१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
विवेकानन्द महत
२o८१ जेठ २ बुधबार १o:५३:oo
Read Time : > 6 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

मासिँदै मौरी, निम्तिँदै संकट

सन्दर्भ : विश्व मौरी दिवस

Read Time : > 6 मिनेट
विवेकानन्द महत
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:५३:oo

परागसेचक मासिँदै जानु वनस्पतिको वंश विस्तार र निरन्तरता रोकिनु हो, यसले विश्व खाद्य तथा पारिस्थितिक प्रणाली र जीविकोपार्जनमा संकट निम्त्याउँदै छ

सन् २००६–००७ को जाडोमा अमेरिकाका मौरीपालक किसानले गोलाबाट रानी र थोरै बच्चा मौरी छाडेर कर्मी मौरीहरू एक्कासि हराउने गरेको पत्ता लगाए । भागेका वयस्क कर्मी मौरीहरू घारमा फर्कंदैनथे । घारमा खाना प्रशस्तै छाडेर कर्मी मौरी भागेका देखिन्थे । कर्मी मौरीको अभावमा घारमा बाँकी बच्चा मौरीले मात्रै गोला मजबुत बनाउन नसक्ने हुँदा घारभित्रका सबै मौरी मर्थे । यस्तो अनौठो प्रक्रियालाई अमेरिकाको वातावरण संरक्षण एजेन्सीले ‘कोलोनी कोल्याप्स डिसअर्डर’ (सिसिडी) भनेर परिभाषित गरेको छ।

‘जर्नल अफ इन्भर्टिब्रेट प्याथोलोजी’मा प्रकाशित अध्ययनअनुसार अमेरिकामा सन् १९४७–२००८ सम्ममा मौरी गोलाको संख्या ६१ प्रतिशतले घटेको थियो । सन् २०१३ मा टाइम म्यागजिनले ‘अ वर्ल्ड विदाउट बिज’ शीर्षकको कभर स्टोरीमार्फत विश्वभर मौरी घटिरहेको बारे ध्यानाकर्षण गरेको थियो । व्यापक रूपले मासिँदै गरेका मौरीलाई मध्यनजर गरी सन् २०१४ मा ओबामा सरकारले परागसेचकको स्वास्थ्यसम्बन्धी संघीय रणनीति नै बनाएर रक्षा विभागसहितको उच्चस्तरीय टास्क फोर्स बनाई अनुसन्धान, प्रसार र संरक्षणको कार्य सुरु गरेका थिए । 

सन् २०१६ को फेब्रुअरीमा जैविक विविधता र वातावरणीय सेवासम्बन्धी अध्ययन गर्ने ‘इन्टर–गभर्नमेन्टल साइन्स पोलिसी प्लाटफर्म अन बायोडाइभर्सिटी एन्ड इकोसिस्टम सर्भिसेस’ (अइपिबिइएस)ले पहिलोपल्ट विश्वव्यापी परागसेचकसम्बन्धी बृहत् संश्लेषण प्रतिवेदन सार्वजनिक गर्‍यो । प्रतिवेदनले विश्वभर परागसेचन डरलाग्दो गरी घटिरहेको र धेरै परागसेचकहरू लोपोन्मुख अवस्थामा पुगेको तथ्य सार्वजनिक गर्‍यो । यसले गर्दा विश्व खाद्य प्रणाली, पारिस्थितिक प्रणाली र जीविकोपार्जनमा ठूलो चुनौती अइलागेको तथ्य पनि प्रतिवेदनले उजागार गर्‍यो ।

करिब ९० प्रतिशत जंगली फूल प्रजाति, ७५ प्रतिशत खाद्यबाली र ३५ प्रतिशत कृषिबाली जीव परागसेचनमा निर्भर छन् । जीव परागसेचनको ८० प्रतिशतभन्दा बढी परागसेचन किराहरूबाटै हुने गर्छ । किराबाट हुने परागसेचनमा पनि सबैभन्दा बढी करिब ८० प्रतिशत हिस्सा मौरीले ओगट्छ ।

