मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २१ आइतबार
  • Sunday, 04 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ३ सोमबार ०९:४८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चौधरी फाउन्डेसनले आइसियू र अक्सिजन प्लान्ट स्थापना गरिदिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ३ सोमबार ०९:४८:००

चौधरी ग्रुपले वीर अस्पतालमा १८ शय्याको अत्याधुनिक आइसियू वार्ड र अक्सिजन प्लान्ट स्थापना गरिदिने भएको छ । यस्तै, सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा पनि एक–एकवटा अक्सिजन प्लान्ट स्थापना गरिदिने ग्रुपअन्तर्गत सञ्चालित चौधरी फाउन्डेसनले उल्लेख गरेको हो ।  

कोभिड महामारीका कारण उत्पन्न स्वास्थ्य संकटमा प्रभावकारी योगदान पुर्‍याउने उद्देश्य राखेर फाउन्डेसनले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन महत्व राख्ने परियोजनामा काम गर्ने निर्णय गरेको जनाइएको छ । फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले कोभिड महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र यसको नियन्त्रणका लागि आपत्कालीन स्वास्थ्य व्यवस्थापन अत्यन्तै जरुरी देखिएकाले एकीकृत योजना अगाडि सारेको बताएका छन् ।

वीर अस्पतालमा आइसियू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्नेसम्बन्धी सहमतिमा चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान (नाम्स) र चौधरी फाउन्डेसनबीच एक–दुई दिनभित्रै हस्ताक्षर हुने चौधरी ग्रुपका प्रवक्ता मधुसुदन पौडेलले बताए । यस्तै, सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक–एकवटा अक्सिजन प्लान्ट स्थापना गर्न दुवै नगरपालिकासँग सहमति भइसकेको उनको भनाइ छ । वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना गरिने अक्सिजन प्लान्टको उत्पादन क्षमता ५० क्युबिक लिटर प्रतिघन्टा अर्थात् १ दिनमा ४० लिटर क्षमताका १ सय ५० सिलिन्डर अक्सिजन भर्न सकिने जनाइएको छ । 

अक्सिजन प्लान्ट स्थापनाका लागि फाउन्डेसनले आफ्ना साझेदार एवं स्थानीय नगरपालिकाहरूसँग सहकार्य गर्ने उल्लेख गरेको छ । प्रवक्ता पौडेलले भने, ‘अक्सिजन प्लान्टका लागि आवश्यक पर्ने सामग्रीहरू आयात गर्न हाम्रो टिम अहोरात्र खटिएको छ । हामीलाई विश्वास छ कि केही दिनभित्रै सामग्री आयात गरेर प्लान्ट निर्माण गरी वीर अस्पतालसहित कर्णाली र सुदूरपश्चिममा विद्यमान अक्सिजन अभावको समस्या समाधान गर्न सफल हुनेछौँ ।’ धनगढी र सुर्खेतमा स्थापना हुने अक्सिजन प्लान्टले दुवै प्रदेशको अक्सिजन माग पूरा गर्ने उनको भनाइ छ । 

फाउन्डेसनले तत्काल अक्सिजन कन्टन्ट्रेटर आयात गरी अक्सिजनको चर्को अभाव खेपिरहेका अस्पतालहरूलाई उपलब्ध गराउने पनि जनाएको छ । यी कन्सन्ट्रेटरहरू काठमाडौं र बाहिरका अस्पतालहरूमा वितरण गरिनेछन् । फाउन्डेसनका अध्यक्ष चौधरीले भने, ‘अहिलेको मुख्य समस्या चिन्ताजनक अवस्थामा पुगेका बिरामीको जीवन रक्षा गर्नु हो, यसका लागि आइसियू वार्ड, अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर सबैभन्दा महत्वपूर्ण स्वास्थ्य उपकरण हुन् ।’

फाउन्डेसनको सम्पूर्ण ध्यान कोरोनाका बिरामीको उपचारमा लगाउनुपर्छ भन्ने उद्देश्यसहित कोरोनाविरुद्धको अभियानमा अगाडि बढेको उनको भनाइ छ । कोभिड महामारीको आपत्कालीन स्वास्थ्य व्यवस्थापनका लागि करिब १० करोड रुपैयाँ खर्च हुने फाउन्डेसनको अनुमान छ ।