मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ६ आइतबार
  • Sunday, 20 June, 2021
२०७८ जेठ १९ बुधबार १३:३५:००
Read Time : > 3 मिनेट
ब्लग

नारायणहिटी राजदरबार हत्याकाण्डका २० वर्ष

Read Time : > 3 मिनेट
२०७८ जेठ १९ बुधबार १३:३५:००

राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रसहित नेपाली राजपरिवारका सदस्यहरूको अकल्पनीय हत्या भएको २० वर्ष पुगेको छ । दरबार हत्याकाण्ड राजवंशको अन्त्य मात्र थिएन, नेपालको भविष्य सुदूर अन्धकारमा धकेल्ने प्रयत्नको प्रारम्भ बिन्दु थियो । त्यो प्रयत्नका घरेलु वा बाह्य योजनाकार र कर्ता को थिए ? अहिलेसम्म रहस्यको पर्दाभित्र छ । यद्यपि दुई दशकमा दरबार हत्याकाण्डबारे षड्यन्त्रका धेरै सिद्धान्त प्रतिपादन भएका छन् । त्यस सम्बन्धमा लेखिएका साहित्यका किताब सर्वाधिक बिक्रीको सूचीमा चढे ।

घटनाको छानबिन गर्ने निकाय र छानबिन पछिको निष्कर्षलाई जनसंख्याको ठूलो तप्काले विश्वास गरेन । अहिले पनि घटना युवराज दीपेन्द्रले उनको आफ्नै बलबुता र योजनामा गराएको हो भनेर जनसंख्याको ठूलो हिस्साले पत्याउन सकेको छैन । 

त्यसबेला द्वन्द्वरत बाबुराम भट्टराईलगायतका मानिसहरूले त्यो घटना विदेशका गुप्तचरको योजनामा भएको ठोकुवा गर्दै षड्यन्त्रका अनेक कथा आविष्कार गरे । घटनालाई ग्रान्डडिजाइन भन्दै आएका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हत्याकाण्डका सूचना आफैँसँग राखेर महाप्रस्थान गरिसकेका छन् । त्यसवेला राजा ज्ञानेन्द्रलाई नक्कली राजा, दाइमारा भन्दै जनसंख्याको एउटा हिस्सामा षड्यन्त्रका कथा सुनाएका प्रचण्ड बाबुरामहरु सरकारमा पुगेपछि दरबार हत्याकाण्ड सम्झिने हिम्मत गरेनन् । बरु, उनीहरू ०६१ माघ १८ गतेसम्म नयाँ राजा ज्ञानेन्दसँग सत्ता साझेदारीको भगीरथ प्रयास जारी राखे । 

प्रचण्डले सार्वजनिक रूपमा नै भनेअनुसार राजा ज्ञानेन्द्रले १९ माघ ०६१ मा सत्ता हातमा लिएका थिएनन् भने माओवादी र दरबारबीच साँठगाँठ सुनिश्चित थियो । माघ १९ गते राजा ज्ञानेन्द्रले सत्ता हातमा नलिएर माओवादीलाई सत्तामा ल्याउन साझेदारी गरेका भए त्यसपछिको राजनीतिक परिदृष्य के हुन्थ्यो ? सामान्य रूपमा आकलन गर्न सकिन्छ कि त्यो अवस्थामा राजतन्त्रको भविष्य धरापमा पर्दैनथ्यो, प्रजातन्त्र रहने थिएन ।

 नेपालका राजनीतिक पात्रहरूको चरित्र, भूराजनीतिक अवस्थाको कसीबाट हेर्दा माओवादी र दरबारको साझेदारीको भविष्य पनि लामो समय जान सक्दैनथ्यो । अन्ततः आन्तरिक र भूराजनीतिक दबाबको चपेटामा एउटा राजनीतिक व्यवस्थापन हुन्थ्यो नै । त्यो अवस्थामा राजसंस्था समाप्त नहुनेचाहिँ निश्चितप्रायः थियो । राजा ज्ञानेन्द्रले माओवादीसँग संवाद प्रक्रिया टुटाए र संसदीय फाँटका सहयात्री दलहरूलाई पनि किनारा लगाउने गरी सत्ता हातमा लिएपछि परिस्थिति आजको दिशातर्फ सोझियो । 

