१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ बैशाख २७ सोमबार १०:२४:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कोरोनाको धन्दा र पुँजीको राजनीति

पुँजीवादी संरचनामा कोरोना महामारी पनि राजनीतिक संरक्षणमा पुँजी र नाफाको असंवेदनशील व्यवसाय नै हो

Read Time : > 5 मिनेट
२०७८ बैशाख २७ सोमबार १०:२४:००

कोरोनाको कहर चरममा छ । अक्सिजनको अभावमा मानिस श्वासमा अवरोध उत्पन्न भएर जीवन र मृत्युबीच संघर्षरत छन् । यस संघर्षमा कैयौँको दुःखद पराजय हुन्छ भने कैयौँ विजयी भएर घर फर्किन्छन् । तथ्यांकले मृत्युसँग पराजित हुनेको संख्या थोरै भए पनि अहिलेसम्म निको भएर घर फर्किनेभन्दा संक्रमित हुनेको संख्या बढी देखाउँछ । कोभिडको यो दोस्रोपटकको विस्तार हो । 

खतरनाक रूपमा फैलिँदै गएको कोरोनाको नयाँ भाइरसको चेन तोड्ने उपायका रूपमा संघ, प्रदेश र स्थानीय सरकारहरूले पोहोरझैँ, गत हप्तादेखि सात दिन र १५ दिनका निम्ति लागू गरेको निषेधाज्ञा कति दिनसम्म जारी रहने हो ठेगान छैन । र, एकपटक फेरि आर्थिक जीवनको चक्का थामिँदै गएको देखिन्छ ।

एकपटक फेरि दिनहुँ श्रम बेचेर बालबच्चाको मुखमा माडको जोहो गर्ने श्रमिकका निम्ति यो निषेधाज्ञा तबाहीको रूपमा देखिएको छ । एकपटक फेरि काम नपाएर राजधानी र ठूला सहरबाट श्रमिकहरू दश–दश दिन बालबच्चासहित चाउचाउ, चिउरा र पानीको भरमा गाउँ फर्किने यात्रामा छन् । जनताले भोट दिएर बनाएको सरकार र प्रतिपक्ष पोहोरजस्तै मानवीय त्रासदीको यस्ता महागाथाहरूबाट असंवेदित भएर कुर्सी थुत्ने र बचाउने आफ्नै खेलमा मस्त छन्, र एकपटक फेरि वर्तमान सत्ता आममानिसका निम्ति कामलायक देखिएको छैन । 

पोहोरको कोरोना महामारी आकस्मिक थियो । तर, यसपटकको त्रासदी, औषधि र अक्सिजनको अभाव, सम्पूर्ण स्वास्थ्य व्यवस्थाको असफलता र यसैको फलस्वरूप भइरहेको मानिसको मृत्युको मूल कारण सरकारको दूरदृष्टिको अभाव तथा योजनाविहीनता हो । यसको दोषबाट सरकार मात्रै होइन, प्रतिपक्ष पनि मुक्त रहन सक्दैन । कोरोनाको दोस्रो विस्तार झन् खतरनाक हुने आशंका पहिलेदेखि नै व्यक्त गरिँदै थियो । सरकार त त्यस्तै हो, प्रतिपक्षसमेत यस विषयमा सरकारमाथि दबाब सिर्जना गर्नुको साटो कुर्सीकै छिनाझपटीमा सधैँभरि व्यस्त रह्यो । त्यसैले यसपालिको कोरोना महामारीमा देखिएको तबाही मूलतः सत्ताबाट सिर्जित हो भन्नु अनुपयुक्त हुँदैन । तर, यति हुँदा पनि न त कोही यसको जिम्मेवारी लिन तयार छ, न त कुनै प्रभावशाली योजना नै अगाडि सारिएको छ । 

सरकारको स्वास्थ्य प्रवक्ता हरेक दिन रोगबाट संक्रमित, निको हुने र मृत्यु हुनेको संख्या जानकारी गराउँछन् र उपचारमा लापर्बाही भएको भए अथवा औषधि खरिद गर्दा र कुनै निजी अस्पतालले तोकिएको मूल्यभन्दा बढी रकम लिएको भए कारबाही गर्ने चेतावनी दिने औपचारिकता पूरा गर्छन् । तर, यो सरकारी चेतावनी भन्नु मात्र हो भन्ने कुरा बढी रकम लिने र कालोबजारी गर्ने स्वास्थ्य कर्पोरेटहरूलाई थाहा छ । जनताको भोटको जतिसुकै धक्कु लगाए पनि यो सरकार र प्रतिपक्षलगायत सम्पूर्ण सत्ता यस्तै कर्पोरेटहरूको दान–दक्षिणा र दयामायामा बन्ने गरेको खुला रहस्यजस्तै छ । यसैकारण अहिले कोभिड महामारीमा पुँजीपतिहरू गिद्धभन्दा पनि क्रूर देखिएका छन् । 

