मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २२ शनिबार ०७:४२:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाली टोली उत्साहित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २२ शनिबार ०७:४२:००

मुख्य प्रशिक्षक अल्मुताइरीको नेतृत्वमा नेपालले खेलेको पछिल्लो दुई खेलमा गरेको प्रशंसनीय प्रदर्शनले पनि टोलीमा उनको प्रभाव देखाएको छ । मैदानभित्र र बाहिर नेपाली टोली एकजुट देखिएको छ । अझ महत्वपूर्ण पक्ष प्रशिक्षक अल्मुताइरीको नेतृत्व र शैलीसँगै पछिल्लो दुई खेलमा प्राप्त नतिजाबाट खेलाडी उत्साहित देखिएका छन् ।

...                  ...

कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली टोलीको जिम्मेवारी सम्हालेको पहिलो दिनबाटै प्रयोग गर्दै आइरहेको शब्द हो, वान टिम, वान गोल (अर्थात् एक टिम, एक उद्देश्य) ।  यसले खेलाडीहरूलाई एउटा टिमको रूपमा खेल्न प्रेरित गर्नेछ । टिममा खेलिने फुटबलमा यो मन्त्रले ठूलो अर्थ राख्दछ । खेलाडी व्यक्तिगत रूपमा जति नै सक्षम भए पनि टिमसँग मिलेर खेल्न सकेन भने सफलता मुस्किल हुने गर्दछ । प्रशिक्षक अल्मुताइरीको यो मन्त्रले नेपाली टोलीमा पनि ठूलै प्रभाव पारेको देखिएको छ । 

उनको नेतृत्वमा नेपालले खेलेको पछिल्लो दुई खेलमा गरेको प्रशंसनीय प्रदर्शनले पनि टोलीमा उनको प्रभाव देखाएको छ । मैदानभित्र र बाहिर नेपाली टोली एकजुट देखिएको छ । अझ महत्वपूर्ण पक्ष प्रशिक्षक अल्मुताइरीको नेतृत्व र शैलीसँगै पछिल्लो दुई खेलमा प्राप्त नतिजाबाट खेलाडीहरू उत्साहित देखिएका छन् । नेपालले गत शनिबार भएको खेलमा इराकसँग ६–२ को पराजय व्यहोरेको थियो । यद्यपि, फिफाको विश्व वरीयतामा आफूभन्दा एक सय तीन स्थानमाथिको टोली इराकविरुद्धको खेलमा नेपालले कुनै समय २–१ को अग्रतासम्म बनाएको थियो ।

त्यसपछि आफ्नै गल्तीमा गोल व्यहोर्दा मात्रै नेपालले ठूलो अन्तरको पराजय व्यहोरेको थियो । बिहीबार पनि नेपालले फिफा वरीयतामा आफूभन्दा ३० स्थानमाथिको चाइनिज ताइपेईलाई पराजित गरेको हो । कुनै पनि प्रशिक्षक क्षमता र सफलतालाई दुई खेलमा प्राप्त नतिजाबाट आकलन गर्न‘ हतार हुनेछ । जारी कुवेत बसाइमा नेपाली टोलीले अझ दुई महत्वपूर्ण खेल खेल्न बाँकी छ । 

त्यसमध्ये नेपालले यही २४ जेठमा जोर्डन र २८ जेठमा अस्टे«लियासँग प्रतिस्पर्धा गर्नेछ । फिफा वरीयताका साथै स्तरमै पनि नेपालभन्दा निक्कै माथि रहेका यी दुई टोलीविरुद्ध नेपाली टोलीले गर्ने प्रदर्शनले प्रशिक्षक अल्मुताइरीको क्षमता अझ प्रस्ट देखिनेछ । यद्यपि, यी दुई खेलमा नेपाली खेलाडीले गरेको प्रदर्शन र त्यसमा देखिएको उनको प्रभावले केही राम्रो संकेत भने दिएको छ । चाइनिज ताइपेईलाई पराजित गरेपछि नेपाली खेलाडीको प्रतिक्रियाबाट त्यही अनुमान लगाउन सकिन्छ ।

०००

चाइनिज ताइपेईलाई पराजित गरेपछि नेपाली टोलीका कप्तान किरणकुमार लिम्बूले नयाँ प्रशिक्षकले युवा खेलाडीहरूमा आत्मविश्वास भर्ने काम गरेको बताए । ‘नयाँ प्रशिक्षक र त्यसपछि बनेको टिमको नयाँ संरचनाले खेलाडीहरूमा उच्च आत्मविश्वास बढेको पाएको छु । नयाँ खेलाडीहरूले इराकसँगको मैत्रीपूर्ण खेल र चाइनिज ताइपेईविरुद्धकोे खेलमा पनि आफ्नो प्रभाव देखाएका छन्,’ उनले भने, ‘हामीले इराकविरुद्ध पनि सशक्त प्रदर्शन गरेका हौँ । यद्यपि नतिजा आफ्नो पक्षमा आएन । चाइनिज ताइपेईलाई पराजित गर्दा खुसी छौँ । तर, प्रतियोगितामा अझै दुई खेल बाँकी छन् । ती खेलमा केन्द्रित हुनुपर्नेछ ।’

यस्तै, चाइनिज ताइपेईविरुद्ध पहिलो गोल गरेका अञ्जन विष्टले प्रशिक्षकको योजना कार्यान्वयन गर्दा जित सम्भव भएको प्रतिक्रिया दिए । ‘हामी प्रशिक्षकले तयार पारेको रणनीति कार्यान्वयन गर्न सफल भयौँ,’ उनले भने, ‘हामीलाई थाहा छ कि जोर्डन र अस्टे«ेलिया हामीभन्दा धेरै माथिका टोली हुन् । अब यी दुई टोलीविरुद्धको खेलका लागि पनि तयारी गर्न‘पर्नेछ ।’

नेपाली टोलीका मिडफिल्डर पुजन उपरकोटीले सबैको मिहिनेतमा जित सम्भव भएको प्रतिक्रिया दिए । ‘टिमकै मिहिनेतमा हामीले जित हात पारेका हौँ । यो जितपछि सबैको मनोबल अझ उच्च भएको छ,’ उनले भने, ‘हामीसँग अझै जोर्डन र अस्ट्रेलियाजस्ता बलिया टोलीविरुद्धको महत्वपूर्ण खेल बाँकी छ । अब त्यसमा केन्द्रित हुनेछौँ ।’

यो सुरुवात मात्र हो, खेलाडीमाथि दबाब नथप्नुस् : अब्दुल्लाह अल्मुताइरी, मुख्य प्रशिक्षक, नेपाल

मुख्य प्रशिक्षक अल्मुताइरीले चाइनिज ताइपेईविरुद्धको जित सुरुवात मात्र भएको जनाएका छन् । उनले अझै महत्वपूर्ण प्रतिस्पर्धा बाँकी रहेको र आफ्ना खेलाडीलाई विनादबाब खेल्न दिन सबैसँग अनुरोध गरेका छन् । उनले धैर्य कायम राख्न पनि सबैसँग अनुरोध गरेका छन् । ‘यो सुरुवात मात्र हो, हामीसँग अझै महत्वपूर्ण दुई खेल बाँकी छन् । त्यतिन्जेलका लागि धैर्य कायम गरिदिनुहोला,’ उनले भनेका छन्, ‘अञ्जनले सुरुवातमै गोल गरेपछि ताइपेईविरुद्धको खेलमा हामीलाई पकड बनाउन सहज बन्यो । यो खेलाडी र प्रशिक्षण टिमको कडा मिहिनेतको प्रतिफल हो । यो जित कोरोना भाइरस नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीप्रति समर्पित गर्न चाहन्छु ।’