मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ४ शुक्रबार ०६:०३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आर्थिक क्षेत्र खुकुलो बनाउँदै ‘स्मार्ट लकडाउन’को तयारी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ४ शुक्रबार ०६:०३:००

कोरोना संक्रमणमा केही कमी आएपछि सरकारले ‘स्मार्ट लकडाउन’को अवधारण अघि बढाएको छ । संक्रमण फैलन नदिने गरी आर्थिक क्षेत्रलाई बिस्तारै खुला गर्ने सरकारको योजना छ । 

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बुधबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समिति (सिसिएमसी) को बैठकले ‘स्मार्ट लकडाउन’को अवधारण अघि सारेको हो । जसअनुसार निषेधाज्ञालाई व्यावहारिक बनाइने सिसिएसमीका प्रमुख कार्यकारी अधिकृत बालानन्द शर्माले बताए । ‘फेरि संक्रमण फैलन नदिने गरी आर्थिक क्षेत्र खुला गराउने योजनाअघि स्मार्ट लकडाउनको अवधारणा सारिएको हो,’ उनले भने, ‘यसअन्र्तगत परिस्थितिअनुसार निर्णय गर्दै गइनेछ ।’

शर्माका अनुसार ८ असारबाटै ‘लुजडाउन’ हुने सम्भावना छैन । त्यसपछिको हप्तामा पनि संक्रमणदर र मृत्युदुर घट्दै गएमा स्मार्ट लकडाउनको अवधारण लागू हुनेछ । गत वर्ष असारबाटै सरकारले लकडाउन खुकुलो बनाएको थियो । तर, एक महिनामै संक्रमण बढेपछि फेरि कडा लकडाउन गरिएको थियो । त्यही घटनाबाट सिकेर यसपटक सरकारले निषेधाज्ञा खोल्दा थप सतर्कता अपनाउन लागेको हो । ‘हामी हचुवाको भरमा निषेधाज्ञा खोल्ने पक्षमा छैनौँ, गत वर्ष असारमा लकडाउन खोल्दा संक्रमण बढ्यो,’ शर्माले भने, ‘यसपटक हामी फेरि त्यस्तो अवस्था नआओस् भन्नेमा छौँ, जनताको जीवन मुख्य कुरा हो, त्यसकारण हामी परिस्थितिको गहन मूल्यांकन गरेर अघि बढ्नेछौँ ।’

शर्माका अनुसार सकेसम्म आर्थिक क्षेत्रलाई पनि केही खुकुलो गर्दै जाने र ५÷६ जना भन्दा धेरै व्यक्ति भेट नहुने गरी स्मार्ट लकडाउनको अवधारण लागू गरिनेछ । ‘गत वर्ष हामी जोर–बिजोर प्रणालीमा गयौँ,’ उनले भने, ‘यसपटक हामी अत्यावश्यकताको आधारमा निर्णय गर्छाै, एकतिहाइ मात्र सवारी चलाउँदा पुग्ने अवस्था जोर–बिजोर नै गरिरहनुपर्ने आवश्यकता नहुन सक्छ ।’ 

सरकारी कार्यालयहरू खोल्ने तयारी 
कोरोना संक्रमण घट्दै गएपछि सरकारी कार्यालयहरू पनि सञ्चालनको तयारी थालिएको छ । सम्भवतः अर्काे सातादेखि केही सरकारी कार्यालयले सेवा दिने गरी सञ्चालन हुनेछन् । उपत्यकामा ७ असार रातिसम्म निषेधाज्ञा लम्बाइएको छ, त्यतिवेलासम्म संक्रमणदर थप घटेमा अन्य क्षेत्रमा खुलाउने जिल्ला प्रशासन कार्यालयको तयारी छ । अहिलेको ‘ट्रेन्ड’अनुसार संक्रमण घट्ने देखिएकाले सरकारी कार्यालयहरू सञ्चालन गर्न आन्तरिक तयारी थालिएको छ । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मालपोत कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । जसअनुसार कतिपय जिल्लाहरूमा मालपोत कार्यालय खुलिसकेका छन् । ‘प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेरे सेवा प्रवाहबाट निर्णय लिन हामीले प्रस्ट निर्देशन दिएका छौँ,’ विभागका महानिर्देशक शेषनारायण पौडेलले भने, ‘अहिले पनि मालपोत कार्यालयमा आन्तरिक काम गरिरहेका छौँ, अब परिस्थिति हेरेर निर्णय गर्छौं ।’ 

मन्त्रालयहरूमा पनि कर्मचारीको उपस्थिति बढ्दै गएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिवसम्मका कर्मचारीलाई अनिवार्य रूपमा र तल्लो तहकालाई आवश्यकताअनुसार कार्यालय आउन निर्देशन दिएको छ । ‘बजेटका कार्यक्रम बनाउका लागि काम गर्नुपर्ने अवस्था छ,’ मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने, ‘असार महिना आर्थिक वर्षको अन्तिम महिना भएकाले कामको फाइनल ट्युनिङ दिने, भुक्तानी दिने र राजस्व उठाउने महिनासमेत भएकाले अब कार्यालय खोल्ने तयारी भइरहेको छ ।’ 

संक्रमणदर ५ प्रतिशतबाट नघटी निषेधाज्ञा खुल्दैन : बालानन्द शर्मा प्रमुख कार्यकारी अधिकृत सिसिएमसी

स्मार्ट कन्ट्रक्सन भनेजस्तै हामीले स्मार्ट लकडाउनको अवधारणा अघि सारेका हौँ । यो भनेको जति आवश्यकता छ, त्यति मात्र खुकुलो गर्ने र संक्रमण बढ्न नदिने गरी स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्दै आर्थिक क्षेत्रलाई खुकुलो बनाउने हो ।

हचुवाको भरमा खुकुलो गर्न मिल्दैन । अहिले हाम्रोमा संक्रमणदर २३/२४ प्रतिशत छ । त्यो भनेको एकदमै उच्च हो । हिजो हाम्रो देशमा भारतमा भन्दा दयनीय अवस्था थियो । हाम्रोमा दैनिक दुई सयजनाको मृत्यु हुनु भनेको जनसंख्याका आधारमा भारतमा दैनिक २० हजारको मृत्यु भएको बराबर हो ।

त्यो अवस्थाबाट हाम्रोमा अहिले अवस्था नियन्त्रणमा आएको छ । तर, संक्रमणदर अझै उच्च नै छ । विश्व स्वास्थ्य संगठनले संक्रमणदर ५ प्रतिशतबाट तल नआई लकडाउन खोल्न मिल्दैन भनेको छ । त्यसकारण हामी गम्भीर मूल्यांकन गरेर मात्र निर्णय गर्दै जान्छौँ ।

अर्काेतर्फ कोरोनाको नयाँ भेरियन्ट पनि आउन सक्छ । अहिले निषेधाज्ञाकै कारण अवस्थामा नियन्त्रणमा आएको हो । त्यसकारण तत्कालै निषेधाज्ञा हट्ने सम्भावना छैन । अब हामीले भ्याक्सिनमा पनि पहल गरिरहेका छौँ ।

चीनबाट ४० लाख डोज खोप किन्ने निर्णय भयो भन्ने सुनेका छौँ । खरिदको प्रक्रिया परिपक्व हुँदै छ । सर्वसाधारणको दैनिक रोजीरोटी पनि नगुमोस् र कोरोना संक्रमण पनि नफैलियोस् भन्ने हाम्रो उद्देश्य छ । त्यसकारण लागि निषेधाज्ञालाई व्यावहारिक र स्मार्ट बनाउने हाम्रो तयारी छ ।