगण्डकी तथा तिनका सहायक नदीमा रहेका कतिपय आयोजनामा पनि त्यसरी नै क्षति पुगेको जनाइएको छ । इन्द्रावती र तामाकोसी जलाधार क्षेत्रमा रहेका आयोजनामा पनि यस साताको बाढीले या त क्षति पु¥याएको छ, या उपल्लो भागमा पहिरोले नदी थुनेर ताल बन्न जाँदा तल्लो तटीय क्षेत्रमा रहेका आयोजना जोखिममा परेका छन् ।

रन अफ दि रिभर आयोजनाका रूपमा चिनिने यस्ता जलविद्युत् परियोजना कसरी सुरक्षित हुन्छन् भन्ने विषयमा अब थप अध्ययन गर्नुपर्ने देखिएको छ । यस्ता आयोजना स्थल र आसपासको वातावरणीय मूल्यांकन गर्ने, भौगर्भिक अध्ययन गर्ने, हिमालबाट बग्ने पानीमा आधारित नदीका हकमा हिमताल विस्फोटको सम्भावना हेर्ने र परियोजनाको संरचना बनाउँदा यी सबै प्रतिकूलतालाई सामना गर्न सक्ने गरी मात्र बनाउनतिर लाग्नुपर्ने देखिन्छ ।

जलवायु परिवर्तनले हिमाली क्षेत्र र यहाँको मौसमी प्रणालीमा आएको परिवर्तनसँग जोडेर फरक अध्ययन नगर्ने हो भने हाम्रा जलविद्युत् परियोजनाहरू पूर्ण क्षमतामा उपयोगमा नआउँदै जोखिममा धकेलिने देखिन्छ

पछिल्लो समय जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्र र हिमालपारिसमेत मौसमी प्रणालीमा आएको परिवर्तनसँग जोडेर फरक अध्ययन नगर्ने हो भने हाम्रो एउटा आशाको केन्द्रमा रहेको जलविद्युत् परियोजना पूर्ण क्षमतामा उपयोगमा नआउँदै जोखिममा धकेलिने देखिन्छ ।

जलवायु परिवर्तनकै कारण यसपालि मनाङ र मुस्ताङजस्ता हिमालपारिका जिल्लामा समेत पहिलेभन्दा निकै बढी वर्षा भएको छ । पहिले मनसुन अवधिभर हुनेजति वर्षा दुई–चार दिनमै हुनु शुभसंकेत अवश्य होइन । त्यहाँको मौसमी प्रणालीमा पानी धेरै पर्दैनथ्यो । त्यही भएर पनि त्यताका घरका छत माटोले बनेका हुन्थे । पानी परेर पग्लेर जाने जोखिम नभएको र न्यानो पनि हुने भएकाले यसअघि बनाइएका माटोका छत हुने घरहरू अब काम नलाग्ने भएका छन् ।

यसको प्रभाव हिँउ पर्ने चक्र र त्यसका आधारमा उत्पत्ति भएर बग्ने नदीको मुहानका स्रोतहरूमा पर्न जान्छ । त्यससँगै पहिलेभन्दा बढी बाढी–पहिरो आउने पनि लगभग निश्चितजस्तै छ । यससँगै हिमतालहरू भरिएर विस्फोट हुने खतरा पनि बढ्नेछ । यसले त्यसभन्दा तलको क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका संरचनालाई प्रभावित गर्नेछ ।

बिस्तारै वर्षामा नदी ठूला हुने तर सुक्खायाममा हिउँ पग्लन कम भएर नदीमा कम पानी प्रवाह हुँदा विद्युत् उत्पादन क्षमताबारे अहिले गरिएका अनुमान अवास्तविक ठहरिने सम्भावना छ । जलवायु परिवर्तनसँगै हिमालआरपार क्षेत्रको मौसमी प्रणालीमा आउने परिवर्तनका दीर्घकालीन असरको अध्ययन गरेर यस्ता जलविद्युत् परियोजनाबारे नीति बनाउन सरकारले तत्काल ध्यान देओस् ।

ad
ad