चौतर्फी चहारेर अन्ततः एउटा अस्पतालको गेटमा कर्णाली प्रदेशको ‘परियार’ बिरामी भएर दुई दिनसम्म छटपटिएर मर्छ, तर स्वास्थ्य पुँजीपतिहरू संवेदनाशून्य नै देखिन्छन् । कालाबाजारियाहरू नक्कली लेभल लगाएर सय रुपैयाँको दबाई हजारौँमा बेच्छन्, अस्पतालमा बेडको भाडा हजारौँ थप्छन् र बिरामी बोक्नलाई हेलिकोप्टरको भाडा दुई–दुई लाखसम्म बढाउँछन् ।

यिनीहरूलाई थाहा छ, ज्यान जोगाउन मानिसले घरजग्गा बेचेर भएर पनि पैसा जुटाउनुको विकल्प छैन । कति असंवेदनशील ! गिद्धभन्दा पनि क्रूर । गिद्धले त मरेको मानिसलाई लुछ्छ, यिनीहरू जीवित मानिसलाई लुछ्छन् । तपार्इंले सुर्खेतका जीवरामको खबर पढ्नुभयो होला, जसका आफन्तले घरजग्गा बेचेर ५० लाखभन्दा बढी अस्पतालमा चुक्ता गरे, तर पनि बाँच्न सकेनन् । जीवराम त एउटा मध्यमवर्गीय प्रतीक मात्र हुन् । निम्नवर्गीय र अझ गरिबहरू, जो हरेक दिन आफ्नो श्रम बेच्छ र बालबच्चासहित आफ्नो गाँस जुटाउँछ, त्यसले के गर्ने ? यस विषयमा स्वास्थ्य प्रवक्ताले त बोल्ने कुरै भएन, न अन्य कुनै सरकारी प्रवक्ताले बोल्छ, न त प्रतिपक्षले नै कुरा उठाउँछ । 

कोरोना महामारीको त्रासदीले कसैलाई छाडेको छैन । यो सामान्य लापर्बाही अथवा दीर्घरोगीका निम्ति ज्यानमारा साबित हुँदै छ । तर, उपचारको स्तरमा यो महामारी पनि वर्गीय देखिन्छ । तपाईं  आर्थिक रूपमा जुन स्तरमा सक्षम हुनुहुन्छ, तपार्इंलाई उपचारको सुविधा पनि त्यसै स्तरमा उपलब्ध हुनेछ । विपन्न समुदायभित्र आर्थिक अभाव नै हो, जसको कारण रोग लागे पनि उनीहरू रोग जँचाउन चाहँदैनन् । उपचार नै गराउन नसके किन जँचाउने ? उनीहरू यस्तो खतरनाक रोगलाई पनि ज्वरो भन्दै कुनै स्वास्थ्य सहायक अथवा कुनै औषधि विक्रेताकै सल्लाहमा औषधि खान्छन् । कैयौँ त यसका निम्ति पनि धामी–झाँक्री र जन्तरको आसमा पर्छन् । बाँचे भने बाँचे, मरे भने मरे । यसको एक पक्ष कमजोर चेतना भए पनि अर्को पक्ष आर्थिक निरीहता पनि हो । 

गाउँ त चेतना, अर्थ र सुविधा तीनवटै स्तरमा पछाडि छ । गाउँमा पैसा कम हुने गर्छ, अस्पताल र स्वास्थ्य सुविधा पनि कम हुने गर्छन् । त्यसैले गाउँघरमा स्वास्थ्य सहायक, डाक्टर भनिने कम्पाउन्डर वा औषधि विक्रेताको सल्लाहमै स्वास्थ्य उपचार हुने गर्छ । सरकारी अस्पताल वा स्वास्थ्य चौकीको कुरा गर्ने हो भने सहरको अस्पतालमा त बिरामीले आफैँ औषधि खर्चको जोहो गर्नुपर्छ भने गाउँको स्वास्थ्य चौकीको के कुरा गर्नु ? यस सारा खेलमा बिरामी मर्नु वा बाँच्नुलगायत परिणाम अनिश्चित भए पनि पुँजी र नाफा भने निश्चित हुन्छ । नाफाको खेल निर्बाध जारी रहन्छ । तर, गाउँमा भने केही भिन्नता छ ।

