१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format २१:१३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

समाचार प्रभाव : चितवनमा कोभिडको कारण मृत्यु भएकाको दाहसंस्कार निःशुल्क, प्रजिअ भन्छन्– शुल्क मागे उजुरी गर्नुस् 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:१३:oo

कोभिड– १९ का कारण मृत्यु भएकाहरूको चितवनमा निःशुल्क दाहसंस्कार हुने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले दाहसंस्कारका नाममा कसैले शुल्क लिएमा जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रमा उजुरी गर्न आग्रह गरेका छन् । 

उनले भने, ‘हामी हप्तौँदेखि दाहसंस्कार निःशुल्क गर्ने कार्यमा थियौँ । लायन्स क्लबले निःशुल्क शववाहनको व्यवस्था र भरतपुर महानगरपालिकाले दाउरा खरिदका लागि तीन हजार प्रदान गर्ने भएसँगै जलाएर गरिने दाहसंस्कारसमेत जिल्लामा निःशुल्क हुने भएको हो ।’ खरिद गरेको दाउराले नपुगेको अवस्थामा जिल्लाका सामुदायिक वन, समिललगायतका संस्थाले निःशुल्क उपलब्ध गराएको दाउरासमेत प्रयोग गरिने भएको छ । 

चैतसम्म भने चितवनमा कोभिडको कारण मृत्यु भएको शव गाड्ने गरिन्थ्यो । जसका लागि भरतपुर महानगरपालिकाले खाल्डो खन्न एक्स्काभेटर दिएको थियो । तर, चैतबाट पहिलेकै ठाउँ देवघाटको नारायणी नदी किनारमा जलाउन थालेपछि पैसाको विषय उठ्न थालेको हो । कोभिड संक्रमण भएर मृत्यु भएका व्यक्तिको अन्तिम संस्कारमा १७ देखि २८ हजारसम्म रकम दिनुपर्ने समाचार नयाँ पत्रिकामा प्रकाशित भएपछि प्रशासनले चासो देखाएको थियो । 

कोभिड महामारीबाट मृत्यु भएमा अन्त्येष्टि निःशुल्क गर्ने सरकारले घोषणा गरे पनि दाउरालगायत सामान किन्न स्रोत नभएकाले समस्या भएको लामिछाने बताउँछन् । संक्रमितको शव निःशुल्क अन्त्येष्टि गर्ने नीति भए पनि हामीसँग बजेट थिएन । आफैँले, आफ्नो सम्पर्क र सम्बन्धले निःशुल्क दाहसंस्कारको व्यवस्था मिलाएको उनले बताए ।  ‘दाउरा भयो, शववाहन भयो, अब निःशुल्क दाहसंस्कार गर्न मिल्ने भएको छ,’ लामिछानेले भने, ‘शवलाई जलाउने काम भने आफन्तकै हुनेछ ।’ 

भरतपुर महानगरपालिकाले दाउराको पैसासँगै एक थान शववाहन पनि उपलब्ध गराएको उनले बताए । उनले भने, ‘सेनाको टिमले बिहान र बेलुका मात्र शव अन्त्येष्टिको काम गर्छ । मृतकको परिवारले आफैँ शव लगेर अन्त्येष्टि गर्छौँ भन्दा पनि अब महानगरले दिएको शववाहन प्रयोग गर्न सकिन्छ ।’
 
यसअघि निःशुल्क रूपमा आफ्नो नगर क्षेत्रमा कोभिड– १९ का कारण मृत्यु हुनेहरूको अन्त्येष्टिका लागि एक्स्काभेटर दिएको भरतपुर महानगरपालिकाले यस वर्षबाट निःशुल्क अन्त्येष्टि कार्यका लागि तीन हजारको दाउरा र शववाहन उपलब्ध गराएको विज्ञप्तिमार्फतसमेत जानकारी गराएको छ । महानगरले नगर क्षेत्रमा तीनवटा एम्बुलेन्समार्फत कोभिडका बिरामीलाई निःशुल्क सेवा दिँदै आएको छ । 

देवघाट क्षेत्र विकास समितिका प्रतिनिधि धीरनबाबु घिमिरेले समितिले संक्रमितको शव जलाउन एक चाङ दाउराको मूल्यमा पाँच सय घटाएर तीन हजार रुपैयाँ बनाएको बताए ।