१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o६:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

काम गर्न अप्ठ्यारो भएको निर्माण व्यवसायीको गुनासो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:२६:oo

कोभिड–१९ का कारण जारी निषेधाज्ञाका कारण सरकारले तोकेको मापदण्डमा रही निर्माण कार्य सञ्चालन गर्न कठिन भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघले विशुद्ध रूपमा निर्माण सामग्री ढुवानीलगायतका कार्यका लागि प्रयोग भएका गाडीहरूलाई ठाउँ–ठाउँमा रोकिएको र सहज रूपमा पाससमेत उपलब्ध नगराइएकाले काम गर्न अप्ठ्यारो भएको जनाएको हो । 

त्यस्तै, निर्माण सामग्रीका केही उद्योगहरू खुले तापनि तिनका डिलर, वितरक पसलहरू बन्द रहेका कारणले निर्माण सामग्रीको अभाव र ढुवानीमा देखिएको अप्ठ्यारो बढेको महासंघले जनाएको छ । निषेधाज्ञाकै फाइदा उठाउँदै निर्माण सामग्रीहरूमा गरिएको चर्को मूल्यवृद्धितर्फ पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको महासचिव रोशन दाहालले बताए । 

वैशाख २१ गते सिसिएमसीले जारी गरेको सूचनामा विकास निर्माण सम्बन्धमा सम्बन्धित आयोजनाहरूले नै आवासीय कामदार राखी अनिवार्य रूपले स्वास्थ्य मापदण्ड पालना गर्दै कार्य सञ्चालन गर्ने गराउने उल्लेख गरिएको थियो । तर, श्रमिकहरू काम गर्न डराउने स्थिति उत्पन्न भएको महासंघको भनाइ छ । सडक, सिँचाइका कार्यहरू तोकिएकै सीमित स्थानमा नहुने भएकाले संक्रमण सर्ने त्रास रहने र विशेष गरी सहरी क्षेत्रका र साना तथा मझौला निर्माणस्थलमा जनघनत्व बढी हुने भएकाले कतिपय स्थानमा संक्रमण फैलने डरले निर्माण कार्य गर्न कठिन हुने देखिएको महासंघले जनाएको छ । 

बिहान काममा जाने तथा बेलुका निवास फर्कने गरेका, निर्माण सामग्री ढुवानी लोड–अनलोड इत्यादि गर्दा एक–अर्कासँग प्रत्यक्ष सम्पर्क हुने र निर्माणस्थलमा खटिएका कोही कसैको संक्रमणले गर्दा मृत्यु भएमा वा संक्रमण भएकाको उपचारमा लाग्ने खर्चका कारण निर्माण व्यवसाय क्षेत्रले क्षति व्यहोर्नुपर्ने स्थिति आएको महासंघको भनाइ छ । कतिपय स्थानमा संक्रमण फैलिने डरका कारण स्थानीयले नै काममा अवरोध सिर्जना गरेको जानकारी महासंघलाई प्राप्त भएको महासंघले विज्ञप्ति जारी गरेर जनाएको छ । 

यस्तो परिस्थितिमा अब म्याद नथप्ने गरी काम गर्नु भने पनि व्यावहारिक रूपमा त्यो सम्भव नदेखिएको महासंघको भनाइ छ । सरकारले नगरी नहुने केही निर्माण कार्यहरू मात्र सञ्चालन गरी अन्य सम्पूर्ण कार्यहरूका लागि शून्य समय (कन्स्ट्रक्सन होलिडे)को रूपमा गणना हुने गरी बन्द गरिनुपर्ने महासंघले सुझाब दिएको छ । सबै परियोजनाहरूमा म्याद थपको कुनै विकल्प नभएको महासंघले ठहर गरेको जनाइएको छ । 

ad
ad