सहरमा प्रायः नगदै खरिद गर्नुपर्ने हुन्छ, गाउँमा भने औषधि विक्रेताहरू र साहुजीहरूले तमसुक गराएर पनि ऋण वा ऋणमा औषधि दिने गर्छन् । यसरी मर्ने होस् वा बाँच्ने कोरोनाको कहरपछि कतिको घरजग्गामा कुन औषधि विक्रेता वा मिटरब्याजीको दखल भयो, यसको अध्ययन आर्थिक अनुसन्धानको विषय हुन सक्छ । तात्पर्य के हो भने राजनीति होस् वा सामाजिक स्वास्थ्य, मानवीय जीवनका अन्य आयामजस्तै पुँजीवादी संरचनामा कोरोना महामारी पनि राजनीतिक संरक्षणमा पुँजी र नाफाको असंवेदनशील व्यवसाय नै हो । 

समग्र परिदृश्यमा केही वाम र फासीवादविरोधी शक्ति भनिनेहरू विज्ञप्तिको माध्यमबाट सरकारको आलोचना गर्न सक्छन् । प्रायः प्राकृतिक अथवा सामाजिक त्रासदीमा आवश्यकताअनुसार देखिने मुन्द्रे टाइप समाजसेवीहरू यस त्रासदीमा पनि आमजनताको सहयोगमा अक्सिजन, एम्बुलेन्स अथवा गरिबका निम्ति निःशुल्क भोजनको सहयोग गर्न अगाडि आऊन् र सामाजिक सञ्जाल, ह्वाट्सएप, फेसबुकको माध्यमबाट सहयोगी अभियान चलाउन सक्छन् ।

सरकार त त्यस्तै हो, प्रतिपक्षसमेत यस विषयमा सरकारमाथि दबाब सिर्जना गर्नुको साटो कुर्सीकै छिनाझपटीमा सधैँभरि व्यस्त रह्यो । त्यसैले यसपालिको कोरोना महामारीमा देखिएको तबाही मूलतः सत्ताबाट सिर्जित हो ।

यस्ता मनकारीहरू प्रशंसायोग्य छन् । तर, सरकारी योजनाहीनता र पूर्वतयारीको अभावमा सिर्जित स्वास्थ्य अराजकताबाट जन्मेको भयावह स्थिति र निषेधाज्ञाका कारण श्रमिक वर्गमा उत्पन्न रोजगार र भोकको भयावह तबाही प्राकृतिक होइन । यो मानव निर्मित त्रासदी हो । त्यसैले यस त्रासदीमा जिम्मेवारीपूर्वक सत्ता अगाडि आउनुपर्ने हो । यस्तोमा केही व्यक्ति वा स्वयंसेवी संस्थाहरू अगाडि आउनुले जनवादिता अथवा लोकतान्त्रिक दृष्टिले राजकीय व्यवस्थाको कुरुपता देखिन्छ । यसले आफूलाई समाजवादोन्मुख घोषित गर्ने संविधान र सत्ताको निरर्थकता पनि साबित गर्छ । 

अहिलेको समाजवादी चरित्रको सत्ता भएको भए उसले सम्पूर्ण स्वास्थ्य अराजकतामाथि कठोरतापूर्वक लगाम लगाउँथ्यो । देशको सम्पूर्ण संसाधनलाई केन्द्रित गथ्र्यो र पुँजीपतिको बेलगाम लुटलाई पूर्ण नियन्त्रण गरेर सबैको निःशुल्क उपचारको व्यवस्था गथ्र्यो । यतिसम्म गर्न नसके कम्तीमा विपन्न वर्गको निःशुल्क उपचारको व्यवस्था त पक्कै गथ्र्यो । कुनै प्राकृतिक प्रकोपका कारण राज्यको आधारभूत संरचनाहरू भत्किएको र सरकारले एक्लै सम्हाल्ने अवस्था नरहेको वेला मनकारीले गर्ने सहयोगले जनसमुदाय, सक्षम वर्ग र सत्ताबीचको सौहार्द्रता प्रदर्शित गर्ने गर्छ । तर, आफँैले निषेधाज्ञा जारी गरेको वेला गरिब र अक्षम समुदायलाई क्षतिपूर्ति दिने दायित्व संघ, प्रदेश र स्थानीय सरकारको हो । तर, सरकार ! कुर्सी जोगाउने खेलबाट फुर्सद भए पो जनताको दशा हेर्नु !