०४६ को राजनीतिक परिवर्तनपछि संवैधानिक दायरा र मर्यादामा बसेर राजा वीरेन्द्रले नेपाली जनतामा लोकप्रिय  अभिभावकको ति प्रत्याभूति दिएका थिए ।  तर, यस्तो समयमा राजा र राजपरिवारको वंशनाश भयो, जतिवेला नेपाली कांग्रेस नेतृत्वको सरकार अलोकप्रियता र विवादको चरमचुलीमा पुगेको थियो भने माओवादीका नाममा सञ्चालित घरेलु द्वन्द्वले मुलुकमा शक्ति र गति लिँदै गरेको थियो ।

पूर्वराजा ज्ञानेन्द्रले आज ट्विटरमा मर्मस्पर्शी पंक्ति लेखेका छन् ‘एक यस्तो हृदयका चोट जसलाई कहिले भुल्न सकिन्न । साथ र सम्बन्धहरू चुँड्ने अधिकार नियतिलाई मात्र रहेछ । अनुत्तरित प्रश्नका उत्तरहरू पाउनका लागि अझै समयले कति कोल्टे फेर्नुपर्छ कसैलाई थाहा छैन ।’

मूलधारका राजनीतिक पार्टीहरूको एउटा समूह त्यसवेला आन्तरिक द्वन्द्वको राजनीतिक समाधानका लागि प्रयत्नरत थियो । द्वन्द्वरत माओवादीका प्रतिनिधिहरू पनि सगोत्री एमाले नेताहरूसँग बेग्लै र विभिन्न सम्पर्कद्वारमार्फत राजदरबारसँग कार्यगत एकताका नाममा संवादमा थिए । मुलुकभित्र राजनीतिक स्थिरताका लागि भइरहेका भगीरथ प्रयत्नका बीच ०५८ जेठ १९ गते नेपाली सेनाको बलियो सुरक्षा–साङ्लोभित्र राजपरिवारको इहलीला समाप्त भएको थियो ।

राजदरबार हत्याकाण्डपछि राजगद्दी सम्हालेका राजा ज्ञानेन्द्रले दाजुको लोकप्रियतामा  टेकेर राजसंस्थालाई लोकप्रिय बनाउन चाहेको अनुभूति आम रूपमा भएन । पारिवारिक प्रताडनामा त उनी छँदै थिए, उनीमाथि घटनामा हात रहेको आरोपको ठूलो दरबार सधैँ रहिरह्यो । घटनामा उनका परिवार बच्न तर  बाँकी दाइभाइ अनि तिनका परिवार मारिन कसरी सम्भव भयो भन्ने ठूलो पंक्तिको प्रश्न अनुत्तरित रह्यो, उनी स्वयंले यसबारे जनमानसलाई विश्वसनीय ढंगले स्पष्ट पार्न खोजेनन् । 

आन्तरिक रूपमा राजा वीरेन्द्र र दीपेन्द्रसँग काम गरेका निजामती कर्मचारीहरू बर्खास्तीमा परे । राजा वीरेन्द्रको परिवारको सुरक्षामा रहेका केही सैनिक अधिकारीको बर्खास्ती र कसैलाई पुरस्कृत गर्ने कार्य मात्र भएन, दरबारको सुरक्षामा सेनाको हात छैन भनेर सार्वजनिक अभिव्यक्ति दिने प्रधानसेनापति प्रज्वलशमशेर राणामाथि राजा ज्ञानेन्द्रले कारबाहीको प्रयत्न गरेनन् । जुनसुकै नियतले होस्, नारायणहिटी परिसरको त्रिभुवन सदन जहाँ दरबार हत्याकाण्ड भएको थियो, त्यो भवन राजा ज्ञानेन्द्रकै आदेशमा भत्काइयो । राजा वीरेन्द्र र रानी ऐश्वर्यका नाममा रहेका सम्पत्तिलाई त्यसवेलै राष्ट्रियकरण गर्ने र जनहितमा प्रयोग गर्ने अवसर राजा ज्ञानेन्द्रले नपाएका होइनन्, तर उनले त्यतातिर साेचेनन् ।

