मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २४ शुक्रबार २०:१५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्योपचारसम्बन्धी खरिदमा अनियमितता राष्ट्रघाती काम हो : ट्रान्सपरेन्सी इन्टरनेसनल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २४ शुक्रबार २०:१५:००

स्वास्थ्योपचारसम्बन्धी खरिदमा अनियमितता हुनु राष्ट्रघाती काम भएको भन्दै यसमा पारदर्शिता अपनाउन ट्रान्सपरेन्सी इन्टरनेसनलले सरकारसँग माग गरेको छ । कमिसन एजेन्टले प्रभाव  परी खोप खरिदमा ढिलाइ भइरहेको भन्ने समाचामा ध्यानाकर्षण भएको भन्दै उसले जनताको स्वास्थ्यबारे संवेदनशील हुन भनेको छ । 

शुक्रबार प्रेस विज्ञप्ति जारी गरी ट्रान्सपरेन्सीले सरकारको ध्यानाकर्षण गरेको हो । ‘राजधानीलगायतका अस्पतालहरूमा शय्याको चरम अभाव रहेको, अक्सिजन आपूर्तिमा अभाव भएको, आवश्यक औषधि र सामग्रीहरूको पनि अभाव भएको र उचित उपचारको अभावमा संक्रमितहरूले अकाल मृत्युवरणसमेत गर्नु परिरहेकोबारेका समाचारहरूले सर्वसाधारण जनता झन् आक्रान्त भएका छन्,’ उसको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा सरकारले सेरम इन्ष्टिच्युट अफ इन्डिया प्रा.लि., भारतबाट खरिद गरिएको र गर्ने भनिएको खोपको आपूर्तिमा नेपालका केही कमिसन एजेन्टले प्रभाव पारी ढिलाइ भइरहेको भन्ने समाचार सञ्चारमाध्यमबाट सार्वजनिक भएका छन्। उपरोक्त विषयहरूमा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’  

उसले चारवटा विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । पहिलो, खोप आपूर्ति किन रोकिएको, कुन राष्ट्रबाट कति खोप अनुदानमा आयो र कति आउन बाँकी छ, कति खरिद भई आयो र कति आउन बाँकी छ, हाल खोपको मौज्दात कति छ र कति नयांँ खरिदको क्रममा छ भन्नेबारे जनतालाई सुसूचित गराउन उसले माग गरेको छ । 

कोभिड– १९ जस्तो महामारीको अवस्थामा खोपलगायतका स्वास्थ्योपचारसम्बन्धी खरिदको प्रक्रिया झन् बढी पारदर्शी र जवाफदेही बनाइनुपर्ने ट्रान्सपरेन्सीको माग छ । विज्ञप्तिमा भनिएको छ, ‘महामारीको समयमा स्वास्थ्योपचारसम्बन्धी खरिदमा अनियमितता हुनु राष्ट्रघाती काम हो । कमिसनका लागि नेपाली जनताको जीवनसँग खेलबाड गर्ने काममा सरकारी वा निजी क्षेत्रका कसैको संलग्न भएको भए छानबिन गरी निर्मम कारबाही गरिनुपर्दछ । वास्तविकता पारदर्शी बनाइनुपर्दछ ।’ 

कोभिड– १९ को रोकथाम, नियन्त्रण र व्यवस्थापनमा तीनै तहका सरकारको संयुक्त प्रयास र कार्ययोजना हुनु–बनाउन उसले सुझाब दिएको छ । कोभिड– १९ रोकथाममा संलग्न सरकारका निकाय, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवी, सामाजिक अभियन्ता, सेवाकर्मीले स्वास्थ्य र सुरक्षाबारे थप संवेदनशील हुन पनि भनिएको छ ।