‘ग्लोबल बायोडाइभर्सिटी इन्फर्मेसन फ्यासिलिटी’मा उपलब्ध एक शताब्दीदेखिको तथ्यांक अध्ययन गरेर सार्वजनिक एक शोधमा पनि प्रमुख परागसेचकमध्येका मौरी मासिइरहेको गम्भीर तथ्य खुलाइएको छ । सन् २०१६ मा अमेरिकामा इतिहासमै पहिलोपटक पहेँलो मुखाकृति भएका मौरी भनेर चिनिने हाइलिअस प्रजातिका सातवटा मौरीलाई लोपोन्मुख प्रजातिको सूचीमा राखिएको थियो । यसैगरी, सन् २०१७ मा बोम्बस एफिनिस जातको भमरालाई लोपोन्मुख जीवको सूचीमा राखियो । २० वर्षको अवधिमा करिब ८७ प्रतिशतले यो भमराको संख्या घटेपछि यस्तो कदम चालिएको थियो । यी भमराले जंगली फूल, बेरी, घिरौँला, टमाटरलगायतमा परागसेचन गर्छन् । अमेरिकाको जैविक विविधता अध्ययन केन्द्रले उत्तरी अमेरिकालगायतका क्षेत्रमा एक हजार चार सय ३७ मौरीका प्रजातिमध्ये करिब सात सय ४९ (आधाभन्दा बढी) मौरी लोप हुने खतरामा रहेको बताएको छ । 

परागसेचन र मौरी : विभिन्न जर्नलअनुसार संसारमा मौरीका २१ सय प्रजाति छन् । विज्ञानले मात्रै नभएर वेदले पनि मौरीको महत्वपूर्ण योगदान उद्‍गार गरेको छ । ऋग्वेदमा मौरीलाई परागसेचन गर्ने, मह उत्पादन गर्ने र सम्पूर्ण जीवजन्तुलाई कल्याण गर्ने जीवका रूपमा अथ्र्याइएको छ । संयुक्त राष्ट्रसंघका अनुसार करिब ९० प्रतिशत जंगली फूल फुल्ने प्रजाति, ७५ प्रतिशत खाद्यबाली र ३५ प्रतिशत कृषिबाली जीव परागसेचनमा निर्भर छन् । परागसेचनले खाद्य सुरक्षा र जैविक सुरक्षामा ठूलो योगदान पुर्‍याइरहेको छ । जीव परागसेचनको ८० प्रतिशतभन्दा बढी परागसेचन किराबाटै हुने गर्छ । किराबाट हुने परागसेचनमा सबैभन्दा बढी हिस्सा करिब ८० प्रतिशत मौरीले ओगट्छ । उपयुक्त शारीरिक बनावट, अति शक्तिशाली सञ्चार प्रणाली, उष्णदेखि लेकाली हावापानीमा सजिलै काम गर्न सक्ने क्षमताका कारण मौरी सबैभन्दा उच्च परासेचक हो । मौरीले एकपटकको विचरणमा एकै जातका बालीका फूलहरूमा मात्रै विचरण गरी परागसेचन गर्ने गर्छ, जुन क्रियाले पृथ्वीको आधारभूत पारिस्थितिक प्रणाली कायम रहेको छ । सन् २०११ मा प्रकाशित ‘द बी किपर्स लेमेन्ट’ पुस्तकमा मौरीलाई कृषि जैविक विविधता प्रणालीको गमका रूपमा प्रस्तुत गरिएको छ ।

