१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपाल सुपर लिगको प्लेअफमा धनगढी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:४१:oo

आजको खेल

ललितपुर सिटी एफसीविरुद्ध बुटवल लुम्बिनी एफसी
समयः २:३० बजे (दशरथ रंगशाला)
काठमाडौं रेजर्स एफसीविरुद्ध विराटनगर सिटी एफसी
समय ५:३० बजे (दशरथ रंगशाला)

धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा पुगेको छ । बुधबार भएको खेलमा पोखरा थन्डर्सलाई १–० गोलले पराजित गर्दै धनगढीले प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 

यो जितसँगै धनगढीले कम्तीमा प्रतियोगिताको क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएको छ । लिग चरणको खेलको समाप्तिसम्ममा शीर्ष दुई स्थानमा रहने टोलीले पहिलो क्वालिफायर तथा तेस्रो र चौथो स्थानमा रहने टोलीले दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन् । 

पहिलो क्वालिफायरको विजेता टोली सीधै फाइनलमा पुग्नेछ । पराजित टोलीले दोस्रो क्वालिफायरको विजेता टोलीसँग इलिमिनेटरमा प्रतिस्पर्धा गर्दै फाइनलको यात्रा तय गर्नेछ । लिग चरणको खेलमा अझै एक खेल खेल्न बाँकी रहेको धनगढीले पहिलो वा दोस्रो क्वालिफायर खेल्ने भन्नेबारे भने टुङ्गो लाग्न बाँकी छ । 

धनगढी एनएसएलको प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोली हो । धनगढीले पाँच खेलबाट तीन जितसँगै १० अंक बटुलेको छ । पोखरामाथिको जितसँगै धनगढी अंक तालिकाको शीर्ष स्थानमा पनि फर्र्किएको छ । धनगढीले चार खेलबाट सात अंक बनाएको विराटनगर सिटी एफसीलाई दोस्रो स्थानमा धकेलेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको ३७औँ मिनेटमै टोलीका मुख्य स्ट्राइकर ओलाडिपो ओलावाले अफिजचोट बोकेर मैदानबाट बाहिरिएपछि धनगढी दबाबमा देखिएको थियो । यद्यपि, उनकै स्थानमा मैदानमा प्रवेश गरेका दर्शन गुरुङले खेलको दोस्रो हाफमा उत्कृष्ट गोल गर्दै धनगढीको जित निश्चित गरेका हुन् । 

पोखराका खेलाडीले क्लियर गर्न प्रहार गरेको बललाई डी बक्स लाइनबाहिरबाट उत्कृष्ट प्रहार गर्दै दर्शनले खेलको ६८औँ मिनेटमा धनगढीलाई १–० ले अघि बढाएका थिए । पोखराका गोलरक्षक दीप कार्की पोजिसनमै रहे पनि दर्शनको प्रहारलाई रोक्न सकेनन् । 

त्यसपछिको बाँकी समयमा दुवै टोलीले थप गोल निकाल्न नसक्दा दर्शनको गोल नै धनगढीलाई महत्वपूर्ण तीन अंक दिलाउन पर्याप्त बन्यो । खेलमा त्यसबाहेक दुवै टोलीले गोलको राम्रा अवसर सिर्जना गर्न सकेनन् । प्राप्त थोरै अवसरमा पनि दुवै टोलीले गोल निकाल्न सकेनन् । खेलको अन्तिम समयतिर पोखराका अनिल गुरुङले सिक्स यार्ड बक्सनजिक उत्कृष्ट अवसर पाएका थिए । यद्यपि, उक्त अवसरमा अनिलको प्रहार धनगढीका रक्षक दीनेश राजवंशीलाई लागेर बाहिरियो । 

पराजयपछि पोखराका सहायक प्रशिक्षक राजेश शाहीले आफ्नो खेलाडीको प्रदर्शनमा असन्तुष्टि जनाए । उनले खेलाडीले योजनाअनुसारको खेल खेल्न नसक्दा पराजित हुनुपरेको प्रतिक्रिया दिए । 

‘खेलाडीहरू आत्तिएजस्तो देखिए । उनीहरू गोल हान्नका लागि हतारिए । त्यसले गर्दा योजनाअनुसारको खेल खेल्न सकेनन् । खेलाडीहरूले उनीहरूलाई दिएको जिम्मेवारी निभाउन सकेनन्,’ शाहीले भने, ‘उनीहरूले अभ्यासमा खेलेको जति पनि खेल्न सकेनन् । अघिल्लो खेलमा देखिएका गल्ती यो खेलमा पनि दोहोरियो । सुधार्नुपर्ने गल्ती दोहोरिएपछि पराजित हुन पुग्यौँ ।’

धनगढीका प्रशिक्षक टोपे फुजाले टोलीको जितमा खुसी व्यक्त गरे । ‘निक्कै मुस्किल खेल रह्यो । यद्यपि जितमा खुसी छौँ । हामी यसैगरी प्रत्येक खेल जितेर अघि बढ्न चाहन्छौँ,’ उनले भने । 

ad
ad