कोरोना महामारीको दोस्रो लहर र लामो निषेधज्ञाले गर्दा खाधान्न चरम अभावमा रहेकोे विष्णु गाउँपालिका– ७ दुलबाका ७० अतिविपन्न परिवारलाई दौँतरी फ्रेन्ड्स फर फ्युचरको सहयोगमा खाद्यान्न राहत प्याकेज प्रदान गरिएको छ । भारतसँगको सीमास्थित सीमारक्षकका रूपमा रहेका दुलबाका अतिविपन्न परिवारहरूलाई भोकमरीबाट बचाउन दौँतरीले सहयोग उपलब्ध गराएको हो ।
निषेधाज्ञाका कारण ज्यालामजदुरी पनि गर्न नपाउने र ऋण गरेर मात्रै परिवार नचल्ने अवस्था भएपछि अनुसन्धानमूलक परोपकारी संस्था भोरको पहल र व्यवस्थापनमा खाद्यान्न राहत प्याकेज प्रदान गरिएको अध्यक्ष पचुलाल माझीले बताए । ‘कसैले पनि भोकले गर्दा मृत्युवरण गर्न नपरोस्, खाद्यान्न अभावमा कोही पनि भोकमरी वा कुपोषणको कुचक्रमा नपरोस् भन्ने उद्देश्यले यहाँ ७० दलित तथा अतिविपन्न परिवारलाई राहत उपलब्ध गराएका हाँै,’ उनले भने ।
खाद्यान्न राहत प्याकेजमा प्रतिपरिवार २५ किलो चामल, पाँच किलोे तरकारी, एक किलो सोयाबिन, एक लिटर खाने तेल, चारवटा साबुन, ५० पिस सर्जिकल मास्क, दाल र आयोडिनयुक्त नुन संलग्न गरिएको छ ।
तराई–मधेसको सीमान्तकृत समुदायमा पहिला पनि दौँतरी फ्रेन्ड्स फर फ्युचरले खाद्यान्न राहत तथा अन्य सहयोगमार्फत मानवीय कार्य गर्दै आएको छ ।