१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार २o:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निर्माणमा लापरबाही भएपछि सडकमै रोपाइँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार २o:३७:oo

कालोपत्रेको माग गर्दै धनगढीका स्थानीयले धनगढी उपमहानगरपालिका– ५, हसनपुरदेखि शिवरनगर जोड्ने हिलाम्य सडकमा रोपाइँ गरेका छन् । ठेकेदार र उपमहानगरको लापरबाहीले अलपत्र परेको सडक हिलाम्य हुँदा सास्ती व्यहोर्नुपरेपछि स्थानीयले विरोधमा सडकमै धान रोपेका हुन् ।

निर्माण सम्झौता भएको तीन वर्षसम्म पनि सडक नबन्दा आफूहरूले सास्ती व्यहोर्नुपरेको उनीहरूको गुनासो छ । उपमहानगरपालिका र निर्माण कम्पनीले सडक निर्माणमा चासो नदिएपछि विरोधमा उत्रनुपरेको स्थानीय हिमाल जोशीले बताए । डोजरले खनेर नालीको माटो बीचसडकमा फालेर ठेकेदार कम्पनी फर्केर नआएको जोशीले बताए ।

‘सडक निर्माणका लागि भन्दै पुरानो कालोपत्रे भत्कायो । नाली खनेर माटो सडकमा थुपारेको माटोले हिलाम्य हुँदा आवतजावत गर्न निकै समस्या भएको छ,’ जोशीले भने, ‘असारभित्रै कालोपत्रे गर्ने प्रतिबद्धता जनाएको ठेकोदार कम्पनी चैतयता फर्केर आएन ।’ निर्माण सम्झौता भएको तीन वर्षसम्म काम नभएर सडक अलपत्र पर्दा उपमहानगरले समेत चासो नदिएको स्थानीयको गुनासो छ ।

सडकमा रोपाइँ गरेपछि उपमहानगरपालिका पुगेका स्थानीयले जनप्रतिनिधिविरुद्ध नाराबाजी गरे । उनीहरूले ओहोरदोहोर नै गर्न नसकिने अवस्था आएको भन्दै ठेकेदारलाई काम गराउन उपमहानगरलाई आग्रह गरे । लकडाउनलगायत विभिन्न कारण देखाएर निर्माण कम्पनीले समयमै काम नगरेको उपमहानगरका इन्जिनियर दिजराज भट्टले बताए ।

तीन सय मिटर लामो उक्त सडक निर्माणका लागि सवा ७३ लाखमा सहारा कन्स्ट्रक्सनसँग तीन वर्षअघि सम्झौता भएको उनले बताए । निर्माण कम्पनीका सञ्चालक सम्पर्कमै नरहेको उपमहानगरले जनाएको छ ।
 

ad
ad