१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १७:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस जिल्ला सभापतिहरूले भने, ‘राष्ट्रपतिको भूमिका असन्तुलित र द्वैध’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १७:३९:oo

कांग्रेसका जिल्ला सभापतिहरूले वर्तमान राष्ट्रपतिकोे असन्तुलित र द्वैध भूमिकाप्रति प्रश्न उठाएका छन् । राष्ट्रपतिले संविधानको भरपर्दो रक्षक र आमजनताको निष्पक्ष अभिभावक बन्नुपर्ने कर्तव्यलाई भुलेर राष्ट्रपतिले असन्तुलित र द्वैध भूमिका प्रदर्शन गरेको जिल्ला सभापतिहरूको आरोप छ । 

‘चुनावको घोषणा गरिसकेपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुनर्गठन गर्न खोज्दा सहमति नदिने, अहिले प्रधानमन्त्रीले हेरफेर गर्नेबित्तिकै स्वीकृति दिने ? यो के आधारमा हो ?,’ नुवाकोटका सभापति जगदीश्वरनरसिह केसीले नयाँ पत्रिकासँग भने । 

भर्चुअल बैठकपछि जारी १० बुँदे वक्तव्यमार्फत जिल्ला सभापतिहरूले वर्तमान सरकार योजनाबद्ध रूपमा प्रतिगमनतर्फ अग्रसर भएको, सरकारकै कारण नेपालको राष्ट्र र राष्ट्रियताको जग इतिहासमै कमजोर बनेको, भ्रष्टाचार मौलाएको, सरकार आफैँले कानुनी शासनको धज्जी उडाएको तथा सरकार आफैँ राजनीतिक स्थिरताको विपक्षमा उभिएको ठहर गरेका छन् । 

सभापतिहरूले सरकारले कोभिड संक्रमण रोकथाममा देखाएको अकर्मण्यता तथा राजनीतिक प्रतिगमनविरुद्ध कांग्रेसको भूमिका प्रभावकारी बनाउन तथा पार्टीको १४औँ महाधिवेशन समयमै गर्नका लागि सामूहिक रूपमा सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । 

‘जननिर्वाचित संसद्प्रति उत्तरदायी रहनुपर्ने मुलुकको कार्यकारी प्रमुख स्वयंले प्रतिनिधिसभाप्रति ज्यादै असहिष्णु र पूर्वाग्राही बन्नु र पटक–पटक विघटन गर्नु, संसद् छलेर अध्यादेश र आदेशको भरमा सत्ता सञ्चालन गर्नु, आफूले संसद्को विश्वास गुमाइसकेर पनि संविधानको प्रावधानविपरीत प्रधानमन्त्री पदप्रति निर्लज्ज आशक्ति देखाइरहनु र एकोहोरो निर्वाचनको रट लगाउनुले यो सरकार वर्तमान संविधान र लोकतन्त्रकै विरुद्ध योजनाबद्ध रोडम्यापसहित प्रतिगमनतर्फ अग्रसर भएको ठहर गर्दछौँ,’ सभापतिहरूले संयुक्त वक्तव्यमार्फत भनेका छन् । 

उपप्रधानमन्त्री राजेन्द्र महतोले राष्ट्र विखण्डनको आसयमा ‘बहुल राष्ट्र राज्य’को वकालतले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतामाथि गम्भीर प्रहार भएको बताएका छन् । 

‘इतिहासमै कुनै पनि जननिर्वाचित सरकारको पालामा अहिलेजस्तो राष्ट्र, राष्ट्रियताको जग यतिबिघ्न कमजोर भएको थिएन । प्रधानमन्त्री विदेशी गुप्तचरसँग रातभर गोप्य संवाद गर्ने, उपप्रधानमन्त्रीले राष्ट्र विखण्डनको आसयमा ‘बहुल राष्ट्र राज्य’को वकालत गर्नेजस्ता घटनाले हाम्रो सार्वभौमसत्ता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतामाथि गम्भीर प्रहार भएको छ,’ वक्तव्यमा उल्लेख छ । 

कांग्रेस सभापतिहरूले कोभिड संक्रमणको नयाँ लहरले सहर–गाउँ सबै लपेटिसक्दा पनि सामान्य सिटामोल, थर्मोमिटर, अक्सिमिटर तथा अक्सिजन सिलिन्डर उपलब्ध गराउनेतर्फ यो सरकार संवेदनशील नरहेको बताएका छन् । 

‘भ्रष्टाचार यो सरकारको दिनचर्याझैँ बनेको छ । वाइडवडी काण्ड, फोरजी काण्ड, यती–ओम्नी काण्ड, प्रिन्टिङ प्रेस काण्ड, बालुवाटार जग्गा काण्ड, बुढीगण्डकी काण्ड, सुन काण्ड, कोभिड औषधि–उपकरण काण्डजस्ता थुप्रै भ्रष्टाचारको लामो सूचीका कारण पनि नेपालको अन्तर्राष्ट्रिय छवि ध्वस्त भएको छ,’ वक्तव्यमा भनिएको छ, ‘उल्टै नेपालमा प्रधानमन्त्रीको तहबाट नै भ्रष्टाचारीहरू संरक्षित रहेको सप्रमाण ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन सार्वजनिक भएबाट आमनागरिकको शिर निहुराएको छ । अविलम्ब सम्पूर्ण भ्रष्टाचार काण्डहरूको विश्वसनीय छानबिन गरी दोषीहरूमाथि कडासेकडा सजायको माग गर्दछौँ ।’

ad
ad