राजा ज्ञानेन्द्रले राजगद्दी सम्हालेका वेला सरकार अलोकप्रिय थियो, आन्तरिक द्वन्द्व बढेको थियो । सरकार र राज्यसंयन्त्रप्रति बढ्दै गएको निराशाबीच आफ्नो भूमिका खोज्दै जाँदा राजा ज्ञानेन्द्र १९ माघको कदमसम्म पुगेका थिए । राजा वीरेन्द्रपछिका तीन वर्ष अर्थात् ०६१ सम्म राजा ज्ञानेन्द्रले सम्भावित सक्रिय शासनको पूर्वअभ्यासमा खर्च गरे । ०६१ माघ १९ पछि उनले सक्रिय शासनको अभ्यास प्रारम्भ गरे, तर दुई वर्ष नपुग्दै उनको राजनीतिक महत्वकांक्षामा विश्राम लाग्यो ।

२०६३ वैशाख ११ को शाही घोषणामार्फत संसद् पुनर्स्थापनासँगै राजा ज्ञानेन्द्र मात्र होइन, राजसंस्थाकै भविष्य संकटोन्मुख भयो । दरबार हत्याकाण्डपछि दाजु राजा वीरेन्द्र जस्तो निष्क्रिय होइन, पिता राजा महेन्द्रजस्तै सक्रिय शासन गर्ने राजा ज्ञानेन्द्रको महत्वाकांक्षाबाट उब्जेको घरेलु र भूराजनीतिक परिवेशले गणतन्त्रको प्रादुर्भाव गरायो । यदि दरबार हत्याकाण्ड नभएको भए के हुन्थ्यो ? यति मात्रै अनुमान गर्न सकिन्छ, त्यो घटना नभइदिएको भए नेपालमा गणन्त्रका लागि आन्तरिक र भूराजनीतिक अवस्था यति चाँडै बन्ने थिएन । 

सबैभन्दा दुःखद त गणतन्त्र आइसकेपछि प्रधानमन्त्री भएका शीर्ष नेताहरूले पूर्वराजा ज्ञानेन्द्रको सक्रियता र उनका सार्वजनिक असन्तोषका अभिव्यक्ति आउँदा प्रतिक्रियाका लागि मात्रै राजदरबार हत्याकाण्डको छानबिन गर्ने धम्की दिइरहेका छन् । 

जनसंख्याको ठूलो हिस्साले जान्न चाहेका यस विषयको छानबिन गराउन उनीहरू तयार नदेखिनु विडम्बनापूर्ण छ । कुनै वेला नेपाली शब्दकोशका सबै अप्रिय र असहिष्णु शब्द प्रयोग गर्दै राजा ज्ञानेन्द्रलाई गालीगलौज गरेर शब्दभण्डार रित्याएका नेताहरूको मौनता अझ बढी रहस्यमय छ । वास्तवमा यो घटनाको विश्वसनीय अनुसन्धान नहुनुले सबैभन्दा बढी अन्याय राजा ज्ञानेन्द्रमाथि भएको छ । कतिपय वृत्तबाट उब्जाइएका प्रश्नको जवाफ दिने अवसरबाट उनी स्वयं वञ्चित हुन पुगेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले आज ट्विटरमा मर्मस्पर्शी पंक्ति लेखेका छन्, ‘एक यस्तो हृदयका चोट जसलाई कहिले भुल्न सकिन्न । साथ र सम्बन्धहरू चुँड्ने अधिकार नियतिलाई मात्र रहेछ । अनुत्तरित प्रश्नका उत्तरहरू पाउनका लागि अझै समयले कति कोल्टे फेर्नुपर्छ कसैलाई थाहा छैन ।’ उत्तर दिने र खोज्ने प्रशस्त  समयको उपयोग गर्न नसक्दा उनी स्वयं यतिवेला भावुकतामा सीमित हुनुपरेको छ ।