मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ असार १ मंगलबार ११:४९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीले मनाङको तालगाउँ डुबानमा, बेलिब्रिज र विद्युतगृह बगायो

Read Time : > 1 मिनेट
२०७८ असार १ मंगलबार ११:४९:००

निरन्तर वर्षासँगै आएको बाढीले हिमाली जिल्ला मनाङको तालगाउँ डुबानमा परेको छ । नासो गाउँपालिका– १ मा पर्ने तालगाउँ सोमबारदेखिको निरन्तरको वर्षाका कारण आएको बाढीले डुबानमा परेको हो । मर्स्याङ्दीछेउमा रहेकाे तालगाउँका ६० घरमध्ये ३० घर डुबानमा परिसकेको स्थानीय करसाङ गुरुङले बताए ।  बाँकी घर पनि जोखिममा छन् ।  स्थानीय घर छाडेर बाहिर  सुरक्षित ठाउँमा बसेकाले मानवीय क्षति नभएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । 

उनका अनुसार तालगाउँका स्थानीय अहिले पानी नभएको ठाउँमा बसेका छन् ।  मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्दै जाँदा पानी थुनिएर बस्तीमाथि डुबाउँदै आएको स्थानीय मिनराशि गुरुङले बताइन् । उनले भनिन्,  ‘खोलामा बाढी आउँछ कि भन्ने डरले रातभर निदाएको छैन ।’

मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले उक्त क्षेत्रमा प्रहरी खटिसकेको बताए । तालमा रहेको प्रहरी चौकीको टोली र स्थानीय उक्त क्षेत्रको उद्धारमा लागेका छन् । उनका अनुसार गाउँसँगै विद्यालय र वडा कार्यालय पनि डुबानमा परेको छ । यस्तै सदरमुकाम चामे  स्थित  तातोपानी कुन्ड नजिकैको बस्तिमा मर्स्याङ्दी नदी पसेपछि उक्त क्षेत्र डुबानमा परेको छ । 

वर्षाका कारण चामेको नयाँबजारनजिकैको घट्टेखोला बढेर बस्तीभित्र बाढी पसेको सशस्त्र प्रहरी बल नेपाल मनाङका प्रमुख  डिएसपी होमनाथ पन्थीले बताए । लगातारको वर्षापछि आएको बाढीले मनाङमा विद्युतगृह, बेलिब्रिज र काठेपुल बगाएको  डिएसपी पन्थीको  भनाइ छ ।

 सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका– १, तिमाङ खोलाको बेलिब्रिज बगाएको हो । तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह पनि बगाएको छ । त्यस्तै सदरमुकाम चामेमा चारवटा घर बाढीले बगाएर क्षति पुर्‍याएको छ । 

चामेको नयाँबजारका स्थानीयलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयले सुरक्षित स्थानमा स्थान्तरण गरिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए ।