१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १५:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

महामारीका वेला हटाइए लहानका स्वास्थ्य प्रमुख 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:२१:oo

सिराहाको लहान नगरपालिकाले कोभिसिल्ड खोपमा अनियमितता गरेको आरोप लगाउँदै स्वास्थ्य शाखा प्रमुखलाई हटाएको छ ।  १८ जेठमा लहान– ८ स्थित नगर प्रहरीचौकीमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सुरक्षाकर्मीलाई लगाउनुपर्ने दोस्रो डोज खोपको कारण देखाउँदै स्वास्थ्य प्रमुख रामसुन्दर यादवलाई जिम्मेवारीबाट हटाएको हो ।

नगर प्रवक्तासमेत रहेका लहान– ११ का वडाध्यक्ष राजकुमार साहका अनुसार नगरस्तरीय कोरोना राहत कोष व्यवस्थापन समितिको बैठकले बुधबार नगर स्वास्थ्य शाखा प्रमुख यादवलाई जिम्मेवारीबाट हटाउँदै कारबाही र छानबिनका लागि स्थानीय प्रशासन र प्रहरीलाई पत्राचार गरिएको छ । 

नगर क्षेत्रभित्रका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सुरक्षाकर्मीलाई लगाइनुपर्ने खोप अनियमित ढंगले लगाएको भन्दै प्रमुख यादवलाई जिम्मेवारीबाट हटाई थप कारबाही गर्न छानबिनका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पत्राचार गर्ने निर्णय गरिएको प्रवक्ता साहले उल्लेख गरे ।

स्वास्थ्यकर्मीलाई हतोत्साही बनाइँदै छ : प्रमुख यादव
जिम्मेवारीबाट हटाएको भनिएका स्वास्थ्य प्रमुख यादवले महामारीका वेला ज्यान जोखिममा राखेर संक्रमितको पहिचान, उपचार, व्यवस्थापनलगायतका काममा खटिरहेका स्वास्थ्यकर्मीहरूलाई हतोत्साही बनाउन खोजेको गुनासो गरे ।
 ‘गत २३ फागुनमा पहिलो डोज लगाएका व्यक्तिलाई १८ जेठमा लगाएको कोभिसिल्ड दोस्रो डोजको विषयमा बुधबार नै  स्पष्टीकरणपत्र थमाइएको थियो,’ स्वास्थ्य प्रमुख साहले भने, ‘त्यसको जवाफ पनि बुझाइसकेको छु ।’

‘सरकारले तोकेको मापदण्डअनुसार तोकिएको खोप केन्द्र नगर प्रहरीचौकीमा कोभिलिल्डको दोस्रो डोज खोप लगाइएको हो,’ उनले भने, ‘प्रहरी, स्थानीय जनप्रतिनिधिहरूको सहयोगमा लहानसहित सखुवानन्कारकट्टी, भगवानपुर र नवराजपुरका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सुरक्षाकर्मीले खोप लगाएका हुन् ।’ 

जिल्ला कोभिड फोकलपर्सन भेक्टर कन्ट्रोल निरीक्षक चन्देश्वर यादव र जनस्वास्थ्य निरीक्षक सञ्जयकुमार साहको समेत समन्वयमा स्वास्थ्यकर्मीहरूले लक्षित समूहलाई दोस्रो डोज खोप लगाएको उनले बताए । ‘प्रहरी चौकीमा रहेको खोप केन्द्रमा खोप लगाउन आउनेहरूलाई प्रहरीले नै पहिलो डोज लगाएको खोपको कार्ड हेरेपछि मात्र भित्र पस्न दिएको अवस्थामा कसरी अनियमित भयो,’ उनले प्रश्न गरे, ‘जिल्लाबाट भेक्टर कन्ट्रोल निरीक्षक र जनस्वास्थ्य निरीक्षकले आफ्नो जिम्मामा ल्याएको १९ भाइल कोभिसिल्डमध्ये १८ भाइल लगाएर बाँकी रहेको एक भाइल उहाँहरूले नै लिएर जानु भो ।’ लक्षित समूहबाहेकका व्यक्तिले पनि आफूहरूलाई लगाइदिन फोनमार्फत अनुरोध आएको भए पनि आफूले नसक्ने कुरा गरेर सम्झाएको उनको भनाइ छ । 

स्वास्थ्यकर्मीले तलमाथि गर्नै सक्दैनन् : प्रजिअ
जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले महामारीको वेला खोपमा अनियमितता नहोस् भन्ने उद्देश्यले सरकारले तोकेको निर्देशिकाअनुसार सम्बन्धित स्थानीय तह, स्वास्थ्य कार्यालय, स्थानीय प्रहरी र सरोकारवालाहरूको छलफलको आधारमा खोप केन्द्र तोकिने बताए । ‘लहानको नगर प्रहरीचौकीमा रहेको खोप केन्द्रमा जिल्लाबाट आएको खोप लक्षित समूहलाई लगाइदिने स्वास्थ्यकर्मी र समन्वयको भूमिकामा रहेका स्वास्थ्य शाखा प्रमुखले तलमाथि गर्नै सक्दैनन्,’ प्रजिअ कँडेलले भने । 

पहिलो डोज लगाइसकेका व्यक्तिलाई मात्र दोस्रो डोज खोप लगाइनुपर्ने र खोप लगाइदिन पर्ने जिम्मेवारी पाएका स्वास्थ्यकर्मीहरूले पनि त्यहीअनुसार काम गरेकाले कारबाही गर्ने अधिकार कसैको नरहेको उल्लेख गर्दै प्रजिअ कँडेलले केही व्यक्तिले सामाजिक सञ्जालमा खोप बिक्री गरेको भन्ने हावादारी कुरा गरेकाले त्यस्ता कुराको पछि नलाग्न आग्रह गरे । 

ad
ad