के हो परागसेचन ? : कुनै पनि प्राणीमा वंश विस्तारको आधार भनेकै भाले र पोथीबीच हुने समागम हो । वनस्पति वर्गमा भाले तत्व परागकणबाहेक सबै अंग स्थिर (अचल) हुन्छन् । किरा, हावा, पानी र अन्य जीवको माध्यमबाट चल अवस्थामा रहेका परागकण अचल अवस्थाको स्त्रीकेशरमा छिर्छ र परागसेचन हुने गर्छ । यस्ता परागसेचन गराउने माध्यमलाई परागसेचक भनिन्छ । परागसेचनले नै बाली तथा वनस्पतिको उत्पादन, वृद्धि, वंश विस्तार र निरन्तरता कायम राख्छ । परागसेचन प्रकृतिको आधारभूत प्रक्रिया हो, जसले प्रकृतिलाई जीवन्त बनाइरहेको छ । परागसेचन भएन भने बीजाशय सुकेर फल लाग्दैन । पर्याप्त परागसेचन भएन भने अपूर्ण आकारको फल निस्कन्छन् । पुष्ट, पोटिला र स्वस्थ फल पूर्ण परागसेचनबाट मात्रै सम्भव हुन्छ । व्यवस्थित परागसेचनले मात्रै उत्पादनमा ३५ प्रतिशत वृद्धि गर्ने तथ्य विश्व खाद्य संगठनले जनाएको छ । परागसेचक मासिँदै जानु भनेको वनस्पतिको वंश विस्तार र निरन्तरता रोकिनु हो । 

परागसेचन कृषिको एक आधारभूत आवश्यकता हो । कृषि उत्पादनमा जति माटो, पानी र बिउको महत्व छ, त्यति नै महत्व परागसेचनको पनि छ । हाम्रो कृषि उत्पादनलाई गुणात्मक र परिमाणात्मक हिसाबमा बढाउन सबैले भुलेको परागसेचकको यो पाटोलाई पनि कृषिसँगै लिएर जान आवश्यक छ ।

तर, परागसेचकको संख्या भने विश्वभर नै घट्दै गइरहेको छ । मलेसियाबाट सार्वजनिक ‘ग्लोबल पोलिनेटर इभ्यालुएसन’का अनुसार आर्थिक र सामाजिक हिसाबमा महत्वपूर्ण परागसेची जीवहरू लोप हुने खतरामा छन् । प्रतिवेदनमा परागसेचन प्रक्रियामा १६ प्रतिशत भूमिका निर्वाह गर्ने चरा–चमेरालगायतका जीवहरू पनि लोपोन्मुख स्थितिमा रहेको तथ्य उल्लेख छ । लोप हुने सबैभन्दा खतराको स्थितिमा भने मौरी र पुतली रहेका बताइएको छ । मौरी र पुतलीमध्ये कुल नौ प्रतिशत भने लोप नै हुने सं‍घारमा रहेको प्रतिवेदनले प्रस्ट्याएको छ । परा–परागसेची बालीहरूको उत्पादन विगतका पाँच दशकमा तीन सय प्रतिशतले बढेको देखिन्छ । तर, यस्ता बालीको उत्पादन स्थिरता र बाली विकास भने स्वयं परागसेचन हुने बालीको भन्दा कम रहेको पाइएको छ । जीव परागसेचनले विश्वव्यापी खाद्य उत्पादनको ५–८ प्रतिशत हिस्सा ओगट्ने र यसको बजार दुई सय ३५ देखि पाँच सय ७७ अर्ब अमेरिकी डलरबराबर रहेको आइपिबिएसको अध्ययनलाई कोट गरेर भर्खरै सार्वजनिक प्रोफेसर जेफ अलर्टनको ‘पोलिनेटरस एन्ड पोलिनेसन’ पुस्तकमा उल्लेख छ ।

