१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
रमेश रावल वीरेन्द्रनगर
Invalid date format ११:५१:oo
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

कर्णाली प्रदेश सरकारले २० मेगावाटको जलविद्युत् बनाउने

Read Time : > 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
Invalid date format ११:५१:oo

पुरानै आयोजना तथा कार्यक्रमलाई निरन्तरता दिँदै कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । ‘स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगार : दिगो विकास र समृद्धिका लागि पूर्वाधार’ भन्ने मूल ध्येय लिई कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । 

केन्द्र सरकारले आन्तरिक पर्यटनका लागि १० दिन कर्मचारीलाई बिदा दिने निर्णयको सिको गर्दै कर्णाली प्रदेशले पर्यटनका लागि १२ दिन बिदा दिने भएको छ । प्रदेश प्रमुख कलौनीले नीति तथा कार्यक्रम पेस गर्दै भने, ‘प्रदेश पर्यटन गुरुयोजनाअनुसार सुनौलो त्रिभुज (काँक्रेबिहार–रारा–फोक्सुन्डो) र सुनौलो सिक्री (वीरेन्द्रनगर–हिल्सा–मानसरोवर) जोड्ने अवधारणाअनुसार यस मार्ग र आसपासका (काँक्रेबिहार, पञ्चकोसी, पचाल झरना, पिली, सिञ्जा, जुम्ला, कुभिन्डे दह, स्यार्पु, चित्री पाटन, साङ्ट गुफा, मालारानी गुफा आदि) पर्यटकीय पूर्वाधारको विकासलाई अगाडि बढाइनेछ ।’ 

रेड पान्डा, यार्सा र गुरिल्ला ट्रेललगायत अन्य सम्भावित पदमार्गहरूको ‘पदमार्ग परीक्षण’ गरी सञ्चालन गर्ने र कालिकोटको पिली, रुकुमको खारा, जाजरकोटको जुनीमा युद्ध संग्रहालय निर्माण र अन्य सामरिक स्थानमा सम्भाव्यताको अध्ययन गरी युद्ध पर्यटन छनोट गर्ने नीति तथा कार्यक्रम ल्याएको छ ।

कर्णालीको पानी जनताको लगानी
चालू आर्थिक वर्षमा नीति तथा कार्यक्रममा ल्याएर पनि प्रभावकारी बन्न नसकेको ‘कर्णालीको पानी : जनताको लगानी’ अभियान सञ्चालनका लागि जलस्रोत गुरुयोजना तयार गरी सिँचाइ, खानेपानी, जलाशय र जलविद्युत्को विकास र बहुउद्देश्यीय उपयोग गर्ने नीति लिइने प्रदेश प्रमुख कलौनीले जनाए । उनले भने, ‘आगामी आर्थिक वर्षभित्र २० मेगावाटसम्मको एउटा जलविद्युत् आयोजना कार्यान्वयनको कार्य अगाडि बढाइनेछ ।’

प्रदेशको अधिकार क्षेत्रभित्र रहेका जलविद्युत् आयोजनाहरू प्रदेश सरकार आफँै वा साझेदारीमा निर्माण तथा सञ्चालन गर्ने नीति लिएको छ । फुकोट जलविद्युत् आयोजना, ताक्सुगाड जलविद्युत् आयोजना, भेरी–बबई बहुउद्देश्यीय आयोजना र जगदुल्ला जलविद्युत् आयोजनामा प्रदेश सरकारले सेयर लगानी गर्नुका साथै भेरी–बबई बहुउद्देश्यीय आयोजनाको बाँधको पश्चिम भागबाट विद्युत् उत्पादन गर्न आवश्यक प्रक्रिया थालनी गर्ने प्रदेश सरकारको नीति तथा कार्यक्रम रहेको छ । 

केबलकार बनाउने लक्ष्य
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटन प्रवर्द्धन, आवागमन र आर्थिक विकासका गतिविधिलाई टेवा पुग्ने गरी सुर्खेत–सिद्धपाइला, कालिकोट–कोटवाडा–मान्म, मुगुको रारा–मुर्माटपलगायतका स्थानहरूमा केबलकार निर्माणको सम्भाव्यता अध्ययन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइने उल्लेख गरेको छ ।

त्यस्तै, सुरुङमार्ग, जलमार्ग र रोप–वेलगायतका रणनीतिक महत्वका पूर्वाधार आयोजनाको सम्भाव्यता अध्ययन गरी सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्ने नीति तथा कार्यक्रम ल्याएको छ ।