सरकारी निषेधाज्ञाका कारण रोजगारी गुमाएका तथा भोकसँग जुझिरहेको श्रमिक वर्गका निम्ति जिम्मेवारीपूर्वक खाना, आवश्यक न्यूनतम आम्दानी र स्वास्थ्य सेवाहरू उपलब्ध गराउन सक्ने कुनै निकाय छ ? यस प्रचलित अराजक शासनमा रोक लगाउन सक्ने गरी सरकारमाथि दबाब सिर्जना गर्न सक्ने कुनै कथित वाम र देशभक्त शक्ति छ ? परिस्थितिले के देखाएको छ भने आफूलाई जिम्मेवार वाम, प्रगतिशील र देशभक्त भनाउँदा राजनीतिक र सामाजिक शक्ति यस संकटपूर्ण घडीमा श्रमिक वर्ग र किसान समुदायको साँचो प्रतिनिधि साबित हुन सकेका छैनन् । 

यस्तो संकटको घडीमा समेत प्रधानमन्त्री र उनको जमात संकीर्ण राष्ट्रवाद, धार्मिकता तथा बलमिचाइको आधारमा कुर्सी बचाउने कसरतमा छन् । कुर्सी बचाउ भन्नु मात्र हो, होइन भने यो कोरोना महामारीको नाममा हुने खबौँको आर्थिक कारोबारबाट चुहिने अर्बौंको सम्भावित कमिसनमाथि वर्चस्वका निम्ति राजनीतिक कसरत हो ।

कोभिड–१९ विरुद्धको भ्याक्सिन खरिदमा रोकावट करोडौँको कमिसनको निहुँ नै हो र यसमा कमिसन एजेन्टको रूपमा देशकै ठूला कर्पोरेट सामेल छन् भन्ने कुरा स्वयं स्वास्थ्यमन्त्रीले नै ओकल्दै छन् । प्रतिपक्षको र्‍याल पनि त्यसैका निम्ति चुहिएको हो । होइन भने राजनीतिक दलहरू र कथित वाम र देशभक्त शक्तिले सुरक्षित तवरले सडकमा ओर्लेर सरकारमाथि बाध्यात्मक दबाब सिर्जना गर्न सक्नुपथ्र्यो । वस्तुतः यस कोभिड महामारीमा श्रमिक वर्ग, किसान र श्रमजीवी समुदायको प्रतिनिधि भएर सत्तामाथि परिणाममुखी दबाब सिर्जना गर्ने, होइन भने ‘मरता क्या नहीं करता’ भन्ने सिद्धान्तका आधारमा सम्पूर्ण उत्पीडित जनतालाई देशी–विदेशी पुँजीपतिको टाङमुनि छिरेको वर्तमान सत्ताको विकल्पमा उतार्नका निम्ति प्रेरित गर्नु आफूलाई वामपन्थी र देशभक्त शक्ति भन्न रुचाउनेको दायित्व हो । 

वर्तमान संकटले जनताप्रति पूर्णतः जिम्मेवार समाजवादी राज्यको आवश्यकता अत्यन्त संवेदनशील रूपमा अनुभूत गराएको छ भने सरकारी अक्षमतालाई आधार बनाएर जनताका अपेक्षा, आवश्यकता तथा मागलाई समाजवादी अर्थमा विस्तार गर्ने अवसरका रूपमा प्रयोग गर्न सकिने देखिन्छ ।

यो भनेको सम्पूर्ण स्वास्थ्य सेवाको राष्ट्रियकरण, अक्सिजनका निम्ति अनुदान र उपलब्धताको निश्चितता तथा सार्वजनिक वितरण प्रणालीको माध्यमबाट प्रत्येक परिवारलाई न्यूनतम मासिक आम्दानीको ग्यारेन्टी र गरिब समुदायलाई खाना र आवश्यक वस्तुहरूको आपूर्ति हो । वाम र देशभक्तले यो गर्न सक्दैनन् भने उनीहरू पनि प्रधानमन्त्री र प्रतिपक्षजस्तै दक्षिण र पुँजीवादी पथगामीको उपाधि नै आर्जित गर्ने देखिन्छन् । हुन पनि नेपालको समग्र राजनीतिमा आफूलाई वामपन्थी भनेर गर्व गर्ने राजनीतिक दलहरूको वर्चस्व देखिए पनि सारमा ‘दक्षिण’कै वर्चस्व छ ।