किन घटिरहेका छन् त परागसेचक ? : अमेरिकाको वातावरण संरक्षण एजेन्सीले मिचाहा भेरोवा सुलसुले, नयाँ इजरायली प्यारालाइसिस भाइरस, विषादी, परागसेचनका लागि तय गर्नुपर्ने लामो यात्राका कारण उत्पन्‍न तनाव र चरन क्षेत्रको अभावलगायतका धेरै कारणबाट कोलोनी कोल्याप्स डिसअर्डर हुन्छ भनेको छ । धेरै जर्नलले रोग, विषादी, जलवायु परिवर्तन, वासस्थानको कमीका कारण भमरा र अन्य जातका मौरी लोपोन्मुख परागसेचकको सूचीमा पुगेको बताएका छन् । साथै, विभिन्न आयातीत किरा र वनस्पतिका कारणले पनि रैथाने किरा र मौरीको संख्या घटिरहेको छ । एकल खेती प्रणालीको व्यापकताले पनि जैविक विविधतामा ह्रास आइरहेको छ । चरन क्षेत्रको अभाव, पर्याप्त कुट, पुष्परसको अभाव, वासस्थानको अभाव मौरीलगायतका परागसेची किरा मासिने प्रमुख कारण हुन् । कुनै परागसेचकलाई विशिष्ट आहारा चाहिन्छ, जस्तै– मोनार्क नामक पुतलीको लार्भालाई मिल्क विड भन्ने बिरुवा चाहिन्छ । यो बिरुवा कम भए यो पुतलीको संख्यामा कमी आउँछ । बालीमा लाग्ने शत्रुजीव नियन्त्रण गर्न प्रयोग गरिने विषादीको उच्च र अव्यवस्थित प्रयोगले परागसेचकलाई मार्छ र संख्या घट्छ । विषादीको प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कका कारण मौरीलाई हानि पुग्छ । उपचार गरिएका बिउले पनि मौरीको स्वास्थ्यमा असर गरिराखेको तथ्य सार्वजनिक भइरहेका छन् । विषादीहरू अवशेषका रूपमा कुट र पुष्प रसमा रहन्छन् र तिनले मौरी चरनमा जाँदा असर गर्छन् । नियोनिकोटिनोइड्स समूहको विषादीले गर्दा पनि मौरी मासिनुमा ठूलो भूमिका खेलेको बताइन्छ । नेपालमा यो समूहको इमिडाक्लोप्रिड विषादी चुसाहा वर्गको किरा मार्न प्रयोग हुँदै आएको छ । 

जीव परागसेचनको विकल्प : जापानी अनुसन्धानकर्ताहरूले परागसेचनका लागि सानो ड्रोनको सफल प्रयोग गरेका छन् । अनुसन्धानकर्ताले यस्तै उपकरणको प्रयोग गरेर लिली फूलको परागसेचन गरेका थिए । यो उपकरणमा घोडाको कपाल र विशेष प्रकारको जेल प्रयोग गरिएको थियो, जसलाई रिमोटले चलाइएको थियो । यो नै कृत्रिम रूपमा रोबोटको प्रयोगबाट परागसेचन गरिएको पहिलो प्रदर्शन हो । विश्वका मौरी र पुतलीलगायतका परागसेचक लोप हुने क्रमलाई मध्यनजर गर्दै यो प्रविधिको विकास गरिएको हो । विभिन्न परागसेची किराको परागसेचन गर्ने विभिन्न आचरण हुन्छन् । तर, यो उपकरणमा यस्ता विशिष्ट आचरण भने प्रयोग भइसकेको छैन । विषादीको उच्च प्रयोगपश्चात् चीनका स्याउ र नास्पाती फार्ममा मौरीले विचरण गर्न छाडेपछि किसानले हातैले परागसेचन गर्न थालेका समाचारहरू आइरहेका छन् । मौरीलगायतका किराको विनाश चीनमा पनि व्याप्त छ । सघन तथा अति क्षणिक नाफामुखी व्यावसायिक कृषिखेती बढेसँगै कृषि उत्पादनमा परागसेचनको कमीका कारण नकारात्मक प्रभाव परिरहेको छ । यस्तो एकल जातीय सघन कृषिमा विषादीको उच्च प्रयोग हुन्छ, जुन परागसेचकअनुकूल हुँदैन । यसका लागि परागसेचक संरक्षणबाहेकको विकल्प हामीलाई उपलब्ध छैन ।

