१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २७ सोमबार १०:०८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल सुपर लिग : चितवनको खराब यात्रा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २७ सोमबार १०:०८:००

एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल)को यात्रा जितविहीन टुंग्याएको छ । आइतबार भएको लिग चरणको अन्तिम खेलमा पनि चितवन काठमाडौं रेजर्ससँग २–१ गोलअन्तरले पराजित भयो ।  उपाधि होडबाट यसअघि नै बाहिरिइसकेको चितवनका लागि आइतबार जितसहित प्रतियोगिताको अन्त्य गर्ने अवसर थियो । यद्यपि, टोलीले त्यो अवसर सदुपयोग गर्न सकेन । चितवन प्रतियोगिताको जितविहीन एक्लो टोली रह्यो । लिग चरणको ६ मध्ये दुई खेलमा बराबरी खेलेको चितवनले बाँकी चार खेलमा पराजय व्यहोर्‍यो । ६ खेलबाट मात्रै दुई अंक जोेडेको चितवन सात टोली सहभागी एनएसएल अंक तालिकाको पुछारमा रह्यो । 

चितवनलाई पराजित गरेको काठमाडौंले भने अंक तालिकाको शीर्ष स्थानको टोलीको हैसियतमा प्ले–अफ खेल्ने भएको छ । काठमाडौंले प्रतियोगितामा सबैभन्दा बढी चार जित हात पार्‍यो । चार जित र एक बराबरीबाट काठमाडौंले १३ अंक जोड्यो । काठमाडौंले मंगलबार हुने पहिलो क्वालिफायर खेलमा धनगढी एफसीसँग प्रतिस्पर्धा गर्दै छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंले खेलको १७औँ मिनेटमा अग्रता बनाएको थियो । अफ्रिकी खेलाडी मेसोउके ओलोउमोउले दुई विपक्षी रक्षकको बीचबाट बल अघि बढाउँदै चितवनका गोलरक्षक रोम रसाइलीसँगको वान भर्सेस वानको अवस्थामा गोल गरेका थिए । 

काठमाडौंले खेलको पहिलो हाफमै अग्रता दोब्बर बनाएको थियो । खेलको ३४औँ मिनेटमा विश्वास श्रेष्ठले दिएको उत्कृष्ट पासमा गोल गर्दै संजोग राईले काठमाडौंको अग्रता दोब्बर बनाएका थिए । खेलको ४०औँ मिनेटमा चितवनले पनि गोल फर्कायो । 

सुनील श्रेष्ठले प्रहार गरेको बललाई काठमाडौंका गोलरक्षक विनय श्रेष्ठले पन्च गर्दै फर्काएका थिए । त्यही बललाई गोलमा परिणत गर्दै राजीव लोपचनले चितवनलाई खेलमा फर्काउने प्रयास गरेका थिए । यद्यपि, त्यसपछिको समयमा गोल फर्काउन नसक्दा चितवन पराजित हुन पुग्यो । 

त्यसअघि दुवै टोलीको केही राम्रा अवसर खेर गएका थिए । खेलको ३५औँ मिनेटमा मेसोकेले विपक्षी रक्षकलाई कटाएर डी बक्सभित्र क्रस गरेको बललाई संजोगले चितवनका गोलरक्षक रोमनलाई समेत कटाइसकेका थिए । यद्यपि, खाली पोस्टमा उनको प्रहार निकै माथिबाट बाहिरियो । 

यस्तै, खेलको ४१औँ मिनेटमा चितवनले अर्काे उत्कृष्ट अवसर गुमायो । शिशिर लेखीले क्रस गरेको बललाई जर्ज प्रिन्स कार्कीले डी बक्सभित्र पाएका थिए । उनको प्रहार गोल पोस्टभन्दा निकै टाढाबाट बाहिरियो । खेलको ४४औँ मिनेटमा विश्वास श्रेष्ठले झन्डै २५ यार्ड दूरीबाट प्रहार गरेको फ्रिकिक क्रस बारमा लागेर फर्किँदा काठमाडौं गोलबाट चुकेको थियो । चितवनविरुद्धको खेलमा कप्तानको समेत भूमिका निर्वाह गरेका काठमाडौंका तेज तामाङ सुपर प्लेयर अफ द म्याच चुनिए । 

उनले यो जितले प्लेअफ चरणका महत्वपूर्ण खेलमा आफ्नो टोलीको मनोबल उच्च बनाउने बताए । ‘हाम्रा लागि अझ महत्वपूर्ण खेल आउँदै छन् । सम्भवतः यो जितले खेलाडीलाई आगामी प्रतिस्पर्धाका लागि प्रेरित गर्नेछ’, उनले भने ।