नेपालमा परागसेचन र परागसेचकसम्बन्धी नीतिगत व्यवस्था : मौरी प्रवर्द्धन नीति–२०७३ मा हाम्रै रैथाने मौरीहरूको संरक्षण एवं संवद्र्धन गर्ने, परागसेचित बालीको जैविक विविधता वृद्धि गर्ने, वृक्षारोपण कार्यक्रममा कम्तीमा २५ प्रतिशत मौरीमैत्री वनस्पति लगाउन प्रोत्साहन गर्ने, मौरीको रोग व्यवस्थापनमा आवश्यक अनुसन्धान गर्न सहयोग गर्नेलगायतका नीति मौरी प्रवर्द्धन नीतिमा उल्लेख छ । किसानलाई परागसेचनको महत्व बुझाउने कार्यक्रम अगाडि बढाउने, फूल फुलेको वेला कीटनाशक विषादीको प्रयोग नगर्न प्रोत्साहन गर्ने, मौरीको संरक्षण गर्न कृषकलाई जागरुक गराउने, परागसेचनको अध्ययन र अनुसन्धान अगाडि बढाउनेलगायतका नीति मौरी प्रवर्द्धन नीतिमा उल्लेख छ । कृषि जैविक विविधता नीति–२०६३ मा कृषि पर्यावरणीय सेवाको दिगो परिचालनका लागि परागसेचक तथा अन्य पर्यावरणीय सेवा प्रदान गर्ने जीवहरूसम्बन्धी अध्ययन, अनुसन्धान, अनुगमन गरी संरक्षण कार्यक्रमहरू सञ्चालन गर्ने कुरा उल्लेख छ । तर, मौरीको विविधतामा विश्वकै धनी नेपालमा मौरी अनुसन्धानका लागि विशिष्ट वैज्ञानिकको अभाव छ । 

अन्त्यमा : विश्व नै परागसेचक संकटको स्थितिमा छ । परागसेचनका लागि हाम्रा घरपालुवा मौरी मात्रै होइन, जंगली मौरी, एक्लै बस्न रुचाउने मौरी, झिंगा प्रजातिका किराहरू सबै नै महत्वपूर्ण छन् । यो लेखकको स्नातकोत्तर शोधले घरपालुवा मौरीजतिकै जंगली मौरी र झिंगा वर्ग पनि महत्वपूर्ण परागसेचक हो भन्‍ने देखाएको छ । प्राकृतिक वासस्थानबाट नजिकै मौरीको विविधता र संख्या अधिक रहेको र व्यावसायिक खेती गरिएको ठाउँमा मौरीको संख्या र विविधता कम पाइएको देखिएको छ । हाम्रो परिवेशमा मौरीसँग सम्बन्धित अध्ययन, अनुसन्धान धेरै हुन जरुरी छ । जैविक विविधता र मौरी विविधतामा हामी धनी छौँ । अहिले केही मात्रामा गरिएको अनुसन्धानबाट पनि मौरीमा रोगको संक्रमण बढिरहेको र हाम्रोमा पनि परागसेचकको संख्या घट्दै गएको देखिएको छ । परागसेचीमैत्री बालीबिरुवा र वनस्पतिको फ्लोरल चार्ट बनाउन सके कुन–कुन वेला र कुन–कुन ठाउँमा कुन वनस्पति लगाएर परागसेचकलाई संरक्षण गर्न सकिन्छ भन्‍ने विज्ञान बुझ्न सहज हुन्थ्यो । परागसेचन कृषिको एक आधारभूत आवश्यकता हो । कृषि उत्पादनमा जति माटो, पानी र बिउको महत्व छ, त्यति नै महत्व परागसेचनको पनि छ । हाम्रो कृषि उत्पादनलाई गुणात्मक र परिमाणात्मक हिसाबमा बढाउन सबैले भुलेको परागसेचकको यो पाटोलाई पनि कृषिसँगै लिएर जान आवश्यक छ । विश्व मौरी दिवसको शुभकामना ! 

ad
ad